मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँग पार्टी एकता गरेर कम्युनिस्ट आन्दोलन एकीकृत गर्न खोजे पनि प्रचण्डले आफूलाई छुरा रोपेको आरोप लगाएका छन् ।

आज (बिहीबार) पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्डलाई आफूले सम्मानपूर्वक आफ्नै सिट छेउमा राखे पनि उनले ग्वाम्मै छुरी रोपेको टिप्पणी गरेका हुन् । ‘प्रचण्डको एउटा भिडियो हेर्नुभयो होला नि ! मैले त केपी ओलीलाई सदस्यबाट पनि निकालेको थिएँ भन्ने’, ओलीले भने, ‘निकालेकै हो । मैले प्रचण्डलाई आउनुस् मित्र एकीकृत पार्टी बनाऔं, बलियो वामपन्थी कम्युनिस्ट पार्टी बनाऔं, समाजवादतर्फ एकतावद्ध भएर अगाडि बढौ भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ ।’

ओलीले आफूले प्रचण्डको हात समाए पनि उनले लुकाउने गरेको स्मरण गरे । उनले थपे, ‘प्रचण्डलाई मैले मान सम्मानपूर्वक मेरो छेउमा राखेको थिएँ । एकतावद्ध भएर जाऔं भनेर मैले हात मिलाएको मात्रै होइन, अंगालो हालेको थिएँ । तर प्रचण्ड हात लुकाइलुकाइ हिँड्थे, म अलिअलि होशियार त थिएँ । नभन्दै मैले अँगालो मार्ने प्रचण्डले ग्वाम्मै छुरी रोपे ।’

उनले पार्टी सदस्यबाटै निकालेको भनेर उनले गर्व गरेको पनि बताएका छन् । ‘म एकता भन्ने प्रचण्ड मलाई साधारण सदस्यबाटै निकाल्ने कस्तो विषालु दाँत पालेर बसेको रहेछु ?’, ओलीले प्रश्न गर्दै भने, ‘कस्तोसँग एकता गरेको रहेछु ? मैले दिएको बरदान मेरै टाउकोमा राखेर भष्म पार्न खोज्ने ? त्यसरी हुन्छ आन्दोलन ?’

उनले गठबन्धनले देशलाई हरेक हिसावले अधोपतनतिर लगेको भन्दै यसबाट बचाउन एमाले बाहेक अरुले नसक्ने दावी गरे । उनले एमालेलाई हराउन सजिलो नभएकाले गठबन्धन गर्नुपरेको र अदालत समेत जानुपरेको भन्दै अभिमन्युलाई चक्रव्यूहमा पारे जस्तै एमालेलाई पार्न खोजे पनि नसक्ने बताए ।

ओलीले गठबन्धनका केही नेताहरु आफूलाई महारथी ठान्ने गरे पनि उनीहरुको कुनै हुति नभएको बताए । ‘गठबन्धनका कसैको पनि हुति हविगत छैन, एक्लै एमालेका अघि आउन सक्दैनन् । सामुन्ने आएर हेर्ने आँट गर्दैनन्’, ओलीले थपे, ‘हरेक दिन बसेका छन्, गठबन्धन, गठबन्धन, नेपाली जनतालाई सुन्नै मन नलाग्ने भइसक्यो गठबन्धन । विहानै गठबन्धन, बेलुकै गठबन्धन, नातावाद परिवारवाद, स्वार्थमा कुदेको गठबन्धन ।’

उनले एमाले प्रवेशको लहर चलिरहेको भन्दै आगामी निर्वाचनमा ५० लाख मत एमालेको पक्षमा आउनुपर्ने बताए । ‘अस्ति ३८ लाख मत एमालेको आयो, अब छोड्नुस् त्यो ३८ लाख केही होइन । अब ५० लाख पुर्याउनुपर्छ’, ओलीले नेता कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP