
काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले दलीय दबाबले उपत्यकाका अतिक्रमण हटाउन नसकेको बताएकी छिन् ।
शुक्रबार सामाजिक सञ्जालमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई समर्थन गर्दै दलीय दबाबका कारण रोकिनु परेको बताएकी छिन् ।
फेसबुकमा ९ बुँदे आग्रह अपडेट गर्दै नेता झाँक्रीलाई मेयर शाहले आफूले जस्तो दलीय दबाब व्यहोर्न नपर्ने तर्क गरेकी छिन् । झाँक्रीले अनधिकृत संरचनामा डोजर लगाउने मेयर शाहको कदमलाई समर्थन गर्दै अगाडि गर्नुपर्ने कामहरूको सूचि पनि प्रस्तुत गरेकी छिन् ।
झाँक्रीले वाग्मती करिडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसके पनि पछि चुनाव आएको छ भनेर रोकिएको बताइन् । उनले भनेकी छिन्, ‘मैले वाग्मती करिडोरका ४१ वटा अतिक्रमित संरचना हटाइसकेको थिएँ। निर्वाचन आएकोछ यसले नगरौँ भन्ने दबाब आयो र स्थगन गर्न पर्यो । स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरि हटाउन सुरू भएको थियो। मेरो कार्यकाल लामो रहेन।मेयर बालेनजी र मैले केही योजना बनाएका थियौं।’
उनले इमान्दार प्रयासहरू सफल हुने उल्लेख गर्दै आफूलाई जस्तो बालेनलाई दलीय दबाब नहुने बताएकी छिन् । उनले अगाडि भनेकी छिन्, ‘मलाई जस्तो दलीय दबाब मेयर बालेनजीलाई हुँदैन। ‘