
काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले कमजोर सरकारी संरचना र अनुसन्धानबिना लादिएका नीतिका कारण सरकारले अपेक्षित आर्थिक वृद्धि र विकास निर्माणका गतिविधि संचालन गर्न नसकेको दाबी गरेका छन् । विगतका वर्षहरुमा अबलम्बन गरिएका खराब नीतिका कारण अहिले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेको उनले बताए । नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले आगामी बजेटबारे सुझाव दिनका लागि काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।
‘हाम्रो चुनौती संस्थागत सुदृढीकरण हो । हाम्रो संरचना, व्यवस्थापकीय क्षमता र कार्य क्षमता नबढाएसम्म हामी गुणात्मक परिवर्तन गर्न सक्दैनौं,’ अर्थमन्त्री शर्माले भने, ‘कपी पेस्ट गरिएका नीति छन् । अनुसन्धानमा आधारित नीति छैनन् ।’
अहिले देखिएका समस्या यसअघि लागू गरिएका नीतिको उपज रहेको उनले बताए । ‘हिजोका नीतिले अहिलेको अवस्था सिर्जना भएको हो । तर मान्छेहरुले देशको संरचना हेर्दैनन्, हिजोका नीति हेर्दैनन्, मेरो अनुहार हेर्छन् । फलानो मन्त्रीले काम गर्न सकेन भन्छन्’ शर्माले भने । यद्यपि सबै गुनासो र चुनौती स्वीकार्न आफू तयार रहेको उनले बताए । ‘सबै खालका चिन्ता, अपेक्षा र आशाको सम्मान गर्छु । साथै सुधारका सबै प्रयास गर्ने प्रतिबद्धता जनाउँछु,’ उनले भने ।
संस्थागत सुधारका लागि पनि आफूले पहल गरेको उनले बताए । ‘पुराना नीति हाम्रा कमजोरी नै हुन् । सच्याउनुपर्ने अवस्था छ । निरन्तर सुधारको प्रतिबद्धता भयो भने यी सम्भव छन् । अहिल्यै सुधार गर्ने कि कालान्तरमा सुधार गर्ने भन्ने पनि ठूलो अर्थ छ’ उनले भने । चालु आर्थिक वर्षका लागि सरकारले राखेको ७ प्रतिशतको आर्थिक वृद्धिदर पूरा नहुने पनि अर्थमन्त्री शर्माले स्वीकारे ।