मंगलबार , बैसाख २९, २०८३

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय एकता जोगाउन प्रणाली फेर्नुपर्ने बेला आएको बताएका छन् ।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै शाहले पछिल्ला दशकमा राष्ट्रिय एकता संकटमा परेको र जनतामा निराशा छाएको भन्दै नेतृत्व र प्रणाली परिवर्तनका लागि सबै नेपालीले समीक्षा गर्ने बेला आइसकेको उल्लेख गरेका छन् ।

उनले राष्ट्र र राष्ट्रियतासहितको प्रजातन्त्रको लागि जनता र राजा सधैं एक रहिआएको र अब पनि साथमा रहने बताएका छन् । पूर्वराजा शाहले प्रणालीमाथि प्रश्न उठाउँदै सांकेतिक रुपमा राष्ट्रियता र राष्ट्रिय एकताका लागि राजसंस्थासहितको प्रजातन्त्रमा जोड दिएका छन् ।

‘प्रजातन्त्रको नाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतालाई संकटापन्न अवस्थामा पुर्‍याएको र जनतालाई निराशाको दहमा डुबाउँदै लगेको महसुस हुँदै आएको छ,’ उनले भनेका छन्, ‘यसो हुनुमा नेतृत्वको मात्र दोष हो कि प्रणाली पनि परिवर्तन योग्य छ भन्ने बारेमा समीक्षा गर्न अब हामी सबै नेपाली तयार हुनुपर्दछ ।’

राष्ट्रियता बिनाको प्रजातन्त्र जनताको सुरक्षाको कवच र न्यायको छाता बन्न नसक्ने उनको भनाइ छ । प्रजातन्त्र आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली भएको उल्लेख गर्दै शाहले तर नेपालमा पछिल्लो समय बढ्‍दो विदेशी प्रभावमा प्रजातन्त्र चलेको संकेत गरेका छन् ।

‘अरुले ओढाई दिएको आसमानमुनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र हुन सक्दैन । जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन । आफ्नो देशको प्रकृति र परिवेशबाट पृथक भएर बाहिरी लोभ, प्रलोभनमा पर्नु पनि प्रजातन्त्र होइन,’ उनले भनेका छन् ।

पूर्वराजा शाहले प्रजातन्त्र निर्देशित र नियन्त्रित नहुने उल्लेख गर्दै भनेका छन्, ‘त्यो स्वतः स्फुर्त एवं लोक सम्मत हुन्छ र हुनु पर्दछ ।’

अहिले प्रजातन्त्र ट्रयाकमा नरहेको भन्दै यसमा सबैको ध्यान जानुपर्ने शाहको जोड छ । ‘अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भांडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्युहले प्रजातन्त्रलाई कता पुर्‍याई रहेको छ, विचारणीय प्रश्न छ,’ उनले ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP