शनिबार , बैसाख २७, २०८२

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेसँगै नयाँ सरकार गठनको चहलपहल सुरु भएको छ ।

बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका दुईजना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवासमा पुगेका थिए । काँग्रेससँग मिलेर सरकार बनाउनका लागि प्रचण्ड–माधव पक्षले प्रस्ताव गरेको स्रोत बताउँछ । जवाफमा देउवाले अहिले हतार गर्नुहुँदैन, यसबारे पार्टीमा छलफल गरेपछि थप कुरा गर्ने बताएको स्रोतको भनाइ छ ।

नेकपाको प्रचण्ड–माधव पक्षले जनता समाजवादी पार्टी नेपालका नेताहरुसँग पनि नयाँ सरकार गठनबारे छलफल गरिरहेको बताइन्छ । तर, काँग्रेस सहमतिमा आएर जसपा नेपाल नभए पनि सरकार गठन हुने परिस्थितिका कारण प्रचण्ड–माधव पक्षले जसपालाई त्यति महत्व दिएको छैन ।

अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेकपाको प्रचण्ड–माधव पक्ष, काँग्रेस, जसपाले पनि प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन् । प्रधानमन्त्री ओलीले राजीनामा नदिए प्रतिनिधसभामा अविश्वासको प्रस्ताव ल्याउनेबारे दलहरुबीच छलफल भइरहेको छ । प्रधानमन्त्री ओलीका सहयोगीहरुले भने प्रधानमन्त्रीको राजीनामा नआउने बरु संसदमा आवश्यक प्रक्रिया ‘फेस’ गर्ने बताउँदै आएका छन् ।

ओली पक्षको यो भनाइका आधारमा पनि प्रधानमन्त्री ओलीले आफ्नो सरकार जोगाउने दिशामा कुनै न कुनै रुपमा भूमिका निर्वाह गर्नेछन् भन्ने अनुमान गर्न सकिन्छ ।
सरकार बनाउनका लागि १३८ जना सांसदको समर्थन चाहिन्छ । नेकपासँग सभामुखसहित १७४ सांसद छन् । तर यो दल दुई गुटमा विभाजित भएका कारण ओली पक्षलाई आफ्नो सरकार बचाउन र प्रचण्ड–माधव पक्षलाई ओली नेतृत्वको सरकारलाई विस्थापित गर्न अन्य दलको सहारा लिनुपर्ने बाध्यता देखिन्छ ।

प्रतिनिधिसभामा नेकपाको प्रचण्ड–माधव पक्षमा ९० सांसद रहेको दावी गरिएको छ भने नेकपा ओली समूहले ८४ सांसद आफ्नो पक्षमा रहेको दावी गरेको छ ।
यता, काँग्रेसको ६३ र जसपा नेपालको ३४, नेपाल मजदुर किसान पार्टी १, राष्ट्रिय जनमोर्चा पार्टी १, राष्ट्रिय प्रजातन्त्र पार्टी १ र स्वतन्त्र १ सांसद छन् । नेकपाको कुनै पनि गुटले एक्लैले सरकार बनाउने सम्भावना छैन । नेकपाका दुई गुटमध्ये जुन पक्षसँग सहकार्य गर्न काँग्रेस तयार हुन्छ, त्यही गुट सत्तामा रहने अवस्था छ ।

नेकपाको प्रचण्ड–माधव समूहले दावी गरेझैं उनीहरुको पक्षमा ९० सांसद पुगेको अवस्थामा काँग्रेसको ६३ सांसद मिलाएर प्रतिनिधिसभामा १५३ सांसदको समर्थनसहित गठबन्धन सरकार बन्न सक्छ । जसपा नेपाल पनि उक्त सरकारमा सामेल हुने हो भने प्रतिनिधिसभामा त्यो सरकारको पक्षमा १८७ सांसद सँख्या पुग्छ ।

यदि काँग्रेसले नेकपा ओली समूहलाई साथ दियो भने ओली समूहको ८४ (दावी) र काँग्रेसको ६३ गरी १४७ सांसदको समर्थनसहित गठबन्धन सरकार बन्न सक्छ । सो सरकारमा जसपा नेपाल पनि सामेल भएमा सरकारको पक्षमा १८१ सांसद पुग्छन् ।

प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत लिनु परेको अवस्थामा वा अविश्वासको प्रस्ताव आएको अवस्थामा तीन सांसदले मतदानमा भाग लिन पाउने छैनन् । नेपाली काँग्रेसका विजयकुमार गच्छदार, जनता समाजवादी पार्टी नेपालका हरि रौनियार र रेशम चौधरीले मत दिन पाउने छैनन् । गच्छदार र रौनियार निलम्बनमा परेका छन् भने चौधरी जेलमा छन् । यता नेकपाका सांसद सानु शिवाको निधन भएका कारण संसदीय अंकगणितमा नेकपातर्फ एक सांसद घटेको अवस्था छ ।

काँग्रेसको झुकाव नेकपा प्रचण्ड–समूह भन्दा पनि नेकपा ओली समूहतिर बढी छ । संसद विघटन हुँदा पनि काँग्रेस सभापति जानकारहरुका अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री ओलीप्रति नरम नै थिए । काँग्रेसले ओलीलाई साथ दिनुमा भारत पनि एक फ्याक्टर हुनसक्छ । काँग्रेसलाई भारतले जसलाई सहयोग गर्न भन्छ, त्यसलाई नै सहयोग गर्ने भूमिकामा काँग्रेस प्रस्तुत हुने सम्भावना धेरै रहेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

तर नेपाली काँग्रेसमा पनि देउवा इतर नेताहरु ओलीसँग मिलेर जानु हुँदैन भन्ने पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन् । रामचन्द्र पौडेल, गगन थापा लगायतले ओलीसँग सहकार्य गर्न नहुने सार्वजनिक रुपमै बताउँदै आएका छन् ।

अन्तर्राष्ट्रिय चलखेल भएन भने काँग्रेस र नेकपा प्रचण्ड–माधव समूहको सरकार बन्न सक्छ । दुवै पार्टीले प्रतिनिधिसभा विघटनविरुद्ध छुट्टाछुट्टै संघर्षका कार्यक्रम गरेका थिए ।
ओली पक्ष पनि काँग्रेससँग मिलेर संसदमा बहुमत पु¥याउने खेलमा लागेकै छ । त्यसका लागि ओली समूहका नेताहरुले काँग्रेसका विभिन्न शीर्ष नेताहरुसँग संवाद गरिरहेका छन् । उता, जसपा नेपालका केही शीर्ष नेताहरुसँग पनि ओली पक्षले संवाद गरिरहेको बुझिएको छ ।

नेकपाको प्रचण्ड–माधव पक्षले काँग्रेसको साथ नपाएको अवस्थामा ओली पक्षबाट पनि केही सांसद तानेर जसपा नेपालसँग मिलेर सरकार बनाउने रणनीतिबारे पनि आन्तरिक तयारी गरिरहेको स्रोत बताउँछ । नेकपाको प्रचण्ड–माधव पक्षको सम्बन्ध जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराईसँग पछिल्लो समय सुमधुर देखिन्छ । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोको झुकाव काँग्रेस र नेकपाको ओली समूहप्रति रहेपनि मधेशले ओलीलाई नरुचाउने कारण उनीहरु खुलेर ओलीको पक्षमा लाग्न सकिरहेका छैनन् ।

मधेसमा ओलीको तुलनामा प्रचण्ड–माधवलाई सकारात्मक रुपमा लिने गरिन्छ । मुद्दाको हिसाबले पनि जसपा नेपाललाई प्रचण्ड–माधव पक्षको नजिक लैजान्छ । तर यस्तो गठबन्धनका लागि भारतको समर्थन रहन्छ वा रहँदैन भन्ने विषयले धेरै ठुलो प्रभाव पार्ने जानकारहरु बताउँछन् ।

यदि जसपा नेपालले नेकपाको प्रचण्ड–माधव पक्षलाई साथ दिने हो भने बहुमतका लागि थप १४ सांसद आवश्यक पर्दछ । ती १४ सांसद प्रचण्ड–माधव पक्षले ओली समूहबाटै तान्नुपर्ने हुन्छ । सरकार गठनका क्रममा मन्त्री पद पाउने तथा विभिन्न नियुक्ति पाउने लोभमा गुट परिवर्तन हुन सक्ने र त्यसले संसदीय समीकरणमा फेरबदल हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु