मंगलबार , बैसाख २९, २०८३

काठमाडौं । नेपाली कांग्रेसका विचारक नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधन भएको छ । तीन सातादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत उनको शनिबार राति ९ः३० बजे निधन भएको हो । क्यान्सर र निमोनियाबाट उत्पन्न स्वास्थ्य समस्याका कारण ७५ वर्षको उमेरमा उनको निधन भएको हो ।

गत वर्ष घाँटीमा क्यान्सर देखिएपछि उनलाई उपचारका लागि मुम्बईस्थित हिन्दुजा अस्पताल लगिएको थियो । करिब एक वर्षसम्म गरिएको उपचारबाट पनि सन्तोषजनक नतिजा नआएपछि परिवारले उनलाई नेपाल फर्काएको थियो । साउन ८ गते नेपाल आउना साथ क्यान्सरकै कारण उत्पन्न विभिन्न समस्यासँगै निमोनिया समेत देखिएपछि साउन १० गते उनलाई मेडिसिटीमा भर्ना गरिएको थियो ।

गिरी कांग्रेसभित्रका बौद्धिक नेता र समाजवादी चिन्तकका रुपमा परिचित थिए । १९४७ नोभेम्बरमा जन्मेका गिरी २०१७ सालदेखि राजनीतिमा सक्रिय रहँदै आएका थिए । २०२४ सालमा बनारसमा गठित नेपाल छात्र संघको उपाध्यक्ष भएका गिरी कांग्रेसको १० औं महाधिवेशनपछि केन्द्रीय सदस्य छन् । सिरहालाई राजनीतिक क्षेत्र बनाउँदै आएका गिरी त्यहीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा प्रत्यक्षतर्फका सदस्य हुन् ।

राजाको सक्रिय शासनको अन्त्य र प्रजातन्त्र पुनर्बहालीको पक्षमा सक्रिय हुँदा २०२५ सालमा १८ महिना जेल परेका थिए । २०४२ सालको आन्दोलनका क्रममा पनि उनले जेल जीवन भोगे । राजनीतिक विश्लेषक तथा समाजवादी चिन्तक गिरीका झण्डै दुई दर्जन पुस्तक प्रकाशित छन् । उनले बिपी कोइरालाको सान्निध्यमा रहेर काम गरेका थिए । कांग्रेसजनले मात्र नभएर अन्य राजनीतिक दलका कार्यकर्ताले पनि उनलाई बिपीको समाजवादी चिन्तनको सच्चा व्याख्याता रूपमा सम्मान गर्छन् ।

बौद्धिक र गान्धीवादी नेताका रूपमा परिचित गिरी माक्र्सवादका अध्येता र चिन्तक पनि थिए । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रका स्नातकोत्तर गरेका उनी समाजवादी चिन्तकको छवि बनाएका नेता पनि हुन् । मुलुकमा देखा परेका विकृति-विसंगतिप्रति स्पष्ट धारणा राख्ने उनी निर्भीक नेता थिए ।

सामाजिक सञ्जालहरूमा श्रद्धाञ्जली दिनेहरूले उनको निधनले नेपाली कांग्रेसलाई मात्र नभएर देशलाई नै अपूरणीय क्षति भएको उल्लेख गरेका छन् । शनिबार राति निधन भएका कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । नेपाली कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले शनिबार राति जारी गरेको शोक वक्तव्यमा आइतबार श्रद्धाञ्जली कार्यक्रम सकिएपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने उल्लेख छ ।

विश्वकर्माले गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने छ ।
त्यसअघि बिहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पतालको शिवालयमा पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिने विश्वकर्माले बताएका छन् । त्यसपछि पार्थिव शरीर कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिनेछ । बिहान साढे ११ बजेदेखि २ बजेसम्म श्रद्धाञ्जलीका लागि सानेपामा राखेपछि अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP