शनिबार , भाद्र १३, २०८३

फरवार्ड विमल घर्तीमगरले राष्ट्रिय टोलीमा स्वर्णिम कमब्याक गरेपछि नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई १–० ले हराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा विमलले निर्णायक गोल गरे । एक वर्षपछि राष्ट्रिय टोलीबाट मैदान उत्रिएका विमलले ५४औं मिनेटमा गरेको गोलले नेपालको जित निश्चित गर्‍यो ।

अञ्जन विष्टले मैदानको मध्यभागबाट उपलब्ध गराएको बलमा विमलले १८ यार्ड बक्सबाट गरेको प्रहार बारमा लाग्दै जाली चुम्यो । विमलको यो नवौं अन्तर्राष्ट्रिय गोल हो । गत माघमा राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका दौरान घुँडामा गम्भीर चोट लागेपछि विमल मैदानबाट बाहिर थिए । विमल पछिल्लो पटक राष्ट्रिय टोलीबाट २०७६ असोजमा विश्वकप छनोटअन्तर्गत जोर्डनविरुद्धको खेलमा मैदान उत्रिएका थिए ।

१३ औं मिनेटमा सुमन लामाको प्रहार बाहिरिँदा नेपालले अग्रता लिने अवसर गुमाएको थियो । २६ औं मिनेटमा विमल घर्तीमगरको फितलो प्रहार मोरिससका कप्तान तथा गोलकिपर केभिन जेन लुइसले सहजै नियन्त्रणमा लिएका थिए ।

३५ औं मिनेटमा मोरिससका मिडफिल्डर एड्रियन फ्रान्कोइसको प्रहार नेपालका गोलकिपर किरण कुमार लिम्बुले बचाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा अन्जनले गोलको सुनौलो मौका खेर फाले । बक्सको देब्रेभागबाट गरेको प्रहार सेकेन्ड बारको नजिकैबाट बाहिरियो ।

४६ औं मिनेटमा मोरिससका फर्नान्डो ज्याक्सनको भली प्रहार पोस्टमा लागेर फर्कियो उक्त रिबाउन्ड बललाई नेपालका गौतम श्रेष्ठले क्लियर गरिदिए । ७५ औं मिनेटमा जगजित श्रेष्ठले दायाँ कर्नरबाट प्रहार गरेको फ्रिकिकमा अञ्जन विष्टले गरेको फ्लिक हेड माथिल्लो बारमा लागेर फर्कियो ।

७७ औं मिनेटमा अन्जनले १८ यार्ड बक्सबाट गरेको प्रहार फेरी बारमा लागेर फर्कियो । रिबाउन्ड बललाई जगजित श्रेष्ठले हेडमार्फत पोस्टका दिशा दिन खोजे पनि मोरिससका गोलकिपर केभिन जेन लुइसले उत्कृष्ट बचाउ गरे ।

जगजित चार वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका हुन् । सन् २०१७ मा अस्ट्रेलिया लागेको जगजित ‘ए’ डिभिजन लिग खेल्ने नेपाल आएका थिए । उनी त्रिभुवन आर्मी फुटबल क्लबबाट लिग खेलिरहेका छन् ।

नेपालबाट सुदीप गुरुङ र आकाश बुडामगरले डेब्यु गरे । सुदीप सुरजजिउ ठकुरीको स्थानमा र आकाश तेज तामाङको स्थानमा मैदान प्रवेश गरे । दुवै जारी सातदोबाटो यूथ क्लबका खेलाडी हुन् । नेपालले मोरिससविरुद्ध मंगलबार दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP