
साँच्चै जताततै प्राकाश सपुतको ‘पीर’ गितको चर्चा चलिरहेको बेला म पनि यसबाट अछुतो रहन सकिनँ । र गीतको भिडियोसहित शब्द शब्द केलाउन मन लाग्यो । बास्तबमा गीतले तत्कालीन माओवादी जनयुद्धको चित्रण गर्दै ,युद्ध पश्चात् सङ्गै युद्धमा होमिएकाहरु आज किन फरक फरक परिवेशमा छन् ? कोही आज ल्याण्डक्रुजर र पजेरोमा सवर गर्दै छन् भने कोही युद्धमा छोराछोरी गुमाएका, अङ्गभङ्ग भएका, गोलीसमेत लागेकाहरु पनि सम्वन्धित पक्षले उचित ध्यान नपुर्याउँदा कष्टकर जिवन जिउन बाध्य छन भन्ने कुरा उजागर गरेको पाँए मैले ।
गितले जे देखाएको छ र बोलेको छ ,तितो सत्य हो। यहाँ देखिएको मात्र माओवादी युद्धको चित्र होइन ,कुनै पनि राजनीतिक आस्था राखेर गणतन्त्र ल्याउनका निम्ति, देश र जनताका निम्ति लडने वीर बिरङ्गनाहरु को कथा हो यो। जनताका छोराछोरी को अदम्य साहस र बलिदान बाट भएको परिवर्तन र उपलब्धि आज मुठ्ठीभर नेता र तिनैका पिछलग्गुहरुले लुटिरहेका छन् र वास्तविक योद्धाहरु ओझेलमा परेका छन् । देश र जनताको निम्ति सारा चिज कुर्बानी गर्नेहरु मात्र बाँच्नका लागि कष्टकर अनि दयनीय स्थितिमा छन् । त्यसैले प्रकाश सपुतले उजागर गर्न खोजेका कुराहरु केही कमजोरी बाहेक समग्रमा यथार्थपरक लाग्यो मलाई ।
अर्को कुरा सृजना भनेको कल्पना हो, कुनै बास्तबिकतामा टेकेर कल्पना गरिन्छ भने कुनै पुरै कल्पना मात्रै हुन्छ या तत्पश्चात कुनै वास्तविकतामा बदलिन सक्छ । यो सिर्जनामा सृजिएको कुरा कुनै घटना वा परिदृष्य सङ्ग मिल्न गएको रहेछ भने पनि सम्वन्धित पक्ष वा उस्तै प्रकृतिका पक्षहरुले तर्सिनु भन्दा सोंच्नुपर्ने हुन्छ। हो हिजो एउटै चोट खाएकाहरुको आज किन फरक फरक भयो परिवेश ? कतै हिजो ज्यान हत्केलो मा लिएर परिवर्तन ल्याउनेहरु गितमा देखाइएको झै शहर का गल्ली गल्लीमा र दुर दराजमा पिल्सिरहेका त छैनन् ? बुझ्न् जरुरी छ ।आज हाम्रा नेताहरु बिलासी बनेका छन् र उनीहरुको आजको यो परिवर्तित जिवनशैलीका प्रवद्र्धकहरुको इतिहास, कुर्बानीलाई बिर्सिरहेका त छैनन् ? आदि कुरा खोजिनु पर्छ भन्ने कुरा गीतले इङ्गित गरेको छ ।
रह्यो कुरा प्रकाश सपूतले हिजोका योद्धाहरुलाइ आज पैसा सङ्ग यौन तृप्ती साट्दै गरेका घिनौना ब्यक्तिको रूपमा चित्रण गर्यो भन्ने । कुरा त्यो होइन ,कि शक्ति र सत्ता प्राप्ति पछी नेतृत्वदायी भुमिका मा रहेकाहरुले उनीहरुको सहि ब्यबस्थापन गर्न नसक्दा वा गर्न लापरवाह गर्दा उनीहरु बाँच्ने कुनै आधार नभेटेपछि त्यहाँसम्मका काम गर्न पनि बाध्य हुने कुरा देखाउन खोजेको हो जस्तो लाग्छ मलाई ।
बरु यो गीत र कथा भित्र अन्तरजातीय विवाहका कारण माइतीले स्वीकार नगर्नु, सानो छोरीको लागि राम्रो शिक्षा दीक्षा दिन नसक्नु, देश प्रेमका कारण श्रीमान् बिदेश जान तयार नहुनु जस्ता कारण बिदेशीन बाध्य भएकी महिला बिदेशमा पुगिसके पछी कुनै काम नपाएर घर फर्किनु भन्दा देहब्यापारमा लाग्नुपरेको अवस्था र त्यहाँ पनि पीडित भएर प्रतिकार गर्न खोज्दा नजरबन्दमा रहनुपरेको कुरा देखाइएको भए हुने थियोे कि ? त्यसैगरि श्रीमती बिदेशिएको २÷४ महिना नहुँदै यौन प्यास मेटाउनका लागि गल्ती गल्ली र कोठी कोठी चाहर्नु परेको स्थिति के कारणले सृजित भयो र हिजोको कठिन परिस्थिति र नैतिकतामा रहेको योद्धा सजिलै आफ्नो बफादारिता कसरी बिर्सन्छ भन्ने कुरा अलि सशक्त रूपमा प्रस्तुत गर्दै सृजना गर्न सकेको भए यसले अहिले खेपेको आलोचना अलिकति कमहुने थियोे होला ।
मेरो विचारमा यहाँ अलिकति नमिल्दो कुरा के देखे भने जब पाँच सय रुपैयाँको नोट खल्तीमा पर्छ, एउटी नगरबधु एउटा पुरुषलाई आफ्नो कोठिमा लैजान तयार हुन्छे । पुरुष आफ्नो श्रीमती सङ्ग छुट्टिएको २÷४ महिना नहुँदै पीर बिसाउने बहानामा यौन प्यास मेटाउन जानु र महिला योद्धा के कति कारण ले बेस्याबृतीमा लाग्नु परेको हो ? बाँच्नका लागि अरु विकल्प नखोजी किन यो बाटो रोजियो ,त्यो स्पष्ट खुलाइएको छैन । तर हिजोका क्रान्ति हाँक्ने महान योद्धाहरु यति सजिलै हिजोको फलामे अनुशासन बिर्सन्छन भन्ने कुरा त्यति मिलेको छैन कि ? त्यसैले यो म्युजिक भिडियो भित्रका ससाना कमजोरी हरुलाइ सच्याउन सके बाँकी सबै शब्द, गीत, परिवेश राम्ररी सृजित छन् । कलाको सम्मान गर्नु पर्दछ। तितो वास्तबिकता बाहिर आउँदा कसैले मान मर्दन भएको सम्झिनु हुदैन । माओवादी जनयुद्धका घटना, पोषाक, युद्ध भुमि देखाइएको भए तापनि यो सबै राजनीतिक पार्टी, योद्धाले ल्याएको परिवर्तन र हिजोको योद्धाहरुको बाध्यात्मक परिवेश हो। सबैले मनन् गर्न जरुरी छ। समग्रमा कथा बस्तु राम्रो छ ,यहाँ चोरको खुट्टा काट भन्दा ,खुट्टा उचाल्न मात्र खोजिएको हो। यथार्थ सबै पार्टी वा समूहमा छ, न कि कुनै एउटा पार्टी विशेषमा मात्र !!