मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । बालिका बलात्कार अभियोगमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुने भएको छ ।

जिल्ला सरकारी कार्यालय काठमाडौंले लामिछानेसँग बयान सकेर प्रतिवेदन तयार गरी सोमबार अदालतमा मुद्दा दर्ता गर्ने भएको हो । २० असोजदेखि प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्ध प्रहरीले तीन पटक म्याद थप गरी अनुसन्धान गर्दै आएको छ ।

उनीसँग प्रहरीले बयान समेत लिइसकेको छ । प्रहरीले बलात्कार अभियोगमा १२ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ताको तयारी गरेको छ । सोमबार मुद्दा दर्ता गरेपछि मंगलबारदेखि थुनछेक बहस हुने भएको छ ।

एक नाबालिगले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै उनीविरुद्ध गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । जाहेरीमा सन्दीपले भदौ ५ गते राति पिंगलास्थानको ‘होटेल काठमाडौं इन’ मा लगेर बलात्कार गरेको उल्लेख छ । सो होटेलको सीसीटीभी फुटेजमा त्यस दिन सन्दीप ती किशोरीसँगै प्रवेश गरेको र भोलिपल्ट बाहिरिएको देखिएका छन् । सोही प्रमाणका आधारमा पनि सन्दीप पुर्पक्षका लागि जेल जाने सम्भावना बढी भएको प्रहरी र सरकारी वकिलहरू बताउँछन् ।

एक सरकारी वकिलले भने, ‘प्रमाणहरू हेर्दा कुनै पनि हालतमा सन्दीप तारेख वा धरौटीमा छुट्ने सम्भावना छैन । उनी नाबालिगसँग होटेल प्रवेश र बाहिरिएको प्रस्टै देखिन्छ । यो फुटेज नै उनी पुर्पक्षमा जाने पहिलो प्रमाण हो ।’ पुर्पक्षका लागि थुनामा गए पनि अदालतको अन्य प्रक्रिया निरन्तर अगाडि बढ्ने छ ।

भदौ ६ गते सन्दीप नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्न केन्या गएका थिए । केन्याबाट क्यारेबियन प्रिमियर लिग खेल्न उनी जमैका गएका थिए । जाहेरी परेको एक महिनापछि उनी नेपाल आएका थिए । सोही क्रममा असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । प्रहरी अनुसन्धानका क्रममा उनी अमेरिकाबाट नेपाल आएको खुलेको थियो ।

सरकारी वकिलसँगको बयानका क्रममा सन्दीपले आफूमाथिको आरोप अस्वीकार गरेका छन् । उनले आफूविरुद्ध जाहेरी दिनेकै आग्रहमा होटेलमा बसेको र यौनजन्य कार्य नगरेको दाबी गरेका छन् । भदौ ५ गतेको होटेल काठमाडौं इनको सीसीटीभी फुटेज रिपोर्टसँगै होटेलका कर्मचारीको बयान पनि अभियोजनपत्रमा उल्लेख छ । पीडितको बयान, मेडिकल जाँच पनि अभियोजनपत्रमा समावेश छ । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार सन्दीपले प्रयोग गरेको सामाजिक सञ्जालका च्याटहरू पनि ‘रिकभर’ भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP