मंगलबार , बैसाख २९, २०८३

दार्चुला । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरोले घरवारविहीन भएका परिवारलाई बासको समस्या भएको छ ।

पीडितहरू अहिले नेपाल रेडक्रस सोसाइटी र जिल्ला समन्वय समितिको भवनमा आश्रय लिइरहका छन् । पीडितलाई खानाको समेत समस्या भएपछि महाकाली नगरपालिका र नेपाल रेडक्रस सोसाइटीले दाल, चामल, नुन वितरण गरेका छन् ।
बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ । लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको हो । पहिरोका कारण नौगाड गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ । मृत्यु भएका पाँच जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा नौगाड गाउँपालिकाका तीन र महाकाली नगरपालिकाका दुई छन् । सात जना अझै बेपत्ता छन् । बेपत्ता सबै सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिकाका छन् । बाढी पहिरोमा परेर मृत्यु हुनेमा महाकाली नगरपालिका-२ मुल्लाका ७७ वर्षीय नन्दराम बोहरा, महाकाली-३ डुङरीकी ३५ वर्षीया मानमति कार्की, नौगाड गाउँपालिका-१ की ३५ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना तथा नौगाड-२ का ४५ वर्षीय मोहनराम पार्की रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

पहिरोमा परी गम्भीर घाइते भएकाहरूको नेपाली सेनाको एयर एम्बुलेन्समार्फत उद्दार गरिएको छ । सुर्खेतबाट आएको एयर एम्बुलेन्समार्फत नौगाड गाउँपालिका-१ सल्लाका ४५ वर्षीय बिरेन्द्र ठगुन्ना, ४० वर्षीय जयबहादुर ठगुन्ना, ३५ वर्षीय फागुनी ठगुन्ना, सोही ठाउँका ३० वर्षीय रम्भा देवी ठगुन्ना र ३० वर्षीय देव सिंह ठगुन्नालाई उद्दार गरी सदरमुकाम खलंगा ल्याएको नेपाली सेनाको गुरु गोरख गुल्म दार्चुलाले जनाएको छ ।

उनीहरूलाई हेलिकप्टरमा नौगाडबाट खलङ्गा हुँदै केही बेर अघि कैलालीको धनगढी लगिएको सहायक प्रजिअ हेमन्ती साउदले जानकारी दिएका छन् । जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि चारै जनालाई धनगढी लगिएको उनले बताए । चार जनाको अवस्था चिन्ताजनक रहेको उनको भनाइ छ ।

सात बेपत्ता

बाढी पहिरोमा परेर सातजना बेपत्ता भएका छन् । बेपत्ताको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले खोजी गरिरहेका छन् । बेपत्तामा महाकाली-३ डुङरीका धनसिंह कार्की तथा उनका छोराहरू दीपक र दिनेश तथा अन्य चार जना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

पहिरोले नौगाडमा १२ घर पूर्ण क्षति भएको छ भने महाकाली नगरपालिका-४ बंगाबगडमा १५ घर महाकालीमा बगेका छन् ।
पावर हाउस र जेसीभी पनि बगायो
बाढीले दार्चुलाको डुङ्रेखोलामा रहेको पावर हाउस बगाएको छ । निर्माणाधीन खार खलङ्गा सडकमा प्रयोग भएको जेसीभी बगाएको छ ।

महाकाली नदी र लास्कु खोलामा आएको बाढीले खलङ्गा हुँदै दुहुँ व्यास जोड्ने सडक अवरुद्ध बनेको छ । दार्चुलाको व्यास गाउँपालिका, दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका मानिसहरूले आवतजावत गर्ने लास्कु खोलाको झोलुङगे पुल बगाएको छ ।

दार्चुला तिङ्कर सडकअन्तर्गत रिङ्गलतालदेखि कलौनभीरसम्म सडक अवरुद्ध भएको छ । दुहुँ गाउँपालिका र महाकाली नगरपालिका जोड्ने यो सडक बगाएपछि यो क्षेत्रमा आवतजावतमा समस्या भएको छ ।

महाकाली तटबन्ध हुँदै निर्माण गरिएको दार्चुला तिङ्कर सडक पूणर्रुपमा क्षति भएको छ। लास्कु खोलामा निर्माण गरिएको मोटेरबल पुल र झोलुङ्गे पुल बगाएको छ । पुल नहुँदा वारपार गर्न सकिने अवस्था छैन । महाकाली-४ बंगाबगड हुँदै वडा नम्बर १ छापरी जाने पुल बगाएको छ। दार्चुला तिङ्कर सडकमा राति पार्किङ गरी राखिएका जिप महाकालीले बगाएको स्थानीय चक्रबहादुर बमले बताए । बमका अनुसार पाँचवटा जीप, एउटा ट्याक्टर र एउटा ट्रली बगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP