मंगलबार , बैसाख २९, २०८३

गलेश्वर । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम सडकखण्डमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरो भएपछि यस्तो समस्या उत्पन्न भएको हो ।

सडकखण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका- ३ रूप्से छहरा, काभ्रेभीर र बाँदरजुङ्गे भीरमा सडकको अवस्था अत्यन्त दयनीय र डरलाग्दो रहेको सो सडक हुँदै खाद्यान्न ढुवानीको व्यवसाय गर्दै आउनुभएका राज शर्माले बताए । यहाँ सामान्य वर्षा हँुदासाथ ढुङ्गा, माटो र लेदोसहितको पहिरा खस्नुका साथै बाटो बगाउने र हिलो हुने समस्याले कतिबेला दुर्घटना हुने हो भन्ने भय रहिरहने बेनीबाट खाद्यान्नका सामान मुस्ताङ लैजाने तथा नियमितजसो सो सडकमा ओहोरदोहोर गरिरहने चालक तीर्थ विकले जानकारी दिए ।

वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहेकाले ठाउँ ठाउँमा पहिरो जाने क्रम भने अझै नरोकिएकाले यात्रु तथा सवारीसाधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । जिल्लाको तिल्केनीदेखि मुस्ताङको घाँसासम्म सडकको डिलतर्फ पहाडको खोंच छिचोलेर उर्लिंदै बगेको कालीगण्डकी र कुनातर्फ विशाल पहरा र भीरबाट आउने पहिरो रहेको बेनी-जोमसोम सडकखण्डको अधिकांश भाग खतरायुक्त छ ।

यो सडक २०६२/६३ सालमा तत्कालीन शाही नेपाली सेनाले ट्रयाक खोलेपछि सञ्चालनमा आएको हो । सडकमा खस्ने पहिरोले सवारीसाधनमा क्षति पुग्ने, यात्रुलाई चोट लाग्ने र आवतजावत बन्द हुँदा जोखिम, झन्झट र सास्तीपूणर् बनेको हो । ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकको म्याग्दी खण्डमा केही दिनयता दैनिकजसो यातायात अवरुद्ध हुने गरेको छ ।

बेनी-जोमसोम सडक कालीगण्डकी करिडोरमा समेटिएपछि विगत चार वर्षदेखि स्तरोन्नति र गत वर्षदेखि कालोपत्रको काम सुरु भएको छ । तर, प्रत्येक वर्ष जेठदेखि असोजसम्म बाढीपहिराका कारण सडकमा काम गर्न सकिने अवस्था नरहने हुँदा बर्सेनि यात्रीले सास्ती खेप्दै आउनुपरेको दानाका श्याम विकले बताए ।

भीरकाटे र बादरजुङे भीरमा सडक बनाउन नयाँ प्रविधि भित्र्याउन सडक विभागले अध्ययन गरेको थियो । सुरुङ र हाफ ब्रिजप्रविधि प्रयोग गर्ने विकल्पमा सम्भाव्यता अध्ययन भएको बताइए पनि काम सुरु हुन नसकेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । बेनी-जोमसोम-कोरला सडकलाई गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको छ ।

यो सडक कालोपत्र भएमा म्याग्दी र मुस्ताङमा पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूणर् योगदान पुग्ने प्रतिनिधिसभाका निवर्तमान सदस्य प्रेमप्रसाद तुलाचनले बताए । उनका अनुसार २०६४ सालदेखि नै यस सडकको अवस्था सुधार्ने धेरै प्रयास भए पनि संवेदनशील भूगोल र परम्परागत प्रविधिको प्रयोगका कारण सडकको अवस्था जस्ताको त्यस्तै रहेको छ ।

कूल ७६ किलोमिटरको बेनी-जोमसोम सडकमा चार प्याकेजसहित निर्माण कार्यलाई अघि बढाइएको भए पनि निर्माण कम्पनीले कार्यक्षेत्रमा उल्लेख्य मात्रामा उपकरण र जनशक्ति परिचालन गर्न नसकेको गुनासो सुनिदै आएको छ । न्यून कामदार र उपकरण प्रयोग गरेर ठेकेदार कम्पनीले सडक स्तरोन्नति कार्यमा हेलचक्र्याइँ गरिरहेको गुनासो बढ्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख ईन्द्र नेपालीका अनुसार जलेश्वर, राहुघाट, बैसरी, नौनीबगर, जलथले, रुप्से र काभ्रेभिरको पहिरोले बेनी-जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या भएको हो ।

‘कुन ठाउँमा कति बेला पहिरो खस्छ थाहै हँुदैन’, उनले भने, ‘खसेको पहिरो पन्छाउँदै सवारीसाधनलाई गन्तव्यमा पठाउँदै गरिएको छ ।’ राहुघाटमा पहिरो खसेर सडक साँघुरिने र हिलोमा फस्ने समस्या छ । बैसरीमा सडक माथिबाट केही दिनयता निरन्तर पहिरो झरिरहेको छ । पहिरो खस्न रोकिएको समयमा सवारीसाधन पार गराउने गरिएको छ ।

अन्नपूणर् गाउँपालिकाको नौनीबगर, जलथले, रुप्से र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा पनि पहिरोको समस्या छ । भीरालो र कमजोर भूगोल भएको म्याग्दी खण्डमा विस्तार गरिएको सडक भत्किएर हिलाम्मे बनेको छ । कालोपत्र गर्ने तयार भएको सडक पनि पहिरोले साघुरिएको छ । कतिपय ठाउँमा ट्रक र ठूला बस एकतर्फी मात्र आवतजावत गर्न सक्छन् ।

बेनी-जोमसोम कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले सडक विभाग र ठकेदार कम्पनीका डोजरलगायत उपकरणलाई तयारी अवस्थामा राखेर पहिरो पन्छ्याउने र यातायात सञ्चालन गर्ने गरिएको जानकारी दिए ।

म्याग्दीको रुप्सेबाट मुस्ताङको घाँसासम्मको खण्डमा धेरै पहिराको समस्या देखिएको उनको भनाइ छ । दुई वर्षअघिको बाढीले रुप्से र घाँसाको खहरेखोलामा निर्माणाधीन पुलको जगनै बगाएको थियो । कागबेनीमा दिवङ्गत पितृलाई सोह्रश्राद्धमा पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने भक्तजनको चाप बढ्न थालेको छ ।

यसैगरी मुस्ताङ भ्रमणको याम पनि सुरु भएको छ । सडकको समस्याले मुस्ताङमा उत्पादन भएको स्याउ र आलुलगायत कृषि उपज निकासीमा समस्या भएको छ । बाढी पहिरोका कारण सो सडकखण्डको तीन ठाउँमा लेदोमाटोसहितको पहिरो आउन नरोकिएपछि ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको सर्वसाधारणको गुनासोे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP