शुक्रबार , भाद्र १२, २०८३

सर्वोच्च अदालतमा दायर गरेको मुद्दा आफ्नो पक्षमा नआएपछि नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेललाई संकट आइलागेको छ । अब धीरजप्रताप सिंहलाई आईजीपी स्वीकारेर चुपचाप काममा फर्किने कि राजीनामा दिने भन्ने दुई विकल्प उनीसामु आइपरेको छ ।

उनी तत्काल के गर्ने भन्ने निष्कर्षमा पुगिसकेका छैनन् । हाल निकटस्थ र पारिवारसँगकै छलफलमै आफू रहेको पोखरेलको भनाइ छ । आईजीपीविरुद्ध तपाईँले दायर गरेको मुद्दा खारेज भएसँगै अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले आफू अहिले छलफलमै रहेको र श्रीमती पनि बाहिर भएकाले उनी फर्किएपछि आपसी सल्लाह गरेर आइतबार वा सोमबारसम्मका उपयुक्त निर्णय लिने बताए ।

‘श्रीमती पनि बाहिर गएको छ । म आइतबार सोमबारसम्ममा सल्लाह गरेर निर्णय लिन्छु’, उनले भने । उनले रातोपाटीसँग अगाडि भने, ‘काममा फर्किन पनि सक्छु । तर, काममा फर्किने कि राजीनामा दिने भन्नेमा एकिन भने भएको छैन । सल्लाह गरेर निर्णय लिन्छु ।’

उनले सर्वोच्च अदालतको फैसलामा आफनो केही पनि प्रतिक्रिया नरहेको बताए । सर्वोच्चका प्रवक्ता विमल पौडेलले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले पोखरेलको मुद्दा खारेज गर्ने फैसला गरेको जानकारी दिए । यस्तै यसअघि तीन डीआईजीले दायर गरेको मुद्दा पनि खारेज गर्ने फैसला भएको छ ।

आईजीपी नियुक्ति विरुद्धको मुद्दामा शुक्रबार विश्वराज पोखरेल पक्षका वकिलहरूले जवाफी बहस गरेसँगै फैसला आएको थियो । मुद्दामा शुक्रबार निवेदक एआईजी पोखरेलको तर्फबाट वकिलहरू सतिशकृष्ण खरेल, रमेश बडाल, राधेश्याम अधिकारी, ललितबहादुर बस्नेत, हरिहर दाहाल, सुनिल पोखरेल, पूर्णमान शाक्य र कृष्णप्रसाद भण्डारीले जवाफी बहस गरेका थिए ।

कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा शुक्रबार आईजीपी नियुक्तिसम्बन्धी मुद्दा पाँचौँ पटक सुनुवाइ भएको थियो । संयुक्त इजलासमा जेठ ३०, असार ५, १३ र १९ मा आईजीपी विवादबारे सुनुवाइ भैसकेको थियो । वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

पोखरेलले आफू आईजीपी हुन नपाएपछि लामो बिदा लिएका थिए भने बिदा सकिएपछि पनि उनले पुनः बिदा स्वीकृत गराउन चाहेका थिए । तर, उनको बिदा स्वीकृति भएको थिएन । बिदा स्वीकृत नभएपनि उनी कार्यालय भने गएका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP