मंगलबार , अषोज २७, २०८३

हिन्दूधर्मशास्त्रअनुसार बुधबारको दिन बुध ग्रहप्रति समर्पित छ । बुधबारको व्रत बुधग्रहको कुप्रभावको शान्तिकामनाका निम्ति एवं धन, बुद्धि, विद्या र व्यापार वृद्धिका लागि पालना गर्ने गरिन्छ । यस दिन विशेष गरी विथाल–देव (कृष्णको अवतार) को पूजा गरिन्छ ।

कुनै नयाँ कामको थालनाका लागि बुधबारको दिन अति शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफुले चाहेको फल प्राप्त गर्ने विश्वास गरिन्छ । यो व्रत विशाखा नक्षत्रयुक्त बुधबारबाट सुरु गर्नुपर्दछ । यसलाई कमसेकम ७ वटा बुधबारसम्म लिएर मात्र उद्यापन गर्नु पर्दछ ।

व्रत सुरु गर्ने दिन बिहान स्नान गरी शुद्ध भई हरियो कपडा लगाएर भगवानसामु विष्णु नाम जप गर्नु पर्दछ । ‘ॐ बुधाय नमः’ मन्त्रलाई जप गर्नु पर्दछ । यो व्रतमा पनि एकछाक नुन बार्नु पर्दछ । भोजनमा घ्यू, मुंगको दाल अथवा मुंगको दालबाट बनेका परिकार ग्रहण गर्नु पर्दछ । दान गर्दा पनि यिनै चीजहरू दान गर्नुपर्दछ । अन्तिम बुधबारचाहिँ दही, घ्यूले हवन गरी हरियो कपडा दान गर्नु पर्दछ । गाई छ भने गाईलाई सेवा गर्ने गर्नु पर्दछ ।

किम्वदन्तीअनुसार एक पटक सुसुराली गएकी आफ्नी श्रीमतीलाई लिन गएका एक व्यक्तिले बुधरबारको दिन जबरजस्ती श्रीमतीलाई घर ल्याएको र त्यसक्रममा ति व्यक्तिलाई बुध भगवानले परीक्षा लिएको प्रसंग जोडिएको छ । बुधबारको दिन यात्रा गर्न नहुने तर उसले त्यही दिन श्रीमतीलाई सुसुरालीबाट ल्याएको हुँदा बुध भगवानले उनको परीक्षा लिएका हुन्छन् ।

कथाअनुसार घर फर्कने क्रममा श्रीमतीलाई तिर्खा लाग्छ । तिर्खाएकी श्रीमतिका लागि पानी लिन ति मानिस आमखोरा लिएर पानीको खाजीमा जान्छन् । पानी लिएर आउँदा उनले आफु जस्तै अर्को व्यक्ति श्रीमतिसँग सँगै बसिरहेको देख्छ । यो देखेर उ क्रोधित हुँदै आफ्नी श्रीमतीसँग बस्ने तिमी को हौँ भनेर सोध्छ । ऊ जस्तै बहुरुपी व्यक्तिले पनि आफ्नी श्रीमती भएको बताउँछ । ‘म अहिले भर्खरैं ससुरालबाट विदा मागेर आउँदैछु, उनले भन्छन् ।’

दुबै जना एकअर्कासित झगडा गर्न थाले । त्यसै बेला राज्यका सिपाहीहरू आएर त्यो पानी लिन जाने अमखोरा लिएको व्यक्तिलाई समात्न खोज्दै त्यस स्त्रीलाई सोध्छन् – यी दुईजना मध्ये तिम्रो असली पति चाहिँ कुन हो ? त्यसपछि त्यस स्त्रीले जबाब दिन सक्दिन । किनभने दवै व्यक्तिको सम्पूर्ण स्वरूप एकै किसिमको हुन्छ । बिचरी त्यस स्त्रीले कसलाई आफ्नो पति भन्नु, अल्मल्ल परिन् । अनि ईश्वरसित प्रार्थना गर्दै भन्छिन्, ‘हे ईश्वर यो के विचित्रको लीला हो ।’ त्यस स्त्रीको वास्तविक पति पनि ईश्वरलाई पुकारर्दै रुन कराउन थाल्छ ।

उसको धेरै बेरसम्मको विलापपछि आकाशवाणी हुन्छ, ‘मूर्ख आज बुधबारका दिन तैले यात्रा गर्नुहुदैनथ्यो, कसैको कुरालाई वास्ता नगरी यात्रा गरेकाले बुधदेव भगवानले यो लीला देखाउनु भएको हो ।’ त्यस व्यक्तिले त्यसपछि बुधदेव भगवानसित प्रार्थना गर्छ र आफ्नो भूलप्रति क्षमा माग्छ । त्यसपछि भगवान अन्तरध्यान हुन्छन् ।

ऊ आफ्नी स्त्रीलाई लिएर घर जान्छ । त्यस पछि दाम्पत्य सुख एवं कहिल्यै वियोग नहोस् भन्ने उद्देश्यले प्रत्येक बुधबारका दिन पतिपत्नी दुबै नियमपूर्वक व्रत बस्ने तथा पूजाआजा गर्न थाल्छन् । जो व्यक्तिले यस कथालाई श्रवण गर्दछ अथवा सुनाउँछ, त्यसलाई बुधबारका दिन यात्रा गर्नाले कुनै दोष त लाग्दैन नै उसको दाम्पत्य जीवनमा कहिल्यै दुविधा हुने छैन । उसलाई सबै किसिमले सुख प्राप्ति मिल्ने विश्वास रही आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP