शनिबार , चैत्र २२, २०८१

मेरो भलिबल यात्र

सन २०१७ मे महिनाको २३ तारिखका दिन नेपाल सरकारले एउटा यस्तो बिषयको घोषणा गरिदियो जसले लाखौ नेपाली युवाहरु खुशी भए र ती मध्ये म पनि एक हुँ , त्यो बिषय थियो नेपालको राष्ट्रीय खेल भलिबल घोषणा।
म सानैदेखि भलिबल भनेपछि भुतुक्कै हुनेथिए। त्यतीबेला गॉउको ठुला दाईहरु खेलेको देख्दा कहिले आफुठुलो भईएला र मजाले भलिबल खेल्न पाईएला भन्ने मनमा लागिरहन्थ्यो।हामी जस्ता साना फुचेहरु कोर्टको वरीपरी हुन्थ्यौ र बल कोर्टबाट बहिर आयो भने टिप्नको लागि तछाडमछाड हुन्थ्यौ, जसले बल पायो उसले मजाले हिर्काएर कोर्टतिर फर्काउने गर्थ्यौ । त्यही पाखा लागेको बल मात्र छुन पाईन्छ कि भनेर हामी खेल नसके सम्म चौरको वरिपरि नै हुन्थ्यौ र त्यो नै मेरो पहिलो भलिबल यात्राको सुरुवात हो भन्न रुचाउछु। साथै हिउदमा बालि भित्राईसकेपछि खालि खेतमा तिहारमा तारेको तोरणको टुक्राको नेट र झुम्राको बल ( थोत्रा मोजामा कागज कोचेर बनाईएको) खुब खेलिन्थ्यो जसले भलिबलको जग राम्रै बसेको जस्तो लाग्छ।

उमेर बढ्दै गएपछि कक्षा ६/७ मा पढ्नेबेलातिर बिस्तारै दिउसो ब्रेक समयमा स्कुलमा र अरुबेला गॉउमा पनि सॉच्चीकै कोर्टमा भलिबल खेल्ने अबसर मिल्दै गयो। हरेक बर्ष फागुन ७ गतेको नजीक तिर बिधालयमा अन्तर सदन भलिबल प्रतियोगिता हुने गर्थ्यो, पहिलोपटक त्यही खेलबाट औपचारिक गेम खेलेको सॉझना छ।

मैले बाल्यकालमा अध्यन गरेको बिधालय श्री हर्पनकोट मा बि अहिलेको पोखरा महानगरपलिका को २३ नं वडामा पर्दछ जुन गॉउको नाम हो कुदबीडॉडा। बर्षेनी फाल्गुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा त्यहॉ मेला लाग्ने गर्थ्यो र मुख्य आकर्षण चाही खुला भलिबल प्रतियोगिता नै हुन्थ्यो। अहिले जस्तो धेरै प्रतियोगिता हरु नहुने हुदा खेलमा भागलिन पर्वत, कास्की र स्यॉग्जाका बिभिन्न गॉउहरुबाट टीमहरु आईपुग्थे।त्यो बेला सम्म मैले देख्न पाएको ठुलो खेलभनेकै त्यही थियो र मैले त्यहॉ देखेको तीनजना खेलाडिहरुबाट ज्यादै प्रभावित भए, उनीहरु थिए कुदवीडॉड गॉउको याम प्रसाद गुरुगं, पर्वत आर्थर गॉउबाट आएका निलम गुरुगं र स्यॉग्जा फेदिखोलाका सोम गुरुगं ।यी तीन मध्येमा पनि निलम गुरुगं अझ मलाई बिशेष मन पर्थ्यो किनकि उनी अलि होचो कदको भएरपनि सुपरफास्ट स्पाईक गर्थे। उनीहरुले मलाई प्रत्यक्ष भलिबल सिकाएको नभएपनि उनीहरुको खेल हेर्दै आफ्नो भलिबल सीपको अभ्यास गर्दै आएकोले उनीहरुनै मेरो मेण्टोर संझेको छु।

तरुण अवस्थामा पुगेपछि राम्रो बिधालयमा पढ्नलाई पोखरा शहरमा बसाई सरियो। भलिबल भन्नासाथ बिरेन्द्र शील्डको खुब चर्चा हुने गर्दथ्यो,जुन सालमा पहिलो पटक बिरेन्द्रशील्ड खेल्नलाई तयारी भएको थिए त्यसै बर्ष देशमा ठुलो राजनैतिक परिवर्तन भयो र खेल हुन सकेन। पोखरा झरीसकेपछि पनि प्रय गॉउकै साथीहरुसंग बिभिन्न मेला र पर्वमा धेरै ठॉउमा भलिबल खेल्न पुगियो। पोखरामा पनि बिभिन्न टिमबाट बिभिन्न प्रतियोगिता हरुमा खेलि रहे। एस एल सी सकेर प्रमाण पत्र तह पढ्दै गर्दा म राम्रै खेल्ने भैसकेको थिए र बिस्तारै टिम क्याप्टेनको भुमिका समेत निभाउन सक्ने भए।

जुनबेलामा हामी बिभिन्न ठॉउमा प्रतियोगिताहरुमा खेल्ने गर्थ्यौ प्रय पुरुष्कार प्रथमलाई खसी बोका र दोश्रोलाई भाले दिने चलन थियो। ठुलो प्रतियोगिताहरुमा रॉगा पुरुष्कार समेत हुन्थ्यो।खेल जितेपछि पुरुष्कार नै खसी भाले हुने भएपछि मासु खानै पर्ने भयो मासु निस्तै खाने सवालै उठेन त्यसैले यही भलिबलको कारण म रक्सी पीउने पनि भए तर केही बर्ष पछि बिशेष कारणले छाडे र अहिले २२ बर्ष पुगी सकेछ अल्कोहल मुखमा नपारेको।

पृथ्वीनारायण क्याम्पसमा हरेक बर्ष स्वतन्त्र बिधार्थी युनियनले अन्तर संकाय ( Inter faculty) भलिबल प्रतियोगिता आयोजना गर्ने गर्दछ। यो प्रतियोगितालाई अत्यन्तै महत्वपूर्ण रुपमा लिईन्थ्यो र क्याम्पस बाहिरबाट पनि दर्शकहरु हेर्नलाई आउथे र नेपालको अन्य क्याम्पसहरुबाट पनि सहभागिता हुन्थे। अन्तर संकाय टीममा पर्नु पनि निकै नै ठुलो रुपमा लिईन्थ्यो, अहिले ठ्यक्कै मिति याद भएन बि सं २०४९ /२०५० तिर होला म ब्यवस्थापन संकाय स्नातक तह प्रथम बर्षमा अध्यनरत हुदॉ पहिलो पटक टिममा छनौट भए। त्यस भन्दा अगाडि कहिल्यै प्रथम नभएको ब्यवस्थापन संकायले पहिलो पटक सबैलाई जितेर ईतिहॉस रच्न सफल भयो। त्यो क्षण सम्झदा अझैपनि गौरव लागिरहन्छ।गेरखा भर्ति केन्द्र पोखरा क्याम्पमा भर्ति छनौट को अन्तिम चरण तिर पुर्वेलि र पश्चिमेली बीच भलिबल खेल राखिन्थ्यो। २ बर्ष सम्म लगातर खेलेर पश्चिमी टिम लाई जीताईयो तर अन्तिम चरणसम्मा पुगेर पनि भर्ती भईएन। यी र यस्तै प्रतियोगिता हरु बाहेक नेपालमा माथिल्लो लेभलमा खेल्ने अबसर खासै मिलेन। क्षेत्रीय खेलाडी छनौटमा भागलिएको भए सायद केहि प्रगति गरिन्थ्यो होला तर तत्कालीन अबस्थामा नाताबाद, कृपाबाद र चाकाडी चापलूसी धेरै चल्ने हुदॉ मलाई चाहन भएन।

सन २००६ मा अष्ट्रलिया आईपुगे जुनबेला मेरो जीवनमा भलिबल ले ब्रेक लिईरहेको थियो। सिडनी शहरमा भर्खर कामको सुरुवाती सीलसीलामा म्याग्दी को एकजना मुक्ती रोका भन्ने संग भेट भयो। उसैले मलाई काम सिकाउदै गफगाफमा भलिबलको प्रसंग निकाले। उहॉ मेरो गाउले मामा नाता पर्नेको साह्रै मिल्ने साथी रहेछ र हाम्रो बोलीचालीमा मामा भान्जाको साईनो जोडियो। मुक्ती रोका पनि भलिबल सौखिन रहेछन र छिटो छिटो मलाई काममा सघाएर ठुलो चौरमा लिएर गए। त्यहॉ थुप्रै नेपाली हरु खुला आकाश मुनी नेट टॉसेर भलिबल खेलिरहेको थिए। मैलेपनि लामो समयको अन्तराल पछि पहिलोपटक त्यही भलिबल छुने मौका पाए।केहि महिना यही क्रम जारी रह्यो। सन २००६ मैं भर्खर स्थपना भएको “बाग्लुंग अष्ट्रेलिया समाज”ले पहिलो पटक नेपाली समुदाय भित्रको खुला भलिबल प्रतियोगिता आयोजना गर्यो। त्यति बेला सम्ममा म “तमु समाज सिडनी”मा घुलमिल भैसकेको थिए र २००६ – २००७ सम्म तमुसमाज सिड्नीको तर्फबाट खेले। पहिलो बर्ष देश्रो भयौ भने दोश्रोपटक तेश्रो स्थानमै चित्ता बुझाउनु पर्यो। सन २००८ पछि म डार्विन सरे र उक्त प्रतियोगिता मा निरन्तर भागलिन पाईएन तै पनि म बेला बेला मा अरु अवसरहरुमा सिडनीमा भलिबल खेल्न भने गईरहन्छु।

सन २००८ को मे महिनामा डर्विन आईपुगे । मलाई समेत जोडेर जम्मा ३७ जना नेपाली मात्रै थियो डार्विन मा। स्थानिय कोकोनट ग्रुभ को बालुवाले बनेको कोर्टमा कहिलेकाही रमाईलोको लागि हामी भलिबल खेल्थ्यै तर खासै सिरियस खेलाडि कोहि भेटिएन । गुगल सर्चबाट म आफै अध्ययनरत CHARLS DARWIN UNIVERSITY को भलिबल क्लब रहेको पत्ता लाग्यो। UNI क्लब मा सम्पर्क भएपछि मेरो भलिबल यात्राले भिन्नै मोड लियो। डार्विन आईपुग्दा सम्मा आफुले आफैलाई जान्ने राम्रै खेलाडि सोंचीरहेको थिए तर यहॉ बिदेशी खेलाडीहरुको समुहमा प्रवेश गरेपछि बल्ल थाह भयो धेरै सिक्नु बॉकी रहेछ । Uni Stingers टिममा नियमित ट्रेनिंग र Darwin Volleyball Association बाट संचालित लिग खेलमा निरन्तर खेल्दै गएपछि बल्ल मैले भलिबल के रहेछ भन्नेकुरा जान्ने र बुझ्ने मौका मिल्यो। यसैबेला देखि मेरो Passing र Setting सीपमा पनि धेरै प्रगति भयो। DVA लिगमा हाम्रो टिम ले ४/५ बर्ष सम्म लगातार प्रथम स्थान जीतेको कारण अरु टिमहरु दर्ता गर्न नै आएनन् बिस्तारै पुरुष लिग खेल नै हुन छाड्यो।पढाई पनि सकियो, प्रतियोगिता पनि नभएपछि Uni stingers टिम पनि बिलाएर गयो। केहि बर्ष पछि DVA को पुरुष लिग पुन सुरु भयो र फेरि मेरो आफ्नै नेनृत्वमा Power Ball नामक टिम गठन गरि लिगमा खेल्यौ। यस टिममा म बाहेक अरु २ जना नेपाली र १ जना भारतीय खेलाडि समाबेश थियो। २ सिजन सम्म तेश्रो सम्म हुन सक्यौ। पछि नेपाली साथीहरु र भारतीय साथीहरु मिलेर हाम्रो आफ्नै छुट्टै टिम बनाउने सल्लाह भयो र Power ball टिमलाई Mountain Goats मा परिनत गरियो।राम्रै खेलाडिहरु भएपनि अनुशासन र sportsmanship को कमीले गर्दा यस टिमले DVA लिगमा कुनै टाईटल जीत्न सकेन र २०२२ बाट खेलाडिहरु अन्य बिभिन्न टिममा छरिएर गए।

सन २०१७-२०१८ सम्म मेरो बसाई अडेलेडमा भयो। भर्खरै भलिबल नेपालको राष्ट्रीय खेल घोषणा भएको हुदॉ हामीले पनि यस खेललाई बिदेशी भुमीमा चीनाउन केहि गर्नु पर्छ भन्ने भावना मनमा उब्जीरहेको थियो। सन २०१७ को सुरुवात तिरै अडेलेड को उत्तरी भागमा बसोबास गर्ने नेपाली तथा भुटानी समुदाय को मिश्रित खेलाडि हरुबाट Friends United volleyball Team SA गठन गरे जुन टिमको क्यापटेन तथा प्रशिक्षकको जिम्मा मैले आफै लिएको थिए। भर्खर सिकारु अवस्थामा रहेका खेलाडि हरुलाई दक्ष खेलाडि सम्म ल्याईपुराउन सकेकोमा आफुलाई गौरव महशुस हुदो रहेछ ।
Volleyball South Australia ले आयोजना गरेको Multicultural VOLLEYCUP 2017 मा Friends United टिम आफ्नो पोलमा देश्रो हुन सकेको थियो भने ONSM 2018 Sydney मा राम्रै खेल प्रदर्शन गरि दर्शकहरुबाट प्रशंसा बटुलेको थियो।

हाम्रो समुदायमा महिला भलिबल, पुरुषको दॉजोमा धेरै नै पछाडी छ त्यसैले महिलाहरुलाई पनि संगै अगाडि ल्याउन पहिलोपटक अडेलेडमा प्रथम महिला भलिबल प्रतियोगिता २०१८ मा आयोजना गरियो।तमु धिं एस ए को पहलमा हरेक ल्होछारमा आयोजना गरिने यस महिला भलिबल प्रतियोगिता लाई Tournament Director को हैसियतले निरन्तरता दिने प्रतिबद्धता गरेको छु। डार्विन आईसकेपछि पनि २०१९ मा अडेलेड पुगेर खेल संचालन गरे त्यसपछिका बर्षहरुमा भने कोरोना प्रकोपले गर्दा निरन्तर हुन सकेको छैन।

अहिले डार्विनमा नेपाली हरुको संख्या ह्वात्तै बढेको छ र भलिबल खेलाडि हरुपनि थुप्रै छन। २०२१ बाट Darwin volleyball Association को General committee member भएको छु भने लेभल २ रेफ्री र प्रशिक्षकको योग्यता पनि हॉसिल गरिसकेको छु। हाम्रो राष्ट्रीय खेललाई प्रबर्धन गर्नुपर्छ भन्ने मान्यता बोकेर Multicultural VOLLEYCUP आयोजना गर्ने सोंच आईरहेको थियो। नेपाली समुदायको संघसस्थाहरु पनि यसमा साथ दिन सधै तयार नै थियो तर बिभिन्न कुराहरुको तालमेल मिलॉउदा बल्ल २०२२ को जनवरी महिनामा First Multicultural VOLLEYCUP सम्मपन्न गरियो। संयोजक को हैसियत प्रतियोगिता को तयारी र सन्चालनमा धेरै परिश्रम गर्नु परेपनि संघ संस्थाको सहयोग, नेपाली ब्यवशायीहरुको सहयोग र सबैबाट राम्रे प्रतिकृया आएकोले यस्लाई पनि निरन्तरता दिईने छ। डार्विन मा पहिलोपटक आफ्नो संयोजकत्वमा भब्यताको साथ First Multicultural VOLLEYCUP 2022 सम्पन्न गर्न पाउदा बल्ल आफुले भलिबल क्षेत्रमा केहि गर्न सकेजस्तो महशुस गरेको छु।

 

मेरो जीवनको दुईवटा बिशेष पल पनि भलिबल संग जोडिएको छु। सानै बाट मलाई दुईटा कुरामा ठुलो रहर जागेर आएको थियो। पहिलो थियो आफु पनि ठुलो भएर माष्टर बन्ने ताकि होमवर्क पनि गर्न नपर्ने, सधैं कुर्सीमा बस्न पाउने, सबैले मान्ने अनि आफुले भनेपछि सबैले मान्ने आदि । अर्को थियो बुबा र दाई जस्तै लाहुरे बनेर युनिफर्म र बुट लगाएर हिड्ने।
स्नातक तहको परिक्षा सकेपछि परिक्षाफल कुर्ने समय अवधिभर म जन्मथलो गॉउमै बस्न पुगे। गाउघरको चलन दिउसो १ बजे ब्रेक टाईममा स्कुलमा गएर भलिबल खेलिन्थ्यो। यहीक्रमा एकदिन बिधालयको प्रधानाध्यापक ज्युले ग्राउण्ड मै आएर मलाई तानेर अफिसमा लैजानु भयो र केहि महिना एस एल सी परिक्षा आउनजेल सम्म पढाउन अनुरोध गर्नु भयो, त्यहॉ एकजना शिक्षक बिदेश गएको हुदॉ केहि महिनाको लागि नयॉ नियुक्ति गर्नपनि गाह्रो र एउटा शिक्षक नभई नहुने अवस्था रहेछ। पढाउने बहनामा सधैं स्कुलमा आउन पाईने र भलिबल खेल्न पनि पाईने लोभले फ्री मै पढाईदिन्छु भने। पछि मेरो रिज़ल्ट निस्केपछि मेरो नियुक्ति पनि भयो र करीब ५ बर्ष सम्म मा बि शिक्षकको काम गरे। पढाउनुको साथै भलिबल खेल्ने र सिकाउने काम पनि हुन्थ्यो। यसरी भलिबल कै कारण मेरो पहिलो चाहाना पुरा भयो।
डार्विन मा भर्खर Uni Stingers टिममा प्रवेश गर्दा गैर गोरा म मात्रै थिए र छुट्टै देखिन्थ्यो। सबैलाई लाग्दो हो यो नौलो अनुहार कसरी यहॉ आईपुग्यो। २/४ दिनमा टिम भित्र घुलमिल भएपछि सबैसंग राम्रै सम्बन्ध कायम भयो र त्यही टीम मा २ जना आर्मी अफिसरहरु पनि रहेछन। उनीहरुले मलाई गोर्खालीको छोरा भन्ने थाह पाएपछि आर्मीमा जागिर खान शुझाव दिए र त्यहॉभित्र पनि भलिबल खेल्ने अबसर पाईन्छ भन्यो।मलाई उमेरको हदबन्दीको चिन्ता थियो तर मेरो उमेरले मिल्ने रहेछ र उनीहरुले भनेअनुसार आवेदन भरे र प्रोसेस गर्दै जॉदा २१ मे २०१२ मा म पनि लाहुरे भए। यसरी भलिबलकै सम्बन्धले गर्दा मेरो अर्को ठुलो रहर पनि पुरा हुन गयो। मेरो मात्रै नभई यो चाहना मेरो बुबाको पनि हो। उहॉले आफ्नो दुबै छोराहरुलाई आफै जस्तो लाहुरे बनाउने सपना देख्नु भएको थियो। दाई त ठीक उमेरमै भर्ती भैहाल्नु भयो तर म चाहि अन्तिम चरण सम्मा पुगेर पनि भर्ती हुन नसकेकोमा बुबा अलि निराश हुनु भएको थियो। जब म यहॉ लाहुरे भए भन्ने खबर सुनाए बुबा यति खुशी हुनु भयो कि मैले त्यो भन्दा पहिला उहॉलाई त्यती खुशी र गौरवान्वित देखेको थिएन।
सबै ट्रेनिंग हरु सकेपछि २०१३को अन्ततिर मेरो पोष्टिंग यही डार्विन मै भयो र २०१४ मै पहिलो पटक Combined service State Team बाट National championship खेल्ने मौका पाए। त्यसपछि निरन्तर ADFVA NT टिम बाट खेलिरहेको छु र २०१६ मा ब्रिजबेनमा भएको CST Interstate मा हामी तेश्रो भएका थियौ। अडेलेड पोष्टिग गएपछि South Australia बाट खेल्नु पर्यो। २०१८ मा Sydney मा भएको ADFVA CST मा South Australia को Captain थिए। ADFVA भित्र पनि मैले सधैं Libero र Setter नै खेल्ने गरेको छु।यसकारण पनि मेरो भलिबल सीप मजबुद हुदै छ।

कोरोना प्रकोपले गर्दा केही बर्षयता भलिबल खेलमा प्रतिकुल अवस्था आएको थियो भने अब बिस्तारै सामान्य अवस्थामा फर्किदै छ। हाल म हप्ताको पॉचै सॉझ भलिबल मा ब्यस्त छु। हरेक सोमबार DVA द्वार संचालित जुनियर ट्रेनिंगमा प्रशिक्षक छु। अहिले डार्विन भरि जम्मा २ जना मात्र योग्यता प्राप्त प्रशिक्षक छन। हरेक मंगलवार पुरुष लिगमा आफै खेल्छु। यसपटक फेरि Power Ball टिमलाई पुनर्गठित गरेको छु जस्मा म सहित अर्को एकजना संजीव गेर्खाली गरी २ जना नेपाली खेलाडि छौं। बुधवार Juniors र बिहिबार Social mixed को लागि रेफ्री गर्दैछु। हरेक सुक्रवार Darwin indoor beach volleyball मा खेल्ने गर्छु।

आश छ आगामी दिनमा मेरो भलिबल यात्रा यसरी नै अनवरत चलीरहनेछ। बिभिन्न कालखण्डमा कति साथीभाई हरु संग संगै खेल्यौ र अनुभव हरु साट्यौ ती सबैलाई एकमुष्ट अभार प्रकट गर्दछु। अबको दिनमा आफै खेल्ने भन्दापनि नयॉ पिढिंलाई खेल्ने प्ल्याट फर्म बनाईदिने तथा भलिबल शिक्षा र प्रशिक्षण मा केन्द्रित रहने सोंचमा छु।
अन्तमा भलिबल दिवशको हार्दिक शुभकामना । जय भलिबल!

चन्द्र प्रकाश गुरुगं
डार्विन अष्ट्रेलिया

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

सफल पोखरा अन्तराष्ट्रीय म्याराथनमा सहभागी हुन गुरुङ्ग दाम्पत्ती पोखरा जॉदै।

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP