मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कलाकार पनि चुनावी मैदानमा छन् ।
कला क्षेत्रबाट चुनावी मैदानमा होमिने कलाकारको संख्या यस पटक उच्च छ । राष्ट्रियसभा सदस्य रहिसकेकी गायिका कोमल ओलीले नेकपा (एमाले) बाट दाङको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन् । उनी प्रत्यक्ष निर्वाचित भएर जनताको सेवा गर्ने भन्दै घरदैलोमा पुगेर मत मागिरहेकी छन् ।

अभिनेत्री रेखा थापाले मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवारी दर्ता गराएकी उनी घरदैलोमा पुग्दै आफ्नो गृह जिल्लामा मत मागिरहेकी छन् । केही वर्षयता अभिनेत्री थापा कलाकारिताभन्दा पनि राजनीतिमा सक्रिय छिन् । ‘यो मेरो गृह जिल्ला हो । मैले यहाँको भूभाग बुझेकी छु । यहाँको सेवा गर्दै राजनीति सुरु गरेकी हुँ’, उनले बताइन् ।

फिल्म निर्देशक तथा समीक्षक मनोज पण्डितले प्रतिनिधिसभा सदस्यका लागि काभ्रे–२ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । दासढुङ्गा, बधशाला, ग्रेटर नेपाल जस्ता फिल्म र डकुमेन्ट्री निर्देशन गरिसकेका पण्डितले विगत छ महिनादेखि नै तयारी गरिरहेका थिए । ‘अहिले जनताले स्वतन्त्रलाई पनि विश्वास गर्न थाल्नुभएको छ । यसैले उम्मेदवारी दिएको हुँ । किनकि मैले स्थानीय विकास गर्न कसैको निर्णय पर्खिनु पर्दैन, स्वतन्त्र छु’, उनले भने ।

प्रतिनिधिसभा सदस्यमै गायक सञ्जय श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका छन् । काठमाडौं क्षेत्र नं ६ बाट उम्मेदवारी दिएका उनले समाज परिवर्तनका लागि आफू स्वतन्त्र रुपमै चुनावमा होमिएको बताए । निर्माता तथा अभिनेता मधुकुमार श्रेष्ठले नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यमा धादिङको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् ।

कमेडी च्याम्पियन हिमेश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट धादिङ क्षेत्र नं १ बाट उम्मेदवारी दिएका छन् । फिल्म निर्माता तथा अभिनेता रोज राणाले पनि नेपाली कांग्रेसका तर्फबाट प्यूठानको क्षेत्र नं १ को २ बाट प्रदेशसभातर्फ उम्मेदवारी दिएका छन् । ‘मलाई पार्टीले विश्वास गरेर अवसर दिएको छ । यसको पूर्ण सदुपयोग गर्नेछु’, उनले भने ।

फिल्म अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश २ तर्फ उम्मेदवारी दिएका छन् । केही समययता सक्रिय राजनीतिमा रहेका श्रेष्ठले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट उम्मेदवारी दिएका हुन् । ‘मेरो उम्मेदवारी युवालाई राजनीतिमा आउनेतर्फ प्रेरणा दिनु हो । परिवर्तनका लागि अगाडि बढ्नै पर्छ’, उनले भने । श्रेष्ठले सम्झिदिए पुग्छ, दुई दुना पाँच, ह्याप्पी न्यू इयर, पल्टन, जङ्गली फूल, को कसको, द मस्ट वान्टेड, बोर्डर र जन्जिर जस्ता फिल्ममा अभिनय गरेका छन् ।

चुनावी मैदानमा देखिएका कलाकारको उपस्थितिले कला क्षेत्रलाई टेवा पुग्ने विश्वास हाँस्य कलाकार शिवशङ्कर रिजालको छ । ‘कलाकारहरूलाई प्रचारप्रसारका लागि मात्र नभइ जनताको सेवा गर्न योग्य ठान्ने दलले अझैं संख्या बढाउनु जरुरी छ । यद्दपि सुरुवात राम्रो छ । मलगायत धेरै साथीलाई यसले चुनावी मैदानमा आउन हौसला मिलेको छ’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP