शनिबार , भाद्र १३, २०८३

काठमाडौं । सत्तारुढ गठबन्धनबीच चुनावमा सिट बाँडफाँटको टुंगो लगाउन बनेको कार्यदलको बैठक आज (बिहीबार) पनि बस्ने भएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । आजको बैठकले कार्यदलमा सहमति जुटेका विषय समेटेर प्रतिवेदन तयार गर्नेछ । कार्यदलले बुधबारबाटै प्रतिवेदन लेख्न थालेको हो ।

प्रतिवेदनलाई अन्तिम रूप दिएर आजै शीर्ष नेताहरूलाई बुझाइने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जाकारी दिएका छन् । सिट बाँडफाँट करिब-करिब टुंगिएको र शीर्ष नेतालाई प्रतिवेदन बुझाएपछि संख्या सार्वजनिक गरिने कार्कीले बताएका छन् ।

सिट बाँडफाँटमा सहमति जुटाउन गत २० साउनमा कार्यदल गठन गरिएको थियो । तर कार्यदल सहमति जुटाउन ठोस रुपमा सफल हुन सकेको छैन ।

गठबन्धनमा नेपाली कांग्रेसले १००, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादीले २५ र राष्ट्रिय जनमोर्चाले २ क्षेत्रमा दाबी गर्दै आएको छ । सिट बाँडफाँटमा कांग्रेस लचिलो भएर ८६ सिटमा झन तयार देखिए पनि यसमा पनि सहमति भइसकेको छैन ।

एक महिना गृहकार्य गर्दा पनि सिट बाँडफाँडको आधार, मोडालिटी र संख्या पूर्ण रूपमा टुंग्याउन नसकेपछि गठबन्धन कार्यदलले शीर्ष नेतृत्वलाई अधुरो प्रतिवेदन बुझाउँदै छ । मिलेका विषय टुंग्याएर नमिलेका विषयमा विकल्पसहित कार्यदलले शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउन लागेको हो । प्रतिवेदन बुझाउनुअघि बिहीबार बिहान कार्यदल बैठक बस्दै छ ।

कार्यदलका एक सदस्यका अनुसार बुधबारसम्म करिब ९० सिटमा सहमति जुटेको छ । अन्य सिटमा कतै दोहोरो त कतै तेहेरो दाबी छ । ‘एक सय ६५ प्रतिनिधिसभा क्षेत्रमध्ये ९० क्षेत्रको बाँडफाँड करिब टुंगिएको छ । करिब १० स्थानमा दोहोरो र करिब १५ स्थानमा तेहेरो दाबी छ । र, बाँकी क्षेत्र कुन क्षेत्र कसले लिने भन्ने टुंगिन सकेको छैन,’ कृष्ण सिटौला संयोजकत्वको सिट बाँडफाँडसम्बन्धी कार्यदलका एक सदस्यले भने ।

कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेका कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन् ।

यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरू पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP