मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन सकिएको छ । देशभरका सबैजसो स्थानमा मतगणना चलिरहेको छ । केही निर्वाचन क्षेत्रहरूको अन्तिम मतपरिणाम समेत सार्वजनिक भइसकेका छन् । कतिपयको नतिजा सार्वजनिक हुने क्रममा रहेको निर्वाचन आयोगले जनाएको छ ।

देशकै राजधानी रहेको काठमाडौंका सबै क्षेत्रको अन्तिम मतपरिणाम आइसकेको छ । यस पटकको निर्वाचनमा काठमाडौंमा फरक परिणाम देखिएको छ । देशकै बौद्धिक समाज रहेको मानिने काठमाडौंमा प्रत्येक निर्वाचनमा फरक खालका नतिजाहरू आइरहेकै हुन्छन् ।

यस पटकको निर्वाचनमा समेत काठमाडौंले फरक परिणाम दिएको छ । पुराना स्थापित भनिएका राजनीतिक दलहरूलाई टक्कर दिँदै यस पटक यहाँ देशकै कान्छो पार्टी लोभलाग्दो गरी उदाएको छ । देशकै कान्छो पार्टीका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौका ४ क्षेत्रमा विजय हासिल गरेको छ । काठमाडौंमा यस पटक कतिपय क्षेत्रमा पुरानै अनुहार दोहोरिएका छन् । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । सिंह यस क्षेत्रबाट पटक पटक सांसद निर्वाचित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र झिनो मतान्तरले नेता सिंहसँग पराजित भए ।

काठमाडौं क्षेत्र नम्बर २ मा यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम निर्वाचित भएकी छन् । पूर्व सभामुख रहेकी नेकपा माओवादी केन्द्रकी ओनसरी घर्तीलाई हराउँदै गौतम विजयी भएकी हुन् । विसं २०५२ असार ३ गते जन्मिएकी गौतम सम्भवतः प्रतिनिधिसभाकै कान्छी सदस्य हुन् । उनी काठमाडौंका लागि समेत नयाँ अनुहार हुन् । दोलखाको तामाकोशी गाउँपालिकामा जन्मिएकी गौतमले कानूनमा स्नातक गरेकी छन् ।

काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली कांग्रेसका सन्तोष चालिसे पनि प्रतिनिधि सभामा नयाँ अनुहार हुन् । झण्डै चार दशक राजनीतिमा सक्रिय रहेका चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर समेत हुन् । यस्तै प्रतिनिधिसभा तर्फ काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा निर्वाचित छन् । यसअघि पनि सांसद निर्वाचित भइसकेका छन् । संघीय सरकारको स्वास्थ्य मन्त्री समेत भइसकेका थापा संसद्का लागि नयाँ अनुहार होइनन् ।

काठमाडौं ५ बाट नेपाली कांग्रेस प्रदीप पौडेल विजयी भएका छन् । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई पराजित गरेका पौडेल प्रतिनिधि सभामा नयाँ अनुहार हुन् । लामो समयदेखि राजनीतिमा सक्रिय नेता पौडेल पहिलो पटक संसद टेक्दै छन् ।

यस्तै काठमाडौं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन् । पूर्व प्रहरी महानिरीक्षक समेत रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई हराउँदै शिशिर विजयी भएका हुन् । खनाल प्रतिनिधि सभामा नयाँ अनुहार हुन् । काठमाडौं ७ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश खनाल पनि नयाँ अनुहार हुन् । नेकपा माओवादी केन्द्रकी मानुषी यमि भट्टराई पछि पार्दै उनी प्रतिनिधि सचा सदस्य निर्वाचित भएका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ८ मा निर्वाचित भएका विराजभक्त श्रेष्ठ पनि नयाँ अनुहार हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचित श्रेष्ठ यसअघि विवेकशील साझा पार्टीबाट बागमती प्रदेश सभा सदस्य थिए । प्रतिनिधि सभामा श्रेष्ठ पनि नयाँ अनुहार हुन् ।

यस्तै काठमाडौैं क्षेत्र नम्बर ९ र १० मा भने यस पटक पनि पुरानै अनुहार दोहोरिएका छन् । क्षेत्र नम्बर ९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै काठमाडौं १० बाट नेपाली कांग्रेसका राजन केसी निर्वाचित भएका छन् । श्रेष्ठ र केसी दुवै जना यसअघि पनि सांसद थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP