मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसनिकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनमा पार्टीमा मौलाएको गुटगत बाछिटा देखिएको छ। नवौँ महाधिवेशन नजिकिँदै गर्दा प्रेस युनियनमा पार्टीमा प्रष्ट रुपमा देखिएका दुई समूह संस्थापन र संस्थापन इतर छुट्टाछुट्टै निर्वाचनमा जाने निश्चित भएको छ।

साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौँडामा हुने महाधिवेशनमा नयाँ नेतृत्वका लागि प्रधानमन्त्री शेरबहादुर देउवानिकट पत्रकारहरुले अध्यक्षका लागि अनिता विन्दुलाई अघि सारेका छन्। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा विन्दुलाई अध्यक्षका रुपमा अघि सार्ने निर्णय भएको हो।

संस्थापन समूहले उम्मेदवारी टुंग्याउन अध्यक्ष बद्री सिग्देलसहित पूर्वअध्यक्ष समिरजंग शाह, डा. सुरेश आचार्य, डा. नवराज लम्साल र नेपाल पत्रकार महासंघका उपाध्यक्ष रमेश विष्टको नेतृत्वमा कार्यदल गठन गरेको थियो।

कार्यदलले संस्थापनबाट अध्यक्षमा आकांक्षा राखेका मध्येबाट विन्दुको नाम अध्यक्षमा टुंगो लगाएको हो। नेपाल पत्रकार महासंघको पूर्वउपाध्यक्षसमेत रहेकी विन्दु नेपाल टेलिभिजनमा कार्यरत छन्।

कार्यदलले कोषाध्यक्ष सरोज अधिकारीलाई वरिष्ठ उपाध्यक्षमा, काठमाडौँ जिल्ला अध्यक्ष जगन्नाथ दुलाललाई महासचिवमा र केन्द्रीय सदस्य माधव धिताललाई कोषाध्यक्षमा उठाउने पनि निर्णय गरेको छ। संस्थापन समूहले उपमहासचिवमा केशव सावद र सचिवमा खगेन्द्र भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको कार्यदलका एक सदस्यले जानकारी दिए।

ती सदस्यले अन्य पदाधिकारीको नाम हटौडामा टुंगो लगाइने पनि जानकारी दिए। ‘अध्यक्षमा अनिता विन्दुको नाम टुंगो लागेको हो। उहाँले घोषणा सभा नै गरिसक्नुभएको छ। वरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी, महासचिवमा जगन्नाथ दुलाल र कोषाध्यक्षमा माधव धितालको नाम पनि तय भइसकेको छ,’ ती सदस्यले नेपालखबरसँग भने, ‘उपमहासचिवमा केशव सावद र सचिवमा खगेन्द्र भण्डारीको नाम पनि फिक्स हो। उनीहरुसँगै अन्य पदाधिकारीको नाम हेटौडामा घोषणा गर्छौँ।’

संस्थापन इतर समूहले भने बुधबारसम्म अध्यक्षसहितका पदाधिकारीको टुंगो लगाइसक्ने बताएको छ। इतर समूहबाट वरिष्ठ उपाध्यक्ष दिपक आचार्य र सल्लाहकार शिव लम्सालबीच आधिकारिक उम्मेदवारका लागि प्रतिष्पर्धा छ। यस्तै महासचिवमा सचिव खिला कार्की, केन्द्रीय सदस्यद्वय दिलिप पौडेल, रमेश वाग्ले र काठमाडौँका पूर्वअध्यक्ष नकुल अर्याल आकांक्षी छन्।

कांग्रेसको १४ औँ महाधिवेशनमा प्रधानमन्त्री देउवालाई सघाएका नेताहरुनिकट पत्रकारहरु पनि युनियनको संस्थापन इतर समूहमै देखिएका छन्। महासचिवका आकांक्षी कार्की वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर र वाग्ले सुजाता कोइराला निकट मानिन्छन् । त्यसैगरी अर्याल निवर्तमान महासचिव डा. शशांक कोइरालानिकट मानिन्छन्। अर्का आकांक्षी पौडेललाई महामन्त्री गगन थापाको साथ छ।

इतर समूहबाट वरिष्ठ उपाध्यक्षमा उपमहासचिव प्रेम केसीले आकांक्षा राखेका छन्। १४ औँ महाधिवेशनमा देउवालाई सघाएका अर्का नेता कृष्ण सिटौलानिकट मानिने पत्रकार लिलाराज खनालले पनि इतर समूहसँग सहकार्य गर्ने सम्भावना छ। उनी पनि वरिष्ठ उपाध्यक्षका आकांक्षी हुन्।

हेटौँडाको रोयल पार्टी प्यालेसमा हुने महाधिवेशन कार्यक्रमलाई प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको अध्यक्ष बद्री सिग्देलले जानकारी दिए। उनले पार्टीका अन्य नेतासँगै मन्त्रीहरुलाई पनि आमन्त्रण गरिएको बताए।

सिग्देलका अनुसार युनियनको महाधिवेशनका लागि आवास, भोजन, अधिवेशनस्थल व्यवस्थापनलगायतका तयारी पूरा भइसकेको छ। आवासका लागि हेटौँडा, मकवानपुरगढी, अम्लेखगञ्ज र सौराहाका होटल बुकिङ गरिएको छ।

महाधिवेशनमा देशभरका करिब १ हजार ६०० भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ।

साउन ६ गते उद्घाटन हुने महाधिवेशनले युनियनको नयाँ कार्यसमिति चयन गर्ने छ। महाधिवेशन सम्पन्न गर्न युनियनले केन्द्रीय सदस्य एवं बागमती प्रदेश संयोजक राममणि दाहालको संयोजकत्वमा स्थानीय समन्वय समिति गठन गरेको छ।

आवास व्यवस्थापन समिति संयोजकको जिम्मेवारीमा रुपेश दुलाल, भोजन व्यवस्थापनमा सुजन विडारी, पोष्टराज अधिकारीको संयोजकत्वमा सचिवालय व्यवस्थापन र प्रचारप्रसार केशव समपर्णको नेतृत्वमा भइरहेको बताइएको छ।

महाधिवेशन सम्पन्न गर्नका लागि युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। स्वागत सत्कार समिति संयोजकमा उपाध्यक्ष ईश्वरी ओझा, विधान मस्यौदा संशोधन समितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष दीपक आचार्य रहेका छन्।

प्रस्तावित विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्षसँगै खुल्ला २, महिला १, समावेशी १, सात प्रदेशबाट प्रतिनिधित्व गर्ने ७ र उपत्यकाबाट १ गरी ८ उपाध्यक्ष, महासचिव १, खुल्ला ३, महिला २, समावेशी १ गरी ६ उपमहासचिवको व्यवस्था गरिएको छ।

यस्तै विधानमा खुल्ला ३, महिला २, जनजाति १, मधेसी १, दलित १, खसआर्य १, थारु १, पिछडिएको क्षेत्र १ गरी ११ सचिव र १ कोषाध्यक्ष रहने व्यवस्था गरिएको छ।

@Nepalkhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP