मंगलबार , बैसाख २९, २०८३

काठमाडौँ — युक्रेन छाड्न पोल्यान्डको मेडिका सीमामा पुगेका नेपाली फर्केर स्लोभाकियाको सीमातर्फ लागेका छन् । चार दिनदेखि बस्दा पनि पोल्यान्ड पस्न नसकेपछि उनीहरू स्लोभाकियाको हुजभोर सीमातर्फ जान थालेका हुन् । रुसले युक्रेनमा आक्रमण गरेलगत्तै राजधानी किभलगायत सहरमा भएका नेपाली पोल्यान्डको मेडिकातर्फ गएका थिए ।

तर पोल्यान्ड प्रवेश गर्न नपाएपछि उनीहरू युक्रेनको अर्को छिमेकी स्लोभाकियाको सीमातर्फ हिँडेका हुन् । लामो समय पर्खंदा पनि सीमा पार गर्न नपाएपछि आफूहरू स्लोभाकियातर्फ लागेको कान्तिपुरको सम्पर्कमा आएका नेपालीले बताए ।

६ महिनाअघि मात्र युक्रेन पुगेका दाङका जीवन शर्माले तीन दिनसम्म पालो कुर्दा पनि मेडिका सीमा पार गर्न नसकेपछि स्लोभाकिया जानुपरेको बताए । ‘मेडिकातर्फको सीमा जान नै युक्रेनको सेनाले बाटोबाटोमा रोक्ने गरेको थियो । हामी युक्रेनको अन्तिम सीमा पुगेका थियौं । त्यहाँको स्थिति निकै भयावह रहेछ । सेनाले रोकेपछि कोही पर्खाल नाघेर बाहिरिन खोज्थे । भीड नियन्त्रण गर्न सेनालाई हवाई फायर खोल्नुपर्दथ्यो,’ शर्माले टेलिफोनमा भने, ‘जाडोमा आगो ताप्न पनि दिइएको थिएन । हाम्रो अगाडि एक जना नाइजेरियालीको चिसोले कठ्यांग्रिएर मृत्यु भयो । त्यसपछि हामी भाग्यौं । त्यहाँबाट लभिभ आउने क्रममा ३० किलोमिटर हिँड्नुपर्‍यो । दोहोरो दुःख पायौं ।’

सीमामा पुगेका नेपालीले युक्रेनी र पोलिस सेनाबाट दुर्व्यवहारसमेत व्यहोर्नुपरेको छ । नेपालीलगायत एसियाली मुलुकका नागरिकमाथि दुर्व्यवहार भएको भन्दै अन्तर्राष्ट्रिय रूपमै युक्रेनी र पोलिस सेनाको आलोचनासमेत भएको छ । ‘नेपाली, भारतीय, पाकिस्तानी, बंगाली र अफ्रिकीहरूप्रति असाध्यै नराम्रो व्यवहार भयो,’ शर्माले भने ।

शर्माले उनको टोलीले किभदेखि लभिभ–मेडिका–लभिभ हुँदै स्लोभाकियासम्मको सीमा पार गर्न झन्डै एक सय किलोमिटर हिँड्नुपरेको बताए । उनीहरूले तीन दिन सडकमा नै रात बिताउनुपरेको बताए । ‘किभबाट हिँड्दा पहिला त हामी ७ जना थियौं । लभिभ आएपछि चार जना छुटियौं । फेरि स्लोभाकिया आउने बेला अरू साथीहरू थपिए,’ उनले भने । खर्च नहुँदा सीमामा पुगेका नेपालीले थप समस्या झेल्नु परिरहेको छ । ‘दुई हजार युक्रेनी लाग्ने ठाउँमा ५ हजार लिन्छ । साथमा पैसा छैन । गाडी भेटिएका ठाउँमा गाडी चढेर आयौं । नत्र हिँड्नुपर्‍यो,’ रामचन्द्र खड्काले भने । उनका अनुसार खर्च नभएकै कारण केही नेपाली अझै किभमै रोकिएका छन् ।

सीमामा रहेका नेपालीले आफूहरू कठिन परिस्थिति सामना गरिरहेको जानकारी जर्मनस्थित नेपाली दूतावासलाई निरन्तर दिइरहेका छन् । तर, सीमा पार गर्न नसकेका नेपालीको यकिन विवरण भने दूतावाससँग छैन । ५–६ दिनदेखि नेपाली अड्किएपछि बुधबार जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्का पोल्यान्डको मेडिका सीमामा पुगेका छन् । सहजीकरणका लागि समन्वय भइरहेको उनले बताए । दूतावासका तृतीय सचिव सहारा चौंलागाईंका अनुसार दूतावासको समन्वय पछि मंगलबारसम्म २३५ जनाले पोल्यान्ड प्रवेश पाएको बताइन् । मंगलबार ३ जना नेपालीले पोल्यान्डको अध्यागमन पार गरेको जानकारी पोलिस सरकारले दूतावासलाई दिएको छ ।

मेडिकामा नेपाली डेस्क हेरिरहेका निश्चत सुवेदीले युक्रेन र पोल्यान्ड सरकारसँग समन्वय गरेर नेपाली राजदूत युक्रेनको सीमामा जानुपर्ने आवश्यकता रहेको बताए । ‘युक्रेनमा राजदूतबाहेक अरू जान सक्ने स्थिति छैन,’ उनले भने, ‘हामीले पोल्यान्ड आइसकेकालाई मात्रै खाना र बस्नको व्यवस्थापन गरिरहेका छौं ।’

स्लोभाकिया आइपुगेका नेपालीलाई सेल्टर प्रदान गरिरहेका जयप्रकास शिवाकोटीका अनुसार मेडिका पुगेका नेपाली फर्किरहेको बताए । उनले नेपालीलाई स्लोभाकियातर्फ आउन आग्रहसमेत गरिरहेको जनाए । ‘जो युक्रेनको बाटोमा छ । सबैलाई स्लोभाकियातिर आउनुस् भनेका छौं,’ उनले भने, ‘युक्रेनमा भएका सबै नेपाली आउनुभयो भने पनि व्यवस्थापन गर्न सकिन्छ ।’

@ekantipur

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP