मंगलबार , बैसाख २९, २०८३

चितवन । तिहार पर्वमा चितवनका एउटै किसानले रु सात लाखको सयपत्री फूल बेचेका छन् । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा रु सात लाखको फूल बेचेका हुन् ।

गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उनले यस वर्ष चार बिघामा फूल रोपेका थिए । सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उनको भनाइ छ । पाख्रिनले भने, ‘गत वर्ष डेढ बिघामा लगाएको सयपत्री फूलले यहाँको माग पुर्‍याउन सकिएन भनेर अहिले चार बिघामा लगाएको फूलले राम्रै बजार पायो, आम्दानी पनि मनग्य भयो ।’

यस वर्ष भारतबाट फूल आयात कम भएका कारण पनि व्यापार राम्रो भएको उनी बताउँछन् । तिहारको अवधिभर १२ हजार बढी फूलको माला बिक्री भएको उनले बताए । फूल बिक्रीबाट रु सात लाखभन्दा बढी आम्दानी भएको पाख्रिनले जानकारी दिए ।

‘मैले उत्पादन गरको फूल सबै जिल्लाभित्रै खपत भयो’, उनले भने, ‘केही फूल पश्चिम नेपालका जिल्लामा पनि पठाएँ ।’ उनले अझै रु चार-पाँच लाखको फूल बारीमा नै रहेको बताए । ‘मंसिरमा बिहेको लगन आउँदैछ, त्यो बेला पनि सयपत्री फूल बिक्री हुन्छ, अन्य समयमा पनि फाट्टफुट्ट बिक्री भइरहन्छ’, उनले भने । उनले रु १२ लाखको फूल बेच्दा एक सिजनमा सबै खर्च कटाएर आफूलाई रु छ–सात लाख बचत हुने बताए । डेढ बिघा जग्गामा फूल बिक्री गरिसकेपछि उनले तोरी लगाइसकेका छन् ।

‘यस पटक राम्रो व्यापार भयो, २०८० सालको दसैँमा १० बिघा क्षेत्रफलमा सयपत्री फुलाउँछु’, उनले भने, ‘वरिपरि ढकमक्क फूल फुलेको देख्दा पनि निकै रमाइलो लाग्छ ।’ उनले २६ वर्षअघिसम्म काठमाडौँमा पढाउने काम गरेका थिए । ‘काठमाडौँमा बसेर १० वर्ष पढाउने काम गरें’, उनले भने, ‘त्यो काम छाडेर भरतपुर फर्किएँ र फूलको मोहले नर्सरी सञ्चालन गर्न थालेँ, अन्ततः व्यवसाय नै फूलखेती बन्यो ।’

यसपालिको तिहारमा उनले एउटा मालाको रु एक सयमा बिक्री गर्नुभयो भने प्रतिकेजी रु चार सयमा बिक्री गरेको सुनाए । पाख्रिनले १८ वर्षदेखि व्यावसायिकरूपमा फूलखेती गर्दै आएका छन् । चितवनमा यो पेसा गरेको पाख्रिनले पाँच वर्ष भयो । धादिङ फूलखर्क–४ का उनले नौबिसेबाट पुष्प खेतीको सुरुआत गरेका थिए । उनी भन्छन्, ‘फूलसँग रमाउने मेरो रुचि हो । सानैदेखि फूलप्रति मेरो मोह नै छ । मेरो घर वरपर बिरुवाले भरिभराउ हुन्थ्यो तर, यो नै मेरो पेसा बन्ने छ भन्ने सोचेको थिइनँ । जब मैले शिक्षण पेसा गरँे, यसले पनि मलाई खुशी, उत्साह र शान्ति दिन सकेन र छाडेँ ।’

अहिले पनि सयपत्री सिजनमा अथवा चाडपर्वको समयमा मात्र उत्पादन गरे पनि राम्रो आम्दानी हुने उनको भनाइ छ । ‘तीन रुपैयाँमा सयपत्रीको बिरुवा पाइन्छ’, उनले भने, ‘बीउ आफै खरिद गरेर उमार्न सके अझै कम शुल्क पर्छ ।’ हिजोआज सयपत्री फूल व्यवसायिकरूपमा सुरु गर्न करिब रु ५० हजार भए पुग्ने उनी बताउँछन् । ‘पहिला सयपत्री फूलले खासै बजार पाउँदैनथ्यो, अहिले बजारमा धेरै माग बढिरहेको छ’, उनले भने, ‘अहिले जति उत्पादन गरे पनि बजार नपाइएला भन्ने चिन्ता छैन ।’

यो व्यवसाय गर्नका लागि उनलाई श्रीमती सरस्वती खत्री पाख्रिनको उत्तिकै साथ छ । उनीहरुका दुई छोरी र दुई छोरा छन् । पुष्प खेतीबाट पर्याप्त आम्दानी हुँदैन, बजार छैन भन्नेका लागि पाख्रिन एक उदाहरण बनेका छन् । ‘फूलखेतीबाट आफ्नो परिवार चलाउन मलाई दुःख छैन । चार बिघामा फूल रोप्दा पनि जिल्लाभन्दा बाहिर माग पुर्‍याउन सकेको छैन, बजार छैन भन्न मिल्दैन’, उनले भने ।

बजारमा मालाको अभाव देखिनु नेपाली कृषकले व्यावसायिकरूपमा पुष्प खेती नगर्नुको उपज भएको पाख्रिनको भनाइ छ । फूल खरिदमा करोडौँ रकम भारत जानु र यहाँ बजार नदेख्नु हाँस्यास्पद कुरा बाहेक केही नभएको उनको भनाइ छ ।

बैसठ्ठी वर्षीय पाख्रिनले १८ वर्षको दौरानमा देशभर सयभन्दा बढी शिष्य बनाइसकेका छन् । जो अहिले व्यावसायिक रूपमा फूलखेती गरिरहेका छन् । पाख्रिनसँगै सात जनाले स्थायी रोजगारी पाएका छन् । उनी नेपालको हावापानीमा सयपत्री फूल सहजै उत्पादन हुने बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP