मंगलबार , बैसाख २९, २०८३

डडेल्धुरा । राजनीतिक माहोल अनुकूल होस् या प्रतिकूल । जस्तो अवस्थामा पनि २०४८ सालदेखि डडेल्धुराबाट निर्वाचनमा अपराजित यात्रा गरिरहेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिनदेखि आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा एवं प्रदेशसभाको निर्वाचनका सन्दर्भमा गृहजिल्ला डडेल्धुरामा आयोजना गरिएका चुनावीसभामा व्यस्त छन् ।

सत्ता–गठबन्धन दलका साझा उम्मेदवार समेत रहेका प्रधानमन्त्री देउवालाई अघिल्लो आमनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) ले चुनौती दिएको भए पनि यस पटक माओवादी केन्द्रको सुदूरपश्चिमको नेतृत्वकर्ता नेता खगराज भट्ट देउवालाई सघाइरहेका छन् । गठबन्धनको प्रदेशसभा सदस्यको उम्मेदवार भएर भट्ट आफू पनि चुनावी मैदानमा छन् ।

प्रधानमन्त्री देउवा २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ सालको निर्वाचनमा डडेल्धुराबाट निर्वाचित भइसकेका छन । उनी विसं २०६४ मा कञ्चनपुर ४ र २०७० मा कैलाली– ६ बाट पनि विजयी भएका थिए । गत २०७४ सालको निर्वाचनमा १६ वटा प्रतिनिधिसभा रहेको सुदूरपश्चिममा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ जित्ने एक्ला नेता समेत उनी हुन् ।

माओवादी नेता भट्ट तीन पटक देउवासित पराजित भएका छन् । नेपाली कांग्रेस डडेल्धुराका पार्टी सचिव हेमराज चटौतले डडेल्धुराबाट कांग्रेसका उम्मेदवार देउवा बहुमतले जित्ने दाबी गर्छन् । उनले स्थानीय तहको मतलाई मात्रै आधार बनाउँदा कांग्रेससहित गठबन्धनका प्रदेशका उम्मेदवारलाई जित्न कुनै समस्या नहुने दाबी गरे ।

‘पालिकाको निर्वाचनमा कांग्रेस एक्लैको २२ हजार बढी, माओवादी केन्द्रको १३ हजारको हाराहारीमा मत हो’, सचिव चटौतले भने, ‘प्रतिस्पर्धीको सबैको मिलाएर पनि १५ हजार मत देखिन्न ।’ उनले प्रधानमन्त्री देउवा आइतबार पर्शुराम र आलितालमा चुनावीसभा सकेर धनगढी फर्किने कार्यक्रम रहेको बताए ।

उनले देउवा डडेल्धुराको उम्मेदवार मात्रै नभई सुदूरपश्चिमको अभिभावक भएकाले पनि यसपटक जिताएर पुनः मुलुकको कार्यकारी पदमा पुग्नेमा आशावादी रहेको बताए । देउवासित चुनावी प्रतिस्पर्धामा रहेका कांग्रेस बिपीका कर्ण मल्लले स्थानीय निर्वाचनमा समेत नेकपा एमालेसित चुनावी तालमेल गरेका थिए । प्रतिनिधिसभाका उम्मेदवार मल्ललाई नेकपा (एमाले) ले सर्मथन गरेको छ ।

एमाले डडेल्धुराका अध्यक्ष प्रकाश साउदले आफूहरुको समर्थन सुरुबाटै कांग्रेस बिपीका उम्मेदवारलाई रहेको बताए । ‘हाम्रो समर्थन कर्ण मल्ललाई भएअनुसार हामी मसिनो तरिकाले जिल्लाभर मतदातासित मत माग्दै हिँडेका छौं’, अध्यक्ष साउदले भने, ‘नेपाली कांग्रेसका सभापति समेत रहनु भएका देउवालाई टक्कर दिने पार्टी र उम्मेदवारको किचलोले उहाँलाई जित्न झन सहज हुने कांग्रेस नेताहरुको बुझाइ छ ।’

डडेल्धुराबाट सत्ता–गठबन्धनबाट सुदूरपश्चिम प्रदेशसभा १ मा माओवादी केन्द्रका नेता खगराज भट्ट र २ मा नेपाली कांग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा चुनावी मैदानमा छन् । यता एमाले र कांग्रेस बिपीको चुनावी तालमेलले डडेल्धुराबाट प्रदेशसभा १ मा पूर्वप्रदेश मन्त्री पठानसिंह बोहरा र २ बाट गजेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाएको छ । दुवै एमालेका नेता हुन् । सात वटा पालिका रहेको डडेल्धुरामा स्थानीय तहको निर्वाचनमा पाँच नेपाली कांग्रेस र दुई पालिकामा माओवादी केन्द्र विजयी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP