मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ — संयुक्त राष्ट्र संघको महासभाले रुसलाई संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्(‌‌ओएचसीआर) को सदस्यबाट निलम्बन गरेको छ । युक्रेनको बुचा सहरमा रुसी सेनाले ‘सुनियोजित रूपमा युक्रेनमा मानवअधिकार उल्लंघन’ गरेको विषयमा महासभाले रुसलाई ओएचसीआरको सदस्यबाट निलम्बन गरेको हो । रुसलाई निलम्बन गर्नुपर्छ भन्ने प्रस्तावमा ९३ मुलुकले समर्थन गरे ।

चीन, क्युबा, सिरिया, जिम्बाब्वेलगायतका २४ मुलुकले भने निलम्बनको विपक्षमा मतदान गरे । नेपाल, भारत, भुटानलगायतका ५८ मुलुक भने मतदानमा अनुपस्थित रहे । भुटान र नेपाल यसअघि युक्रेनमा रुसी आक्रमणको विरोधमा भएका मतदानमा सहभागी थिए ।

मतदानअघि राष्ट्रसंघका लागि रुसका सहायक राजदूत गेनाडी कुज्मिनले महासभालाई सम्बोधन गर्दै उक्त प्रस्ताव ‘मानव अधिकार उपनिवेशवाद’ भएको बताएका थिए । उनले अमेरिकाले अन्तर्राष्ट्रिय सम्बन्धमा पूर्ण नियन्त्रण र आफ्नो हैकम राख्न खोजेको समेत आरोप लगाए । रुसविरुद्ध लगाइएका आरोप सुनियोजित रूपमा फैलाइएका झूटमा आधारित भएको समेत उनको आरोप थियो ।

राष्ट्र संघका लागि युक्रेनी राजदूत सेर्गेई किस्लित्स्याले भने रुसी आक्रमणलाई युद्ध अपराध र मानवताविरोधी अपराध करार गर्नुपर्ने बताए ।

त्यस्तै राष्ट्रसंघका लागि चिनियाँ राजदूत चाङ चुनले मानवअधिकार परिषद्को वैधानिक सदस्यता खोस्ने काम भएको प्रतिक्रिया दिएका छन् । यु्क्रेन र रुसबीच जारी द्वन्द्वको शान्तिपूर्ण रूपमै समाधान हुनुपर्नेमा चीन अडिग रहेको उल्लेख गर्दै उनले यस्ता निर्णयहरू सत्यतथ्यमा आधारित हुनुपर्ने बताए । त्यस्तै रुसलाई सदस्यबाट हटाउने प्रस्ताव खुला र पारदर्शी रूपमा तयार नपारिएको पनि उनको भनाइ छ । हतारमा गरिने यस्ता गतिविधिले सदस्य राष्ट्रहरूमा विभाजन ल्याउने पनि उनले बताए ।

राष्ट्रसंघका लागि भारतीय स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले भारत सधैं शान्तिको पक्षमा भएको बताएका छन् । भारतले सधैं शान्ति, संवाद र कूटनीतिमा विश्वास गर्ने उल्लेख गर्दै तिरुमूर्तिले रगत बगाएर र निर्दोष सर्वसाधारणको ज्यान लिएर समस्या समाधान नहुने बताए । उनले भने, ‘यदि भारतले कुनै पक्ष लिन्छ भने शान्तिको पक्ष लिन्छ । यो तत्काल हिंसा अन्त्यका लागि भारतले शान्तिको पक्ष लिन्छ ।’

१९३ सदस्य रहेको महासभामा दुई तिहाई मतले रुसलाई सदस्यबाट हटाउने/नहटाउने निर्णय गर्न सक्नेछ । मतदानमा अनुपस्थित हुने सदस्यसंख्या भने गणना हुँदैन । यसअघि सन् २०११ मा लिबियालाई मानवअधिकार परिषद्को सदस्यबाट हटाइएको थियो । तत्कालीन नेता गद्दाफीसमर्थित सेनाले मानवअधिकार उल्लंघन गरेको भन्दै लिबियालाई सदस्यबाट हटाइएको थियो ।

मानवअधिकार परिषद्‍मा अफ्रिका र एसिया प्रशान्त क्षेत्रबाट १३, ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रबाट ८, पश्चिम युरोप र अन्यबाट ७ र पूर्वी युरोपबाट ६ मुलुक गरी ४७ सदस्य छन् । रुसको कार्यकाल सन् २०२३ मै सकिने भए पनि मानवअधिकार परिषद्‍को सदस्यबाट निलम्बन गरिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसले बलियो राजनीतिक सन्देश दिन सक्ने र रुसले युद्ध अपराध गरेको विषयमा पनि छानबिन अगाडि बढ्न सक्ने बताइएको छ ।

यसअघि रुसले भने मानवअधिकार परिषद्को सदस्यबाट हटाउने प्रक्रियाको मतदानमा अनुपस्थित हुने वा ‘हुन्छ’ भन्ने पक्षमा मतदान गरेमा त्यसलाई ‘शत्रुतापूर्ण व्यवहार’ का रूपमा लिने बताएको थियो । साथै त्यस्तो प्रक्रियामा सहभागी हुने मुलुकसँगको द्विपक्षीय सम्बन्धमा समेत नकारात्मक असर पर्ने रुसले चेतावनी दिएको छ ।

पछिल्लो समय रुसले युक्रेनको बुचालगायतका सहरमा सर्वसाधारणमाथि आक्रमण गरेको भन्दै आलोचना भएको छ । रुसले भने सर्वसाधारणलाई आक्रमण नगरिएको बताउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP