मंगलबार , बैसाख २९, २०८३

कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ ज्योतिनगरका लक्ष्मण चौधरी कर्णाली माध्यमिक विद्यालयमा अहिले कक्षा १० मा अध्ययन गरिरहेका छन् । शुक्रबार उनले विद्यार्थीको रुपमा नभई उम्मेदवारको रुपमा प्रस्तुत भए । विद्यालयले विद्यार्थीलाई पाठ्यक्रममा समावेश भएअनुसार निर्वाचनमा मतदान प्रक्रियाका बारेमा कक्षा १० का विद्यार्थीलाई नमूना मतदान कार्यक्रम गर्दा लक्ष्मण उम्मेदवारको रुपमा प्रस्तुत भएका हुन् ।

‘हामीलाई निर्वाचन हुन्छ भन्ने कुरा थाहा थियो । निर्वाचन गर्दाको प्रक्रियाका बारेमा अध्ययनभन्दा अतिरिक्त क्रियाकलापले धेरै सिक्ने अवसर मिलेको छ’, लक्ष्मणले भने, ‘निर्वाचनको मुखैमा भएको नमूना मतदानले हामीलाई निकै फाइदा गर्नेछ । कर्णाली माध्यमिक विद्यालयमा अध्ययनरत पारस शाही नमूना मतदानले घरमा अभिभावकलाई मतदानसम्बन्धी शिक्षा दिन सहयोग मिल्ने बताउँछन् । ‘आउँदो निर्वाचनसम्म हामी पनि मतदान गर्ने उमेरको हुन्छाैं । अहिले सिकेको सीप भोलि काम लाग्छ’, पारसले भने, ‘घरमा अभिभावकलाई पनि मतदान गर्न सिकाउने अवसर नमूना मतदानले दिएको छ ।’

मेरिका ढुङ्गानाले मनोनयन दर्तादेखि निर्वाचनका लागि आवश्यक प्रक्रिया पूरा गरेर भएको नमूना मतदानले समुदायमा मतदान शिक्षा नपाएका नागरिकलाई सिकाउन सक्ने क्षमताको विकास भएको बताउँछिन् । ‘अहिले निर्वाचनको समय छ । हामीले सिकेको ज्ञान आफ्ना लागिभन्दा अभिभावक र समुदायका लागि काम लाग्ने छ’, मेरिकाले भनिन्, ‘सिकेको शिक्षा अभिभावकलाई र समुदायलाई भन्छौँ । जसका कारण अहिलेको निर्वाचनमा मत बदर घटाउन सहयोग पुग्छ ।’

कक्षा १० का विनोद जोशी नमूना मतदानमा मतदान अधिकृतको भूमिकामा रह । मतदान अधिकृतले खेल्ने भूमिकाले आफूलाई निर्वाचनको महत्वका बारेमा सक्षम बनाएको उनको भनाइ छ । ‘पढेर सिकेको कुराभन्दा गरेर सिकेको कुरा सहज हुने रहेछ’, जोशीले भने, ‘हामीमा आमनिर्वाचनमा मतदातालाई शिक्षा दिन सक्ने क्षमताको विकास नमूना मतदानले भएको छ । आवश्यक परे समुदायका नागरिकलाई मतदान शिक्षा दिन सक्छौँ ।’

सो विद्यालयमा कक्षा १० को सामाजिक विषयमा भएको पाठ्यक्रमअनुसार नमूना मतदान प्रक्रिया सुरु गरिएको हो । निर्वाचनमा सहभागी उम्मेदवार, मतदाता, निर्वाचन अधिकृत, मतदान अधिकृत, सुरक्षाकर्मी, स्वयंसेवकसहित आवश्यक सबै प्रक्रिया पूरा गरेर नमूना मतदान पूरा गरेको विद्यालयका प्रधानाध्यापक धर्मराज शर्माले बताए ।

‘हप्ताको शुक्रबार हुने अतिरिक्त क्रियाकलापअन्तर्गत नमूना मतदान गरेका हौँ । यसले विद्यार्थीलाई निर्वाचन गर्दा पर्ने प्रक्रियाको बारेमा शिक्षा प्रदान गर्नेछ । घरमा निर्वाचनको समय भएको हुँदा अभिभावकलाई मतदान गर्न सिकाउने माध्यम पनि बन्न सक्छ’, प्रधानाध्यापक शर्मा भन्छन्, ‘विद्यार्थीले पनि नमूना मतदानमा निकै उत्सुकता देखाएका छन् । विद्यार्थीलाई ज्ञानभन्दा घरमा अभिभावकलाई सिकाउने प्रतिक्रिया विद्यार्थीबाट पाएका छौँ ।’

उनले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानभन्दा प्रयोगात्मक ज्ञानमा जोड दिइएको बताए । ‘सैद्धान्तिक ज्ञानले भन्दा व्यावहारिक ज्ञानले विद्यार्थीमा छिटो सिकाइ हुनेभएकाले त्यसतर्फ बढी जोड दिएका छौं’, प्रधानाध्यापक शर्माले भने, ‘त्यसैको एक उदाहरण हो नमूना मतदान पनि ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP