शनिबार , असार १३, २०८३

सुर्खेत । कर्णाली प्रदेशसभातर्फको २४ ‘सिट’ मा छ जना मात्रै पुराना अनुहार दोहोरिएका छन् । कर्णालीमा स्वतन्त्रको लहर नदेखिए पनि नयाँ अनुहारलाई निर्वाचित गरेर नयाँ सन्देश दिइएको छ । यसरी दोहोरिनेमा बहालवाला मुख्यमन्त्री र केही मन्त्री मात्रै रहेका छन् ।

मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाट प्रदेशसभा सदस्यमा पुनः निर्वाचित भएका छन् । उनले नेकपा (एमाले) का छक्कबहादुर लामालाई हराएका हुन् । उनी यसअघिका प्रतिनिधिसभा सदस्य समेत थिए । यस बाहेक बहालवाला वन तथा वातावरणमन्त्री समाजवादीबाट डोल्पा (१) बाट वीरबहादुर शाही र सुर्खेत २ (२) बाट नेकपा (माओवादी केन्द्र) का विन्दमान विष्ट रहेका छन् । एमालेका संसदीय दलका नेता समेत रहेका यामलाल कँडेल सुर्खेत २ (१) बाट निर्वाचित भएका छन् । प्रदेश (२) मा कांग्रेसका राजीवविक्रम शाह निर्वाचित भएका छन् । उनी यसअघि प्रतिनिधिसभा सदस्य समेत थिए । उनले एमालेका खिमबहादुर शाहीलाई पराजित गरेका हुन् ।

यस्तै दैलेख २ (२) मा एमालेका विनोदकुमार शाह विजयी भएका छन् । उनले केही समयअघि एमाले त्यागेका पूर्वसहकर्मी माओवादीका योगेन्द्र शाहीलाई पराजित गरेका हुन् । उनी यसअघि प्रतिनिधिसभा सदस्य समेत भइसकेका छन् ।

कालीकोट प्रदेशसभा (१) बाट माओवादीका दुर्गबहादुर रावत प्रदेशसभा सदस्यमा विजयी भएका छन् । उनी यसअधि प्रतिनिधिसभा सदस्य समेत थिए । रावतले एमालेका निवर्तमान सांसद कुर्मराज शाहीलाई पराजित गरेका हुन् । कर्णालीले निर्वाचित गरेका नयाँ अनुहार भने १८ जना रहेका छन् । सुर्खेत १ (१) बाट कांग्रेसका खड्ग पोखरेल पहिलो पटक प्रदेशसभामा प्रवेश गर्दैछन् । उनी एमालेका निवर्तमान सांसद ठम्बर विष्टलाई हराएर विजयी भएका हुन् ।

यस्तै, १ (२) का कृष्ण जिसी पनि नयाँ अनुहार हुन् । माओवादी केन्द्रबाट निर्वाचित जिसीले एमालेका डण्डीप्रसाद शर्मालाई पराजित गरेका हुन् । निवर्तमान दुल्लु नगरपालिकाका प्रमुख समेत रहेका घनश्याम भण्डारी पनि पहिलो पटक प्रदेशसभामा प्रवेश गर्दैछन् । राजनीतिमा आउनुअघि पत्रकार समेत रहेका भण्डारीले एमालेका तिलक रिजाललाई दैलेख २ (१) मा पराजित गरेका हुन् ।

यस्तै, दैलेख १ (१) बाट कांग्रेसका पूर्णबहादुर खत्री र (ख) बाट कृष्ण बिसी विजयी भएका छन् । खत्री र बिसीले एमालेका प्रेमबहादुर थापा र निवर्तमान सांसद धर्मराज रेग्मीलाई पराजित गरेका हुन् । सल्यान (१) बाट माओवादीका भीमप्रकाश शर्मा विजयी भएका छन् । शर्माले एमालेका कुलबहादुर गिरीलाई पराजित गरे भने (२) मा कांग्रेसका सुरेश अधिकारीले निवर्तमान सांसद गुलाबजङ्ग शाहलाई पराजित गरेका छन् ।

यस्तै, रुकुमपश्चिमका दुवै क्षेत्रबाट माओवादीका नयाँ उम्मेदवार सदस्य निर्वाचित भएका छन् । रुकुम पश्चिम प्रदेशसभा (१) मा माओवादीका महेन्द्र केसीले एमालेका नारायणकुमार शाहलाई पराजित गरेका छन् । यस्तै (२) मा राजकुमार शर्मा विजयी भएका छन् । उनले एमालेका कर्णबहादुर घर्तीलाई पराजित गरे । जाजरकोट प्रदेशसभा (१) मा कांग्रेसका बेदराज सिंह निर्वाचित हुँदा एमालेका डम्बरबहादुर सिंह पराजित भएका छन् ।

कालीकोट प्रदेशसभा (२) मा कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका छन् । उनले एमालेका वीरेन्द्रबहादुर बोगटीलाई पराजित गरेका छन् । डोल्पा प्रदेशसभा (१) मा एमालेका शेरबहादुर बुढा विजयी हुँदा कांग्रेसका दीपेन्द्रबहादुर शाही पराजित भए ।

हुम्ला प्रदेशसभा (१) बाट माओवादीका रनसिंह परियार विजयी हुँदा उनका प्रतिस्पर्धी स्वतन्त्रका मङ्गलबहादुर शाही पराजित भए । यस्तै मुगु (१) मा एमालेका जितबहादुर मल्लले समाजवादीका गोपालबहादुर बमलाई पराजित गरे । यस्तै, मुगु (२) मा माओवादीका मङ्गलबहादुर शाही पनि विजयी भएका छन् । उनले एमालेका कर्णबहादुर मल्ललाई पराजित गरेका छन् ।

यस्तै, जुम्ला प्रदेशसभा (१) मा कांग्रेसबाट बागी उठेका देवेन्द्रबहादुर शाही विजयी भएका छन् । उनले कांग्रेसका प्रदेश सभापति ललितजङ्ग शाहीलाई पराजित गरेका छन् । यस्तै जुम्ला (२) मा एमालेका टेकराज पछाई विजयी हुँदा समाजवादीका बहालवाला मन्त्री पदमबहादुर रोकाया पराजित भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

डार्विनमा First Aid तथा CPR तालिमका लागि ९० बढी सहभागी दर्ता, १० सिट मात्र बाँकी

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

डार्विन र ग्रेटर डार्विन क्षेत्रमा खतरनाक लामखुट्टेबाट सर्ने रोग पुष्टि

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६


TOP