मंगलबार , बैसाख २९, २०८३

अस्ट्रेलिया नेपाली विद्यार्थीका लागि आकर्षणको केन्द्र बन्दै आएको छ।

पछिल्लो समय करिब ७० हजार नेपाली विद्यार्थी अस्ट्रेलियाका विभिन्न कलेजमा उच्च शिक्षा लिइरहेका छन्। यहाँ अध्ययनका लागि संसारभरबाट वर्षेनी लाखौं विद्यार्थी आउने गर्छन्।

विकशित देशमध्ये उत्कृष्ट कानुनी राज्यका रूपमा अस्ट्रेलियालाई चिनिन्छ। यहाँ स्वदेशी र विदेशी दुवैलाई न्यायको समान आँखाले हेरिन्छ। अर्थात, यहाँ राज्य र जनता दुबै कानुनले बाँधिएका हुन्छन्। कानुनभन्दा माथि कोही हुँदैन।

केही समय अगाडि सुरक्षा ज्याकेट बिना डुंगा चलाएको आरोपमा ड्यूटीमा खटिएको सिपाहीले प्रधानमन्त्रीलाईसमेत जरीवाना गरेको थियो। यस्तै मास्क नलगाइ सार्वजनिक स्थानमा हिँडेपछि उपप्रधानमन्त्रीले जरीवाना तिर्नुपरेको थियो।

सेवाग्राहीबाट एक बोतल वाइन उपहार लिएका मुख्यमन्त्रीले राजीनामासमेत दिनुपरेको थियो। यस्ता घटना यहाँ सुन्न र देख्न पाइन्छ।

यहाँको राजनीतिमा लाजनीति होइन थितिसमेत बसेको पाइन्छ।

सुविधाको सदुपयोग गर्नेहरू सरल हिसाबमा जिवन बिताउछन् भने दुरूपयोग गर्नेहरूलाई कठोर कानुनी दायरामा ल्याइने गरिन्छ।

अस्ट्रेलियाको अध्यागमन कानुन पनि समानता र कठोर पालनामा आधारित छ।

आप्रवासी तथा अन्तर्राष्ट्रिय विद्यार्थीले त्यही कठिन कानुनको मातहतमा रहनुपर्ने र सतप्रतिशत पालना गर्नुपर्ने सर्तमा भिसा पाएका हुन्छन्।

हाम्रो जस्तो मुलुकबाट आएका व्यक्तिले अष्ट्रेलियाको कानुन पालना गर्न नसक्दा भोग्नुपरेका कयौं कठिनाई भनिसाध्य छैन।

प्रवासमा नेपाली समुदाय फैलिदै जानु हाम्रा लागि खुसीको कुरा हो। तर कहिलेकाही नजानेर वा फाइदा खोज्ने क्रममा या गलत सल्लाहले नेपाली विद्यार्थीले निकै दुःख पाएका छन्।

हाम्रो समुदायमा पनि विभिन्न खालका अनौठा घटना घट्दै आएका छन्। त्यो मध्येको एउटा हो नक्कली विवाह गरेर अस्ट्रेलिया आउनु र पछि पछुताउनु।

नेपालमा गलत सल्लाह वा विदेश जाने चाहले पैसा तिरेर नक्कली विवाह गर्दै अर्काको डिपेन्डेड बन्ने क्रमले तिब्रता पाएको छ।

यसरी बिदेश जाने निहुँमा नक्कली विवाह गर्नेहरु यता आएर अधिकांशले पछुताएका छन्। केही कानुनी फन्दामा समेत परेका छन्।

अस्ट्रेलिया आएपछि नक्कली जोडीबीच सम्बन्धमा चिसोपन आएर घरेलु दुर्व्यवहारको सिकारसमेत भएका छन्।

पछिल्लो समय एक नेपाली जोडीको घर झगडा प्रहरीकहाँ पुगेपछि उनीहरूले नक्कली बिहे गरेको पुष्टी भयो र कारबाहीको दायरामा आउनुपर्‍यो।

यस्तो अवस्था आउन नदिन सबैभन्दा पहिले आफ्ना छोराछोरी अस्ट्रेलिया पठाउने बेला अभिभावकले सोच्नुपर्ने हुन्छ। किनकि, अवैध काम गर्दा जो कोही सजायको भागिदार हुनैपर्ने सिड्नीका कानुनविद शम्सेरसिंह थापा बताउछन्।

यस्तै पत्रपत्रिकामासमेत डिपेन्डेन्टमा अष्ट्रेलिया जान केटा/केटी चाहियो भनेर खुलुम खुला विज्ञापन गरेको हुन्छ। थापाले यो पनि कानुनी रूपमा गलत भएको बताए।

थापाले विवाह गरेर अस्ट्रेलिया जानका लागि मात्र नक्कली विवाह गरेको कागज बनाएको घटनासमेत आफूले थाहा पाएको सुनाए।

थापाले यसरी नक्कली विवाह गर्दा कुनै एउटा खराब निस्किँदा सम्पत्तीलगायत अन्य विषयमा दाबी गर्नसक्ने समेत आधार भएकाले निकै डरलाग्दो र भयानक स्थिति सिर्जना हुने तर्क गर्छन्।

‘जतिसुकै समस्यामा परे पनि यो प्रकृया रोकिएको छैन, खुलम खुला नक्कली बिहे गरेर आउनेको भिड दिनदिनै बढ्दो छ। त्यति मात्र होइन नक्कली बिहे गरेर यता आएपछि सम्बन्धविच्छेद गरेको रेकर्डसमेत कायम हुन्छ’, उनले भने, ‘यसले सक्कली सम्बन्धमासमेत जटिलता ल्याउन सक्छ।’

डिपेन्डेन्ट भिसा मुख्य भिसाधारीलाई मानसिक र भौतिक रूपमा सहयोग मिलोस् भनेर अस्ट्रेलियन सरकारले सुविधा दिएको हो।

यदि कुनै विद्यार्थी एक वर्षभन्दा लामो समय पढ्न जाँदैछ भने आफ्नो परिवारबाट टाढा बस्न नपरोस् भनेर अष्ट्रेलिया सरकारले दिइएको सहुलियत पनि हो।

अर्कोतिर एक जनाको पढाईका निम्ति आर्थिक रूपमा अर्का सहयोगी बनुन् भनेर यस्तो भिसाको व्यवस्था गरिएको हो। तर, राज्यले प्रदत्त गरेको सुविधालाई खराब नियतले वा गलत ढंगबाट प्रयोग गर्नु अपराध हो।

थापाले नक्कली विवाह गर्नेहरू सँगै नबस्नाले सक्कली निवेदकलाई समेत ठूलो असर पर्ने गरेको बताए।

नेपालमा च्याउसरी खुलेका एजुकेशन सेन्टर पनि यस विषयमा गम्भीर र जिम्मेवार हुनुपर्ने विज्ञहरू बताउँछन्।

योग्यता र वैदेशिक शिक्षामा ज्ञानको अभावले नेपाली एजेन्ट र विद्यार्थीहरू सरकारले दिएको सुविधालाई कमाउने भाँडो र विदेश जाने बाटो बनाउन अग्रसर भएपछि यो समस्याले बिस्तारै विकराल रूप लिन थालेको छ।

@SEtopati/हेमन्त काफ्ले

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP