बिहिबार , बैसाख १८, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रको महासचिव पदका लागि लामो समयदेखि जारी खिचातानी अन्त्य गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता देव गुरुङलाई रोजेका छन् ।

महाधिवेशन सम्पन्न भएको करिब आठ महिना बितिसक्दा पनि आकांक्षीद्वय वर्षमान पुन अनन्त र जनार्दन शर्माबीच सहमति जुट्न नसकेपछि त्यसको विकल्पमा गुरुङलाई महासचिवको जिम्मेवारी दिने निष्कर्षमा प्रचण्ड पुगेका हुन् । तर, यसमा प्रचण्डको चाहना मात्रै नभएर स्थायी कमिटीले तय गरेको पछिल्लो मापदण्डका कारण गुरुङ महासचिव बनेका हुन् ।

पार्टी कार्यालय, पेरिसडाँडामा शनिबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले गुरुङलाई महासचिव प्रस्ताव गरे । उनले अरु दाबेदारलाई उपमहासचिवमा व्यवस्थापन गरेका छन् । गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादव उपमहासचिव भएका छन् ।

प्रचण्डको पूर्व घोषणाअनुसार नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष भए । उपाध्यक्षमा ल्याउने भनिएका दिनानाथ शर्मा र गणेश साह सचिव भएका छन् । उनीहरुसँगै चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की पनि सचिव भएका छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल छन् ।

गुरुङ हालको माओवादी केन्द्रभित्र वरियताका हिसाबले चौथो नम्बरमा पर्दछन् । उनीभन्दा अगाडिका नेताहरू सबैको जिम्मेवारी तोकिसकेको हुँदा गुरुङको पोल्टामा महासचिव पद पुगेको एक नेताले बताए ।

‘आकांक्षी दुवै जनाबीच सहमति नजुटेपछि हामीले बनाएको नयाँ मापदण्डमा वरिष्ठतालाई आधार बनाउँ भन्ने भयो,’ ती नेताले भने, ‘त्यसमा देव गुरुङ चौथो नम्बरमा पर्नुहुन्छ । उहाँलाई बनाउँ भन्ने प्रस्ताव आउँदा कसैबाट पनि विमति भएन ।’

यसमा महासचिवका आकांक्षी पुन र शर्माको पनि सहमति रह्यो । आफू महासचिव नहुने अवस्थामा निकट प्रतिद्वन्द्वीलाई रोक्न उनीहरु दुवै चाहन्थे । लामो समयदेखि पुन र शर्माका कारण पदाधिकारी चयनमा ढिला भएको भनेर आलोचना हुन थालेपछि दुवै जना एकले अर्कालाई नस्वीकार्ने तर आफू छोड्न तयार भएको संकेत प्रचण्डलाई गरेका थिए । केही समयअघि नै यो संकेत गरेपछि पम्फा भुसाल र शक्ति बस्नेतलाई प्रचण्डले महासचिव बनाउन सक्ने आँकलन भइरहेको थियो ।

पदाधिकारी चयन गर्न नसकिने अवस्था बनेपछि प्रचण्डले अघिल्लो वर्षको पुसमा सम्पन्न पार्टीको आठौं महाधिवेशनलाई पदाधिकारी विहिन केन्द्रीय कमिटी देखाएर समापन गरेका थिए ।

महाधिवेशन एक हप्तासम्म लम्बिँदा पनि पदाधिकारीको टुंगो लगाउन नसकेपछि प्रचण्डले अध्यक्षको जिम्मेवारी समेत त्यसको भोलिपल्ट पार्टी कार्यालयमा केन्द्रीय समिति बैठक आयोजना गरेर लिएका थिए ।

आकांक्षी नेताहरूका बीचमा सहमति बनाउने जतिसुकै कोशिस गर्दा पनि असफल भएपछि प्रचण्डले अन्ततः त्यसको विकल्प खोजेका छन् । र त्यसको लाभ सशस्त्र युद्ध सुरु गर्दा बनेको माओवादीको केन्द्रीय समितिका १९ जनामध्येका एक देव गुरुङले प्राप्त गरेका छन् ।

सशस्त्र युद्ध सुरु गर्दा २०५२ सालमा गुरुङ पार्टीको केन्द्रीय सदस्य थिए । केन्द्रीय समितिभन्दा माथि ६ जनाको पोलिटब्यूरो थियो । जसमा प्रचण्ड महामन्त्री थिए भने मोहन वैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा, पोष्टबहादुर बोगटी र सीपी गजुरेल थिए ।

@onlinekhabar

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १८, २०८२ बिहिबार 44 Views

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP