मंगलबार , बैसाख २९, २०८३

बैतडी। भागरथी भट्टको हत्या परिचित व्यक्तिबाटै भएको आशंका अनुसन्धानमा संलग्न अधिकारीहरूले गरेका छन्। घटनास्थलबाट मोबाइलसहित अनुसन्धानका थुप्रै ‘क्लु’ फेला परेकाले अपराधीको नजिक पुगिसकेको उनीहरूको भनाइ छ।

घटना बुधबार अपराह्न ३ बजेतिर भएको प्रहरीको अनुमान छ। घटना अनुसन्धान गर्न एसएसपी जनक पाण्डेको नेतृत्वमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०, जिल्ला प्रहरी कार्यालय बैतडी र इलाका प्रहरी कार्यालय पाटनको टोलीलाई एकीकृत रूपमा परिचालन गरिएको छ। सीआईबीबाट निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानका लागि कञ्चनपुरमा रहेका डीएसपी पञ्चकुमार बाखुको टोलीलाई नै भागरथीको मृत्युको छानबिनमा पनि खटाइएको छ।

भागरथीको शवसँगै भेटिएको मोबाइल र त्यसको कल डिटेलबारे अनुसन्धान गर्न विशेष टोली खटिएको छ। प्रहरीले केही युवामाथि शंका गरेको छ। भागरथी अध्ययनरत विद्यालयका शिक्षक, नजिकका साथी, गाउँका मानिससँग उनको आनीबानीबारे सोधपुछ गरिरहेको छ।

सोधपुछको दायरामा नआएका तर शंकामा परेकामाथि सूक्ष्म निगरानी गरिएको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार बुधबार भागरथीलाई मोबाइलमा केही कल आएको थियो तर उनले रिसिभरकलब्याक गरेकी थिइनन्। विद्यालयबाट निस्कँदा चार जना सँगै थिए तर घरमा आमा एक्लै रहेको भन्दै भागरथी छिट्टै घर पुग्ने गरी साथीहरूबाट छुटेर हिँडेकी थिइन्।

घटनास्थलबाट मोबाइलसहित अनुसन्धानका थुप्रै ‘क्लु’ फेला परे पनि प्रहरीले यसबारे केही खोलेको छैन। ‘अपराध गर्ने व्यक्तिको नजिक पुगिसकेका छौं। पोस्टमार्टम रिपोर्ट, भजाइनल स्वाब र शरीरका नीलडामको प्रमाणबाट शंका गरिएका मानिससँग भिडाउन बाँकी छ,’अनुसन्धानमा संलग्न एक प्रहरीले भने। धनगढीबाट ल्याइएको कुकुरले पानी परेकाले सामान्य अवस्था जस्तो विस्तृतमा संकेत नदिए पनि अपराधको ‘लोकेसन’ पहिल्याएको अनुसन्धानमा संलग्न स्रोतले जनाएको छ ।

‘घटनास्थलमा भेटिएको मोबाइलको कल डिटेल र त्यसमा केन्द्रित प्राविधिक अनुसन्धानको पाटो खुलाउने क्रममा छौं,’ स्रोतले भन्यो, ‘टेक्निकल, म्यानुअल र बाहिरी निगरानीमा अनुसन्धान गर्न टोलीलाई छुट्टाछुट्टै खटाइएको छ।’ जिल्ला अस्पताल बैतडीले शनिबार दिउँसो भजाइनल स्वाब संकलन गरेपछि पोस्टमार्टम गरेको छ। भजाइनल स्वाब निकालेर परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ। परिवारले आइतबार शव बुझ्ने जानकारी दिएको सुदूरपश्चिम प्रदेश प्रहरीका एसएसपी मुकेश सिंहले जानकारी दिए।

‘अनुसन्धानमा कुनै पनि कमीकमजोरी नहोस् भन्नका लागि हामी ज्यादै संवेदनशील छौं। अपराधका क्लु भेटिएका छन्, अनुसन्धानमा भएकाले अहिले खुलाउन मिल्दैन,’ उनले कान्तिपुरसँग भने, ‘अपराधीलाई जसरी पनि कारबाहीको दायरामा ल्याइनेछ।’ जिल्ला अस्पताल बैतडीका प्रमुख डा। वसन्तराज जोशीले शवका नीलडाम र चोटबाट पासविक तवरले ज्यान लिएको देखिने बताए। ‘मृत्यु के कारणले भयो भन्नेबारे आइतबारसम्म रिपोर्ट दिन्छौं, बाँकी विषय त्यही रिपोर्टमा खुलाएर प्रहरीमा पठाउँछौं,’उनले भने।

कञ्चनपुरकी किशोरी निर्मला पन्तको २०७५ साउन १० मा भएको बलात्काररहत्या घटनाको अनुसन्धानमा हेलचेक्य्राइँ गरेको आरोप प्रहरी र प्रशासनमाथि लागेको थियो। त्यस्तो कमजोरी हुन नदिन यो घटनामा बैतडी प्रशासन, अस्पताल र सरकारी वकिल कार्यालयका प्रमुख नै घटनास्थल पुगेर अनुसन्धानमा संवेदनशील बनेको सन्देश दिन खोजेका छन्। आजको कान्तिपुर दैनिकमा मातृका दाहालले समाचार लेखेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP