मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । केही समययता नेपाली मौलिकता बोकेका फिल्म प्रदर्शन भइरहेका छन् । यसै वर्ष मात्र ‘दोख’, ‘चिसो मान्छे’, ‘पानीफोटो’, ‘प्रकाश’, ‘द सेक्रेट्स अफ राधा’, ‘झिँगेदाउ’ जस्ता फिल्म आइसकेका छन् । गत भदौ २४ बाट प्रदर्शनरत फिल्म ‘ऐना झ्यालको पुतली’ माथि उल्लेखित फिल्मको कमजोरीलाई सुधार्दै मौलिक स्वाद बोकेर हलमा प्रदर्शन भइरहेको छ ।

कथ्य शैली, नेपाली परिवेश र विश्व फिल्मसँग नेपाली कथालाई जोड्ने ‘ऐना झ्यालको पुतली’ सुजित बिडारीद्वारा निर्देशित फिल्म हो । यहीँ फिल्मले एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सद्वारा घोषणा गरिएको ९५औं एकेमेडी अवार्ड (अस्कर अवार्ड) मा नेपालको प्रतिनिधित्व गर्दैछ । प्राविधिक पक्ष, कथ्य शैली र प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई विश्लेषण गरेर प्रतियोगितामा फिल्मलाई सहभागी गराउन नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिको अध्यक्ष विमल पौडेलको अध्यक्षतामा बसेको बैठकले सिफारिस गरेको हो ।

व्यावसायिकरुपमा पनि सन्तोषजनक सफलता हात पारिरहेको फिल्म ५० को दशकको ग्रामीण समाजको दर्पण बनेको छ । नन एक्टर अर्थात् अभिनय नजानेको कलाकारको बाहुल्यता रहेको फिल्मले हामीलाई २०५२ सालको आसपासको ग्रामीण परिवेशमा लैजान्छ । मौलिक कथा वाचन गर्दागर्दै लेखक तथा निर्देशक बिडारीले फिल्मी शैली अपनाएका छन् । मौलिक फिल्ममा मनोरञ्जन नभएको गुनासो बढिरहँदा यस फिल्मले दर्शकलाई तृप्त बनाउन सफल भएको छ । विद्या (कञ्चन चिमरिया), वसन्त (दिनेश खत्री) र आमा (सिरु विष्ट) मा फिल्म केन्द्रित छ ।

सङ्खुवासभाको ज्यामिरेका यिनै तीन चरित्रमार्फत ग्रामीण समाजमा छोरीले भोग्ने पीडालाई देखाइएको छ । दिदी विद्या र भाइ वसन्तलाई हुर्काउन आमाले गरेको सङ्घर्ष, विद्यालाई ७ कक्षा पास गरेर ८ कक्षा पढ्न ठूलो स्कुल जाने रहर र वसन्तको बालापनमार्फत फिल्मले ज्यामिरेको परिवेश देखाएको छ ।

विद्यालाई सहर गएर ठूलो स्कुल पढ्ने रहर छ । सधँैजसो कक्षामा पहिले हुने विद्या ८ कक्षामा पुग्दा दोस्रो भएकी छिन् । उनको पढ्ने रहर पूरा गर्ने चाहना आमाको नभएको होइन तर ग्रामीण भेगमा एक्लै घरमूली बनेकी आमालाई सहज छैन । घरखर्च चलाउनु छ । छोरछोरीलाई पनि पढाउनु छ । उनलाई श्रीमानको साथ छैन । एक्लै घर चलाउँदा महिलाले गरिरहेको सङ्घर्षमार्फत आमाले आफ्नो इच्छा मारेर छोरीको सपना पूरा गर्ने अठोट गर्छिन् । विभिन्न बाधा अड्चनले त्यसलाई रोकिरहेका छन् । विद्यालाई छात्रवृत्तिले सपना पूरा गराउन सक्थ्यो । यद्यपि दोस्रो भएको कारण त्यो बाटो पनि बन्द भयो । उनलाई पढ्ने रहर नभएको होइन । तर आमालाई काममा सघाएर पढ्नुपर्ने भएकाले कक्षा उक्लिँदै गर्दा विद्यालाई पहिलो स्थानमा रहन मुस्किल भएको हो । उनी दोस्रो भएकी हुन् ।

आमाले घरखर्चको लागि जुटाएको रकम छोरीको शिक्षामा खर्च गर्न तयार भए पनि त्यो सपना पूरा हँुदैन । घरमा परदेशबाट आइपुगेका बुबाले स्कुल भर्ना गर्न राखिएको रकम मध्यपानमा गरेर खर्चिंदा फिल्ममा आन्तरिक पारिवारिकद्वन्द्व सुरु हुन्छ । छोरीले बुबालाई सपनाको बाधक मान्छिन् । किनकी उनी त्यो रकम लिएर गाउँले मितिनीसँग पढ्न सहर जान तयार भएकी हुन्छिन् । उनी आफू कक्षामा अन्य विद्यार्थीको दाजोमा पढाइमा बलियो भए पनि आर्थिक अभावले पढ्ने रहरलाई पूरा गर्न सकेकी छैनन् । विद्याले पढ्ने सपनामा बाचिरहँदा उनको भाइ वसन्त भने बालापनमा रमाइरहेका छन् ।

वसन्तको रुचि पढाइभन्दा अन्य क्रियाकलापमा बढी देखिन्छ । उनको माध्यमबाट ग्रामीण बालापनलाई अनुभव गर्न सकिन्छ । विद्याझैँ वसन्त पनि नन एक्टर हुन् । अर्थात् उनीहरु व्यावसायिक कलाकार होइनन् । फिल्ममा पहिलो पटक काम गरेका कलाकार हुन् । उनले अभिनय गरेका छैन । बालापन बाँचेका छन् । जसले उनलाई पनि ‘क्लासिक’ बनाउन मद्दत गरेको छ । वसन्त दिदीलाई आमाले बढी माया गरेको गुनासो गरिरहन्छन् । किनकी उनलाई फिल्म हेर्न, खाजा खान खोजे जति रकम प्राप्त छैन । उनले बोल्ने संवाद र गर्ने गतिविधिले फिल्ममा मनोरञ्जन दिएको छ । फिल्मले ज्यामिरे गाउँमार्फत देखाउन खोजेको कथाले हरेक ग्रामीण क्षेत्रलाई प्रतिनिधित्व गर्छ । निर्देशक बिडारीले गाउँ ज्यामिरेलाई पूरा देशका घटनाक्रमसँग पनि जोडेका छन् ।

फिल्म २०५२ सालबाट सुरु भएको फिल्ममा यहीँ सालको फागुनबाट सुरु भएको माओवादी द्वन्द्वलाई रेडियोको समाचारमार्फत स्थापित गरिएको छ । त्यो समयमा देशमा भइरहेका अरु घटनालाई पनि निर्देशकले यही रेडियोमार्फत वाचन गरेर फिल्मलाई गाउँमा मात्र सीमित राखेका छैनन् । फिल्मको सुन्दर पक्ष भनेकै पढ्ने चाहना बोकेर हर प्रयास गर्ने विद्या र उनको प्रयासलाई रोक्ने समाजबीचको अन्तर द्वन्द्व हो । मूल कथालाई नछाडी बुनिएका स-साना कथाले सौन्दर्य थपेको छ । घरको नाजुक आर्थिक अवस्था, दायित्वबाट पन्छिएका बुबा, आफूलाई नबुझ्ने समाजमा विद्याको सपना पूरा र अन्त्य एकै पटक हुन्छ ।

निर्देशक बिडारीले उल्लेखित पक्षलाई मार्मिकरुपमा प्रस्तुत गरेका छन् । सपना बाँच्ने पात्रको प्राप्ति र अन्त्यलाई एकै दृश्यमार्फत प्रस्तुत गर्नुले उनको निर्देशकीय कौशलतालाई प्रस्ट्याउँछ । यो फिल्मको कथा जति सरल छ, उत्तिकै कलात्मक । समाजमा विधमान गहन विषयलाई यसमा सरल तरिकाले प्रस्तुत गरिएको छ । उनी आफ्नो काम र प्रस्तुतिमा पूणर्रुपमा प्रष्ट छन् । हाम्रो घर र समाजकै कथालाई ठूलो पर्दामा प्रस्तुत गरिएकाले फिल्म हेरिरहँदा पात्रसँग सहजै सम्बन्ध स्थापित हुन्छ ।

‘ऐना झ्यालको पुतली’ गाउँको कथा हो र गाउँमै सकिन्छ तर यसले सहरलाई त्यहाँको समस्या, सौन्दर्यतासँगै सम्भावनासमेत औँल्याउन मद्दत गर्छ । नेपालमा पछिल्ला केही वर्षमा मौलिक कथामा उस्तै शिल्पसहित फिल्म बनाउने सर्जकको जमात बढेको छ । यो स्वागतयोग्य छ तर यस पटकको स्वाद स्वस्थ्यकर भएर पनि उत्तिकै मीठो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP