मंगलबार , बैसाख २९, २०८३

चितवन। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोग कसैको गोटी बन्न नसक्ने स्पष्ट पारेका छन् ।

मंगलबार चितवनमा पत्रकारसँगको अन्तर्क्रियामा बोल्दै अध्यक्ष प्रचण्डले आयोगले नेकपाको बहुमत केन्द्रीय कमिटीलाई मान्यता दिनैपर्ने बताएका हुन् ।

प्रचण्डले आयोग आफैले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई मान्यता दिएका कारण त्यसको बहुमतलाई मान्यता दिनैपर्ने जिकिर गरेका हुन् । उनले भने, ‘निर्वाचन आयोग कसैको गोटी होइन, हुन हुँदैन । बहुमतलाई मान्यता दिन्छ भन्ने लाग्छ ।’

संविधानलाई डिरेल गर्न खोजिएकोले त्यसलाई ट्रयाकमा ल्याउन आन्दोलन आवश्यक रहेको प्रचण्डले उल्लेख गरे । उनले अदालतले संसद पुनर्स्थापना गर्नेमा विश्वास व्यक्त गर्दै असंवैधानिक र अलोकतान्त्रिक कदममार्फत् चुनाव गर्न खोजिए त्यस्तो चुनावले पनि देशको समस्याको हल नगर्ने उनले बताए । यही अवस्थामा चुनाव भए देश अराजकताको भूमरीमा पर्ने प्रचण्डले ठोकुवा गरे ।

‘केही दिन भित्रमा अदालतबाट फैसला आउँदैछ, पुनर्स्थापना हुन्छ’ प्रचण्डले भने, ‘कोही प्रधानमन्त्री भए उसलाई फेरि संसद विघटन गर्ने अधिकार पहिल्यै हुन्छ । त्यस्तो दुष्कर्म हामीले गर्न हुँदैन त्यसपछि त संविधानवाद भन्ने कुरा सकियो ।’

नेकपा अध्यक्ष प्रचण्डले संविधान मिच्ने कामलाई जनताले चुप लागेर नसहने स्पष्ट पारे । अहिले आफुहरुले गरेको आन्दोलन राष्ट्र, संविधान र लोकतन्त्रको निम्ति रहेको जिकिर गरे । उनले संयुक्त आन्दोलन गर्ने भन्ने प्रयास भइरहेको पनि बताए । ‘शेरबहादुरजी, रामचन्द्रजी र जसपाका नेताहरुसँग कुरा भइरहेको छ केही दिनमा सुरू हुन्छ भन्ने लाग्छ,’ उनले भने ।

प्रचण्डले ओली सूमहमै रहेका ९० प्रतिशत सांसद समेत संसद विघटनको विपक्षमा रहेको दाबी गरे । ‘तत्कालै गुट छोड्न नसकेपनि उहाँहरुलाई छुट्टाछुट्टै भेटेर सोध्नुहोला, विघटनको पक्षमा हुनुहुन्न,’ उनले भने ।

फरक प्रसंगमा अध्यक्ष प्रचण्डले माडीमा राम जन्मिएको पुष्टि भए सबभन्दा बढी खुसी आफू नै हुने बताए । तर, त्यसका लागि पहिले पुरातत्व अन्वेषणबाट राम जन्मिएको पुष्टि गरिनु पर्ने उनले स्पष्ट पारे । ‘पुरातत्व अन्वेषणबाट त्यो प्रमाणित भयो मेरो निर्वाचन क्षेत्रमा अयोध्या हो, मेरै निर्वाचन क्षेत्रमा राम जन्मिएको हो भन्ने पुष्टि भयो, त्यसलाई स्थापित गर्न सकियो भने नेताहरूमध्ये सबैभन्दा खुसी मेरै भागमा पर्छ नि त। म त्यसको किन विरोध गर्ने?’

गत माघ १७ गते चितवनमा गरिएको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमिबारे प्रचण्ड नबोलेको आरोप लगाएका थिए । ओलीले रामको जन्मभूमि अयोध्यापुरी हो भन्न प्रचण्डलाई कसले रोक्यो भन्ने प्रश्न गरेका थिए।

प्रचण्ड प्रधानमन्त्री ओलीले राम मन्दिरको कुरा राजनीति गर्नका लागि र प्रचण्डको राजनीति सिध्याउने अभियानका लागिमात्रै गरेको आरोप लगाए । ‘मेरो चुनौती के हो उहाँलाई भने तपाईं त्यस्तो कुरो त बडो ब्लफ दिनुभएको छ, पुरातात्विक अन्वेषण गरेर त्यसलाई स्थापित र प्रमाणित गर्न तपाईंले के गर्नुभो ? त्यहाँचाहिँ एउटा माखो नमार्ने, सिन्को नभाँच्ने, होहल्लाचाहिँ ठूलो गर्ने?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP