मंगलबार , बैसाख २९, २०८३

अभिनेता विपीन कार्कीले बलिउड फिल्म ‘एनिमल’ मा अभिनय गर्ने भएका छन्। फिल्ममा रणवीर कपुर, अनिल कपुर, परिनीति चोपडा, बबी देवलजस्ता चर्चित कलाकारको मुख्य भूमिका छ।

एनिमल तेलुगू फिल्म ‘अर्जुन रेड्डी’ र यसको हिन्दी भर्सन ‘कबिर सिंह’ का निर्देशक सन्दिप रेड्डीले निर्देशन गर्न लागेका हुन्।

बलिउड फिल्ममा काम गर्ने खबर पुष्टि गर्दै अभिनेता विपीनले भने, ‘आगामी जुलाई/अगस्टतिर छायांकन गर्ने गरी दुई हप्ताअघि मौखिक सहमति भएको हो।’

सन् २०२२ को नयाँ वर्षका दिन एनिमलको अनाउन्समेन्ट टिजर युट्युबमा सार्वजनिक गरिएको थियो।

मल्टिस्टारर फिल्ममा विपीन कार्कीको भूमिका कति र कस्तो होला?

‘स्क्रिप्ट पाएको छैन। टाढा भएकोले फिल्मको कथा र मेरो भूमिकाबारे धेरै जानकारी छैन,’ विपीनले भने, ‘तर काम सुरु गर्नका लागि प्रोडक्सन टिमले तपाईंको उपस्थिति सम्मानजनक हुनेछ भन्नुभएकाले आशावादी छु।’विपीनका अनुसार फिल्ममा उनको धेरै दृश्य अनिल कपुरसँग हुनेछ। अनिल, रनवीर, परिनीति र बबीजस्ता कलाकारसँग काम गर्ने कुराले आफूलाई उत्साहित बनाएको उनले बताए।

विपीनले भने, ‘बलिउडसम्मको सपना देख्न सुरू गरेको थिइनँ। किनकी नेपालमै देखेका सपना पूरा हुन बाँकी थियो। तर हरेक कलाकारलाई जस्तै ममा पनि मौका पाए ठूलो र राम्रो काम गर्ने अवसर पाइयोस् भन्ने मनमा लाग्थ्यो।’

उनका अनुसार यसअघि ‘मस्ट वान्टेड’ फिल्ममा अडिसनका मुम्बईबाट बोलाइएको थियो तर उनी त्यसबेला प्रसादको छायांकनमा व्यस्त थिए। जात्रैजात्रापछि पनि केही सिरिजका लागि हिन्दीमा अडिसन भिडिओ पठाउन भनिएको थियो।

‘तर एनिमलमा आएर जुर्‍यो,’ उनले भने।

एक्सन ड्रामा विधाको यो फिल्ममा विपीन ‘सेल्फी किङ’ का निर्देशक विशाल सापकोटामार्फत् जोडिएको बताउँछन्।

निर्देशक विशालले कबिर सिंहको नेपाली भर्सन रिमेक गर्दैछन्। यही सिलसिलामा उनले फिल्मका निर्माता प्रणय रेड्डी भांगालाई आफ्नो फिल्म सेल्फी किङ देखाउने मौका पाएका थिए।

फिल्ममा विपीनको अभिनयबाट प्रभावित भएर त्यहीबेला विशाललाई निर्माता भांगाले काम गर्न चाहेको बताएका थिए।

‘विशालजीले दुई दिनपछि तपाईंलाई मुम्बईबाट फोन आउँछ भन्नुभयो। तर त्यही दिन कल आयो। अझै एक्साइटमेन्टमै छु,’ विपीनले भने।

बलिउडका सफल कलाकार र निर्देशकको फिल्ममा काम गर्ने खबर फैलिएपछि विपीनलाई सामाजिक सञ्जाल र टेलिफोनमा बधाइ दिनेको ओइरो लागेको छ। तर विपीन उत्साहित मात्र छैनन्, डराएका पनि छन्।

उनले डर साटे, ‘आफूले काम गरिरहेको भन्दा ठूलो उद्योग हो बलिउड। ठूलो ठाउँमा काम गर्ने सबैको चाहना हुन्छ। अवसरका रुपमा लिए पनि आफूलाई प्रमाणित गर्नुपर्ने कुराले तनाव बढ्न थालिसक्यो।’

कल्पनामा सीमित भएका मान्छेसँग काम गर्दा नर्भस भइने हो कि भन्ने पनि उनलाई पीर छ। नेपाली उद्योगभन्दा बेग्लै बलिउडको काम गर्ने तौरतरिकासँग आफ्नो शैली मेल खाला नखाला भन्ने सम्मको कुराले उनलाई सताउन थालिसकेको छ।

‘लुट’, ‘पशुपति प्रसाद’ जस्ता फिल्ममा विपीन सहायक भूमिकामा देखिएका थिए। तर मेहनत र अभिनय क्षमताको बलमा उनी आज नेपालका अब्बल अभिनेताका रुपमा दरिएका छन्।

विपीन बलिउडमा काम गर्ने अवसरलाई पनि गुणात्मक बनाउन चाहन्छन्।

‘मेरो काम देखेर ये बन्दा कौन है भन्दै फेरि अर्को फिल्ममा काम गर्ने प्रस्ताव आओस्,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

  चैत्र २४, २०८२ मंगलबार 207 Views

दलान कार्यक्रम भव्य रूपमा सम्पन्न

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP