मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म एक सय ५९ सिटको परिणाम आइसकेको छ ।

तीन क्षेत्रमा गणना जारी छ । दोलखा, बाजुरा र स्याङ्जा २ मा भने मतगणना सुरु नै हुन सकेको छैन । दोलखामा १० मतदान केन्द्रमा १५ मंसिरमा चुनाव हुँदैछ । बुथ कब्जा र धाँधली भएको भन्दै एमालेले उजुरी हालेपछि त्यहाँ पुनः मतदान हुन लागेको हो । बाजुराको बुढीनन्दा नगरपालिकामा १० मंसिरमै मतदान भइसकेको छ । अब मतगणना गर्न बाँकी छ ।

अहिलेसम्मको निर्वाचनको नतिजा हेर्दा कुनै पनि दलले एक्लै सरकार बनाउन सक्ने अवस्था देखिन्न । हंग पार्लियामेन्ट बन्ने भएको छ । निर्वाचनको प्रत्यक्षतर्फ सत्ता गठबन्धनले बहुमत त ल्याएका छन्, तर समानुपातिक मत परिणाम सार्वजनिक नभई सरकार बन्न सक्ने अवस्था छैन । तर पनि प्रमुख दलका नेताहरू प्रधानमन्त्रीको दौडमा लागेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, कांग्रेसभित्र रामचन्द्र पौडेल, प्रकाशमान सिंह, गगन थापा, शशांक कोइराला प्रधानमन्त्रीको दौडमा छन् । बाहिर प्रकट नभए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि प्रधानमन्त्रीको रेसमा छन् । तर, यसपटक उनलाई त्यति सहज भने छैन । यदि कांग्रेसकै नेतृत्वमा सरकार बनेमा दोस्रो कार्यकाल आफूले पाउनुपर्ने उनको दाबी छ । तर, उनले खुला रूपमा बोलेका छैनन् ।

कांग्रेसमा प्रधानमन्त्रीका लागि खासगरी देउवा, पौडेल र थापाबीच रस्साकस्सी छ । सबै नेताले आफू निकटका सांसदहरूलाई भेट्न थालेका छन् । उनीहरूको रायसुझाव लिइरहेका छन् । कांग्रेस पहिलो दल बनेकाले संविधानअनुसार स्वाभाविक रूपमा सरकारको दाबी गर्ने पहिलो अधिकार उसकै हुन्छ । त्यही भएर पनि अन्य दलका नेताहरू अघि बढेका छैनन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त तत्काल वाम गठबन्धनको सरकार बन्न नसक्ने प्रस्ट पारेका छन् । मंगलबार पार्टी कार्यालयमा चुनावी समीक्षा बैठक सकेर बाहिर सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले अहिलेकै सत्तागठबन्धनले निरन्तरता पाउने बताए । उनले दोलखा, बाजुरा, स्याङ्जामा मत गन्न बाँकी रहेकाले नयाँ सरकार गठनका लागि प्रशस्त समय रहेको बताए ।

कांग्रेस महामन्त्री गगन थापा भने अब कांग्रेसमा अहिलेको पुस्ता प्रधानमन्त्रीका लागि योग्य रहेकाले अबको पाँच वर्षसम्म धैर्य गर्न नसक्ने बताउँछन् । उनले कांग्रेसमा अहिलेकै पुस्ताले प्रधानमन्त्री चलाउनुपर्ने भन्दै त्यसका लागि छलफल सुरु भइसकेको बताए । कांग्रेस नेता रामचन्द्र पौडेल भने अहिले पनि आफूले प्रधानमन्त्री बन्ने अवसर नपाए कहिले पाउने भन्दै अभियान नै अगाडि बढाएका छन् । कांग्रेसभित्रको यस्तो कलहले फेरि पनि प्रधानमन्त्रीमा देउवाले नै निरन्तरता पाउने अवस्था देखिएको छ ।

एमाले अध्यक्ष केपी ओली सत्ता गठबन्धन भंग नगरी प्रधानमन्त्री बन्न सक्ने अवस्थामा छैनन् । तर पनि उनले विभिन्न दलका नेताहरूसँग छलफल अघि बढाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP