सोमबार , अषोज २६, २०८३

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि अस्ट्रेलियाका नवनियुक्त राजदूत फेलिसिटी जाने भोल्कबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले अष्ट्रेलियन राजदूतलाई कार्यकाल सफलताको शुभकामना दिनुभएको छ ।

सभामुख सापकोटाले नेपाल र अस्ट्रेलियाबीच छ दशक लामो कूटनीतिक सम्बन्ध हार्दिक, सुमधुर, बहुआयामिक र नमुनायोग्य रहेको बताउँदै अस्ट्रेलियाले कोभिड–१९ नियन्त्रणमा हासिल गरेको उपलब्धिप्रति समेत खुशी व्यक्त गर्नुभएको जनाइएको छ । अस्ट्रेलियाको १२० वर्ष लामो सङ्घीयतासम्बन्धी असल अभ्यास नेपालका लागि सिकाइ हुन सक्ने सभामुख सापकोटाको धारणा थियो । सङ्घीय संसद्मा नेपाल–अस्ट्रेलिया संसदीय मैत्री समूह रहेको स्मरण गर्नुहुँदै सभामुख सापकोटाले कोभिड नियन्त्रणपछि संसदीय मैत्री समूह थप सक्रिय भई संसद्–संसद्बीचको सहकार्य थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली विद्यार्थीको ठूलो सङ्ख्या अस्ट्रेलियामा उच्च शिक्षा तथा रोजगारीमा रहेको बताउँदै सभामुख सापकोटाले यो अवसरका लागि अष्ट्रेलियाली सरकारलाई धन्यवाद दिनुभएको थियो । राजदूत फेलिसिटीले आफ्नो कार्यकालमा नेपालमा व्यापार, लगानी प्रवर्धन र सङ्घीयता कार्यान्वयनका लागि सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभएको जनाईएको छ ।

आफ्नो देशमा सङ्घीयताको लामो इतिहास भए पनि सिक्ने क्रम जारी रहेको चर्चा गर्दै नेपाल र अस्ट्रेलियाले एक अर्काबाट सिक्नु पर्ने धेरै विषय रहेको राजदूत फेलिसिटीले बताउनुभयो । आफू २० वर्षको उमेरमा नेपाल आएको, त्यसपछि पनि तीन पटक नेपाल घुम्न आएको स्मरण गर्दै अहिले राजदूतका रुपमा आउन पाउँदा खुशी लागेको फेलिसिटीले सभामुख सापकोटासँग बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP