मंगलबार , बैसाख २९, २०८३

भरतपुर महानगरपालिकामा रेनु दाहाल यसपटक पनि चुनावी मैदानमा छिन् । उनलाई नेकपा एमालेका विजय सुवेदी र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको मुख्य चुनौती देखिएको छ ।

२०७४ को स्थानीय निर्वाचनको परिणामलाई केलाउँदा रेनु दाहालले ४३ हजार १ सय २७ मत ल्याएर जित निकालेकी थिइन् । एमालेका देवी ज्ञवालीले ४२ हजार ९ सय २४ मत ल्याएका थिए । मतगणना हुँदा एउटा वडाको मतपत्र नै च्यातेपछि पुनः मतदान भएको थियो । रेनुले झीनो मतान्तरले जितेकी थिइन् । त्यतिबेला राप्रपाका मेयरका उम्मेदवारले ६ हजार ८ सय ४२ मत प्राप्त गरेका थिए ।

भरतपुरमा गत स्थानीय चुनावमा काँग्रेसले माओवादीलाई सघाएको थियो । काँग्रेसकी उपमेयरकी उम्मेदवार पार्वती शाह ठकुरीले ४७ हजार १ सय ९७ मत ल्याएकी थिइन् । रेनुको भन्दा पार्वतीको ४ हजार मत बढी थियो । यसबाट पनि काँग्रेसका मतदाताको ४ हजार मत अन्यत्र गएको तथ्यांक बुझ्न सकिन्छ ।

यसपटक जगन्नाथ पौडेलले काँग्रेस नेतृत्वको आग्रहलाई नमानेर बागी उम्मेदवारी दिएका छन् । अब उनले ल्याउने मतले रेनुको पक्षमा आउने मत प्रभावित हुन्छ । पौडेलको पक्षमा बढी मत खनिएमा रेनुलाई चुनाव निकै जित्न कठिन हुनसक्छ । कम मत खसेमा सम्भावना बढ्छ ।

एमालेले आफू हार्ने अवस्था आएमा जगन्नाथ पौडेललाई सघाउन सक्ने चर्चा पनि नचलेको होइन । राजनीतिमा चल्ने रणनीतिक दाउपेचमा असम्भव भन्ने हुँदैन । तर, पाँच वर्ष भरतपुर महानगरपालिकाको विकासमा काम गरेको, प्रचण्डको छोरी समेत भएकाले रेनु हेभिवेट उम्मेदवार हुन् । यसकारण उनी सजिलै जित्ने दाबी गरिरहेकी छिन् ।

नारायणी नदीमा पाँच वर्षमा धेरै पानी बगिसकेको छ । विगतको चुनावी परिणाम समिक्षाको आधार हुनसक्ला । तर, चितवनमा गत संसदीय चुनावमा काँग्रेस कुनैपनि क्षेत्रमा जित्न सकेन । अर्कोतर्फ महानगरपालिकामा नेतृत्व पनि काँग्रेसको हातमा रहेन । यसले काँग्रेसको संगठनमा असर परिसकेको छ । त्यसमाथि जगन्नाथको उम्मेदवारीले नयाँ घटना विकास भएको छ ।

एमालेको फुट, काँग्रेसमा पनि आन्तरिक मतभेद बढ्नु र पाँच वर्ष भरतपुरको नेतृत्वमा रहनुले रेनु मतदाता माझ भिजेको उम्मेदवारमा पर्छिन् । तर, चुनावमा रोचक घटना विकास भएकाले तीन उम्मेदवारहरुबीच कडा प्रतिष्पर्धा हुने देखिदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP