शनिबार , भाद्र १३, २०८३

लन्डन । बेलायती इतिहासमा सबैभन्दा लामो समय शासन गरेकी दिवंगत महारानी एलिजाबेथ द्वितीयको राजकीय सम्मानका साथ आज (सोमबार) अन्त्येष्टि गरिँदै छ । अन्त्येष्टिका दिन सोमबार बेलायतमा सार्वजनिक बिदा दिइएको छ ।

ब्रिटिस राजारानीलाई राजमुकुट पहिराइने र गद्दी आरोहण गराइने ऐतिहासिक गिर्जाघर वेस्टमिन्स्टर आबीमा रानीको अन्त्येष्टि समारोह हुनेछ । सन् १९५३ मा महारानीको राज्यारोहण समारोह पनि यही गिर्जाघरमा भएको थियो । बेलायतकी महारानीको शव राखिएको शव पेटिका सोमबार बिहान स्थानीय समयअनुसार १०ः४४ बजे शाही नौसेनाको १२३ वर्ष पुरानो ‘गन क्यारेज’ मा राखेर वेस्टमिन्स्टर आबी गिर्जाघरमा लगिने बीबीसीले जनाएको छ ।

बेलायतका नयाँ राजा चार्ल्स तृतीय शवपेटिका पछाडि आफ्ना भाइ बहिनीहरूसँगै हिँड्नेछन् भने स्वर्गीय महारानीका नाति, नातिनीहरूले उनीहरूलाई पछ्याउने छन् । शवपेटिकाभन्दा अगाडि स्कटिस तथा आइरिस रेजिमेन्टहरू, ब्रिगेड अफ गोर्खाज् र रोयल एअर फोर्सका सैनिकहरू परम्परागत बाजा बजाउँदै हिँड्ने जनाइएको छ । बिहान ११ बजेदेखि राजकीय अन्त्येष्टि समारोह सुरु हुने बताइएको छ । ११.५५ बजे लास्ट पोस्ट बजाएपछि ब्रिटेनभर दुई मिनेट मौनधारण गरिनेछ । रानीका पाइपरले राष्ट्रिय गीत बजाएपछि अन्त्येष्टि समारोह टुंगिनेछ ।

महारानीको अन्तिम संस्कार विन्ड्सरस्थित किङ जोर्ज सिक्स्थ मेमोरिअल च्यापलमा हुने बताइएको छ । उनका पति फिलिपसँगै उनलाई समाधिस्थ गरिनेछ । महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा गत सेप्टेम्बर ८ मा स्कटल्यान्डस्थित बाल्मोरल दरबारमा निधन भएको थियो ।

अन्त्येष्टि समारोहमा विश्व नेताहरू, बेलायती राजनीतिज्ञ, च्यारिटी संस्थाका प्रतिनिधि आदि गरी करिब २ हजार सहभागी हुने अपेक्षा छ । स्वर्गीय महारानीको अत्येष्टि समारोहमा भाग लिन विश्व नेताहरू लन्डन आइपुगेका छन् । विश्व नेताहरू एकैपटक बेलायतमा भेला भएको यो दशकौं पछिको संयोग हो ।

बेलायत सरकारले विश्वका राष्ट्रप्रमुख तथा वरिष्ठ सरकारी अधिकारी गरी झण्डै ५ सय जना पाहुनालाई आमन्त्रण गरेको छ । महारानीप्रति श्रद्धाञ्जली अर्पण गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन शनिबार राति लन्डन आइपुगेका छन् ।

त्यसैगरी, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजी, न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्दा आर्डन, भारतकी राष्ट्रपति द्रोपदी मुर्मु, चीनका उपराष्ट्रपति वाङ चिसान, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना लन्डन आइसकेका छन् । जापानका नरेश, स्पेनका राजारानी, बेल्जियमका राजारानी, स्पेनका पूर्वराजा, नेदरल्यान्ड्सका राजारानी, डेनमार्ककी रानी र राजपरिवार, स्विडेनका राजारानी, नर्वेका राजारानी, भुटानका राजा, ब्रुनाईका सुल्तान, जोर्डनका राजा, कुवेतका युवराज, लेसोथोका राजा, मलेसियाका सुल्तान, कतारका अमिर, ओमानका सुल्तान आदि आमन्त्रित पाहुना हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP