
सुनसरी ।नेपाली कांग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सुनसरी-४ बाट सर्वसम्मत सिफारिस भएका छन् । कांग्रेस सुनसरी ४ को प्रदेश र प्रतिनिधि सभा निर्वाचन कार्यसमितिले कार्कीको सर्वसम्मत सिफारिस गरेको हो ।
०७४ को निर्वाचनमा बाम गठबन्धनका बाबजुद कार्की कांग्रेसका २३ जना मध्ये सर्वाधिक मतानन्तरले विजयी भएका थिए । कार्कीले वाम गठबन्धनका उम्मेदवार रमेश श्रेष्ठलाई ६ हजार ५९७ मतान्तरले पराजित गरेका थिए ।
तत्कालीन अर्थमन्त्री समेत रहेका कार्कीले ३२ हजार ३४७ मत पाउँदा श्रेष्ठले २५ हजार ७५० मत पाएका थिए । यस पटक उनी पाँच दलीय गठबन्धनबाट सुनसरी- ४ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने निश्चित जस्तै छ ।
सरकार प्रवक्ता तथा गठबन्धन कार्यदल सदस्य कार्कीको निर्वाचन क्षेत्रमा स्थानीय तह चुनावमा कांग्रेसले पालिकास्तरमा क्लिन स्वीप गरेको थियो ।