मंगलबार , बैसाख २९, २०८३

झापा । मेची भन्सार कार्यालयले आज (सोमबार) देखि पूर्वीनाका काँकडभिट्टाबाट निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई नजिकको धुलाबारी बजारसम्म आवतजावत गर्न निःशुल्क ‘सुविधा पास’ उपलब्ध गराउन थालेको छ ।

तीन वर्षदेखि भारतीय सवारी साधनलाई यो सुविधा दिइएको थिएन । भन्सार कार्यालयले आइतबार सूचना जारी गरेरै असोज १० गतेदेखि नाकाबाट प्रवेश गर्ने भारतीय जीप, कार र मोटरसाइकल आदिलाई ‘सुविधा पास’ दिइने जानकारी गराएको छ ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवप्रसाद ओलीले मेची उद्योग वाणिज्य सङ्घ र पर्यटन व्यवसायसँग आबद्ध सङ्घसंस्थाले सीमा नजिकको बजारसम्म भारतीय सवारीसाधनलाई सुविधा पासमा प्रवेश दिन माग गर्दै आएको बताए । मेची उद्योग वाणिज्य सङ्घले मेची भन्सार कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै उक्त माग दोहोर्‍याएको थियो । भन्सार कार्यालयले व्यवसायीसँग यस विषयमा छलफलसमेत गरेको थियो ।

मेची भन्सार कार्यालयको सूचनामा त्यस्तो सुविधा बिहान ८ देखि बेलुका ५ बजेसम्म चल्ने गरी भारतीय गाडीले पाउने उल्लेख छ । यो सुविधा पास पाउन भारतीय सवारीसाधनले कुनै शुल्क बुझाउनु पर्दैन । यसअघि भारतीय गाडीले २४ घण्टासम्म नेपालको सीमाभित्र सवारी सञ्चालन गर्न दैनिक रु पाँच सय तिरेर अस्थायी अनुमतिपत्र लिनुपथ्र्यो ।

मेची उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले भारतीय नम्बर प्लेटका निजी प्रयोजनका सवारीसाधनले नेपालसँगको सीमा नाँघेर धुलाबारी बजारसम्म आउन ‘सुविधा पास’ पाउँदा नेपाली बजारमा चहलपहल बढ्ने बताए ।

‘पहिले यस्तो सुविधा पास दिने व्यवस्था हुँदा हाम्रो व्यापार व्यवसाय र पर्यटन फस्टाएको थियो’, मेची भन्सार एजेन्ट सङ्घका अध्यक्ष समेत रहेका निरौलाले भने, ‘सुस्ताउँदै गएको हाम्रो सीमावर्ती काँकरभिट्टा, इँटाभट्टा र धुलाबारीमा भारतीय पर्यटक र व्यवसायीको सहज आवागमनले बजार चलायमान हुने अपेक्षा गरेका छौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP