मंगलबार , बैसाख २९, २०८३

लमजुङ । लमजुङ प्रहरीले भुकम्पले भत्किएको घर पुनर्निर्माण गरिदिने भन्दै भूकम्पपीडितसँग रकम लिएर फरार भएका एक जना ठेकेदारलाई पक्राउ गरेको छ । सरकारले लाभग्राही प्रत्येकलाई ३ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

भूकम्पपीडितको घर निर्माण गरिदिने भन्दै ठेक्का लिएका मकवानपुर जिल्ला बकैया गाउँपालिका १०, अम्मासबेसी बस्ने ४७ वर्षीय ठेकेदार यमबहादुर थोकरलाई ३ वर्षपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । घरहरुको डीपीसी गरेर सरकारबाट आउने दोस्रो किस्ताको १ लाख ५० हजार रुपैयाँका दरले पीडितहरूबाट करिब ६६ लाख रुपैयाँ लिएर भागेका उनलाई पक्राउ गरेको डीएसपी प्रकाश श्रीमलले बताए ।

२०७२ जेठ १२ गते गएको विनाशकारी भूकम्पका कारण घरबारबीहिन लाभग्राहीको आवास पुनःनिर्माणको लागि सरकारले ३ लाख रुपैयाँको व्यवस्था गरेको थियो । उक्त रकमले अपुग हुने भएपछि गैरसरकारी संस्था प्राक्टिकल एक्सनले लमजुङस्थित जनचेतना अभिवृद्धि र विकास अध्ययन समिति (कोप्पाडेस) मार्फत राइनास नगरपालिका र दोर्दी गाउँपालिकाका विपन्न नागरिकलाई ५० हजार रुपैयाँले रकम दिएको थियो ।

थप रकमसहित २०७६ को साउनबाट घर निर्माण कार्यको ठेक्का थोकरले भूकम्पपीडितको डीपीसीसम्मको घर निर्माणकार्य गरी सरकारबाट भूकम्प पीडितहरूलाई दोस्रो किस्ता वापत दिएको १ लाख ५० हजार रकम लिएर निर्माणाधीन घर अलपत्र बनाएको पीडितको गुनासो छ ।

घर निर्माण गरिदिन्छु भनी झुट्टा आश्वासन देखाएर ३ वर्षदेखि फरार उनीविरुद्ध उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय, लमजुङ र प्रहरी बृत ललितपुरबाट खटिएको संयुक्त टोलीले कात्तिक ३ गते पक्राउ गरी ल्याएको र ६ गते ठगी सम्बन्धी कसूरमा जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिइ अनुसन्धान गरेको र पुन सोमबार ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले यसरबारे जानकारी मंगलबार मात्रै गराएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निरीक्षक जगदिश रेग्मीले केही व्यक्तिका उजुरीको आधारमा पक्राउ गरी ल्याइएको र घटनाबारे बुझेपछि ढिलामात्रामा सार्वजनिक गरिएको बताए । जिल्ला प्रहरी कार्यालयले भूकम्पको लाभग्राही सूचीमा परेर ठेकेदार यमबहादुर थोकरबाट पीडित भएकालाई आवश्यक कागजातपत्रसहित सम्पर्क राख्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP