

क्षेत्र नम्बर ३ पाँच दलीय सत्ता गठबन्धनबाट प्रतिनिधिसभातर्फ नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाँण उम्मेदवार छन् । यस्तै, प्रदेश (क)मा लोसपाका नेता सन्तोषकुमार पाण्डेय र (ख) मा काँग्रेस नेता रामचन्द्र ढकाल उम्मेदवार छन् । गठबन्धनको संकल्प पत्रमा ‘मर्चवारदेखि मुस्ताङ्गसम्म’ बन्ने सडक निर्माणलाई विशेष रूपमा प्रारम्भ गर्न पहल गर्ने, बुटवल–भैरहवा–सुनौली हाइवेमा मेट्रो ट्रेन सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने, बेलहियामा निर्माणाधीन ‘एकीकृत भन्सार प्रणाली’ तत्काल निर्माण प्रारम्भ गर्न पहल गर्ने, परासीदेखि कपिलवस्तुसम्म १३२ केभीको विद्युतीय प्रसारण लाइन निर्माण गर्न पहल गर्ने, बुटवलदेखि गोरखपुरसम्मको विद्युतीय प्रसारण लाइन यथाशिघ्र निर्माण गर्न पहल गर्ने, कालीगण्डकी–तिनाउ डाईभर्सन परियोजना निर्माणका लागि विशेष जोड दिने, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई बढाउने र नेपालका विभिन्न सहरहरूमा पनि आन्तरिक उडान तथा कार्गो सेवा सुचारु गर्नुका साथै रोजगारीमा स्थानीयलाई प्राथमिकता दिइने जस्ता राष्ट्रिय महत्वका विषयवस्तु समावेश गरिएको छ ।
यस्तै, भैरहवालाई लुम्बिनी प्रदेशकै महत्वपूर्ण औद्योगिक, व्यापारिक एवम् पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने, सिद्धार्थनगर नगरपालिका वरपर ‘सिद्धार्थ चक्रपथ’ निर्माणका लागि यथाशिघ्र डि.पि.आर. गरि निर्माण कार्यको थालनी गर्ने, तिनाउ–दानव नदीमा ‘जनताको तटबन्धन’ कार्यक्रम थप प्रभावकारी बनाउने तथा डण्डा–रोहिणी नदीमा पनि नदी कटानलाई व्यवस्थित गर्ने जस्ता कार्यक्रम समावेश छन् ।
यस्तै, बुद्ध परिक्रमा सडकको दुबैतिर नालिसहितको फुटपाथ निर्माण गर्न विशेष पहल गर्ने, मोतीपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर त्यहा स्थायी बसोबास गर्ने व्यक्तिहरूको समस्या दिगो रूपमा समाधान गरी त्यस औद्योगिक क्षेत्रलाई राष्ट्रकै नमुना औद्योगिक क्षेत्रका रूपमा विकास गर्नुका साथै साथै त्यस क्षेत्रका वासिन्दाहरूलाई रोजगारीको सुनिश्चितता गर्ने, वेलहियादेखि पोखरासम्मको सिद्धार्थ राजमार्गलाई स्तरोन्नति गर्ने, तिनाउ नदीको छेउछाउमा व्यापारिक प्रयोजनका लागि ६ लेनको बाटो निर्माण गर्ने र त्यसको छेउ–छाउमा वृक्षारोपण गरी हरियाली सडक बनाइनुका साथै हरियाली पार्कहरूको समेत निर्माण गर्ने गठबन्धनको संकल्प छ ।
यस्तै, यस क्षेत्रभित्र रहेका पालिकाबाट निस्केका फोहरहरूको उन्नत अत्याधुनिक प्लान्ट मार्फत उर्जा, मल तथा अन्य कच्चा पदार्थ समेत उत्पादनको व्यवस्था गर्ने, सिद्धार्थनगरभित्र रहेको कारागारलाई उचित ठाउँमा स्थान्तरण गर्ने र कारागारभित्र रहेका व्यक्तिहरूलाई सीपमूलक तालिमका साथै ध्यान, योगा, शारिरिक व्यवयाम जस्ता कार्यक्रमहरू सञ्चालन गर्ने, बर्दघाटदेखि कृष्णनगरसम्मका क्षेत्रलाई सुव्यवस्थित सहरीकरण गरी विकास गर्ने, सिद्धार्थ नगरभित्रका अटोभिलेजलाई एकै ठाउँमा सुव्यवस्थित गर्ने, यस क्षेत्रमा रहेको स्वर्गद्वारी घाटलाई सुविधायुक्त बनाउने र क्रियापुत्री बसेर कार्यसम्पादन गर्न मिल्ने गरी भवन निर्माण गर्ने, नेपालकै मत्स्य गाउँका रूपमा विकास हुँदै गएको दयानगर–छपिया, अमुवा, मानपकडी, मानमटेरिया, हर्नैया, मैनहिया क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गरी ‘नमुना कृषि पर्यटन’का रूपमा विकास योजना गठबन्धनले समावेस गरेको छ ।
यसैगरी पश्चिम अमुवामा रहेको स्वास्थ्य चौकीको स्तरोन्नति गरिने र फर्साटिकरमा १५ शय्याको आधारभूत अस्पताल यथाशिध्र सम्पन्न गर्ने, यस क्षेत्रमा सरकारी तथा निजी मेडिकल र इन्जिनियरिङ कलेजको स्थापनाका लागि विशेष जोड दिने, भैरहवा बहुमुखी क्याम्पसमा पूर्वाधार थप गरी आधुनिक तथा गुणस्तरिय शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउने, यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस, शुद्धोधन, जनता उच्च मा.वि., सियारी तथा रूपन्देही क्याम्पस, सिद्धार्थनगरको स्तरोन्नती र प्राविधिक विषयमा थप कार्यक्रम संचालन गर्न विशेष पहल गर्ने, पक्लिहवामा रहेको कृषि क्याम्पसलाई भौतिक सुविधा सम्पन्न बनाउने र कृषि तथा पशु चिकित्सा शिक्षा दुवैमा सिट सङ्ख्या बृद्धि गर्न आवश्यक पहल गर्ने, पक्लिहवा कृषि क्याम्पस हाताभित्र सुविधासम्पन्न पशु अस्पताल निर्माण गरी यथाशिघ्र सञ्चालन गर्ने योजना संकल्प पत्रमा उल्लेख छ ।
संकल्प पत्र सार्वजनिक कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले आफूहरुले पूरा गर्न सकिने योजना मात्रै समावेस गरिएको जनाए । ‘हामीले अघि सारेका योजनाले सिंगो रुपन्देहीको मात्रै नभई समग्र मुलुकको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएका छौं’, उनले भने, ‘यी योजना कार्यान्वय गरेरै छाड्छौं । यसले जिल्लाको बृहत्तर विकास गर्छ ।’ उनले संविधान, लोकतन्त्र र संघीयताको रक्षार्थ तथा मुलुकको विकास र समृद्धिका लागि गठबन्धन गरिएको बताए । क्षेत्र नम्बर ३ (क) का उम्मेदवार पाण्डेय, (ख) का उम्मेदवार ढकालले गठबन्धनले नै मुलुकको हीतमा काम गर्ने भएकाले सबैले सहयोग गर्ने विश्वास व्यक्त गरे । राष्ट्रिय जनमुक्ति पार्टीका क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार मोजिव ओलीले आफूले प्रतिनिधिसभा तर्फ गृहमन्त्री खाँणलाई समर्थन गरेको जनाउँदै आफ्नो उम्मेदवारी निष्क्रिय गरेको घोषणा गरे ।