मंगलबार , बैसाख २९, २०८३

संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुने एसीसी यू–१९ एसिया कपका लागि नेपाली युवा टाेलीले तयारीलाई तीव्रता दिइरहेको छ ।

उमेर समूहका प्रतियोगितामा कुनै समय बलियो देशको परिचय पाएको नेपालले प्रतियोगितामा बलिया देशसँग प्रतिस्पर्धा गर्दैछ । विश्व कपपछिकै ठूलो प्रतियोगिताको रूपमा हेरिने एसिया कपमा नेपालले राम्रो नतिजा निकाल्ने लक्ष्यका साथ कीर्तिपुरमा रहेकाे त्रिभुवन विश्व विद्यालयको मैदानमा तयारीलाई तीव्रता दिइरहेको छ ।

यू–१९ उमेर समूहका खेलमा बलियो देशको परिचय बनाएको नेपालले एक हप्तापछि यूएईमा एसीसी यू–१९ एसिया कप खेल्दैछ ।

कोरोना महामारीका कारण तय भएका केही अन्तर्देशीय प्रतियोगितामा सहभागी हुन नसकेको अवस्थामा नेपालले झन्डै दुई वर्षपछि अन्तर्देशीय भ्रमण गर्न लागेको हो ।

एसिया कपमा टेस्ट मान्यता प्राप्त देश बङ्गलादेश, श्रीलङ्का र कुवेतले प्रतिस्पर्धा गर्दैछन् । त्यस कारण एसिया कपलाई विश्व कपपछिकै ठूलो प्रतियोगिताका रूपमा हेरिने गरेको छ ।

भर्खरै सम्पन्न यू–१९ प्रतियोगिताबाट छनोट भएका युवा खेलाडीले तयारीलाई उपलब्धिमूलक बनाउने लक्ष्यका साथ अभ्यासलाई तीव्रता दिइरहेका हुन् ।

नेपाली टोलीलाई प्रशिक्षण गराइरहेका प्रशिक्षक वसन्त शाही ठकुरीले छोटो समयको तयारीलाई उपलब्धिमूलक बनाउने लक्ष्यका साथ खेलाडीले मेहनत गरिरहेको र सेमिफाइनलसम्मको लक्ष्य भएको बताए ।

राउन्ड रोबिन लिगका आधारमा सञ्चालन भएको प्रतियोगिताले युवा खेलाडीलाई खेल सुधारका लागि निकै सहयोग पुगेको भन्दै प्रशिक्षक शाही युवा खेलाडीहरू रहेका कारण टिम सन्तुलित रहेको र बलियो देशसँग राम्रो चुनौती दिनेमा आशावादी छन् ।

मुख्य प्रशिक्षक शाहीले यू–१९ प्रतियोगितामा राम्रो ब्याटिङ गरेका खेलाडीहरू टिम समेटिएको भन्दै ब्याटिङ पक्षमा कमजोरी नभएको बताए । तर खेलाडीको फिटनेस र बलिङमा अझै सुधार गर्नुपर्ने बताएका छन् । त्यसका लागि केही दिन बाँकी रहेको भन्दै प्रतियोगिताको मितिसम्म सुधार हुने शाहीले अपेक्षा राखेका छन् ।

प्रतियोगितामा सहभागी हुने नेपाली टोलीले बलिया देशसँग खेल्नु एउटा अवसरको रूपमा हेरिएको छ । समूह चरण पार गरे नेपालले अन्य एसियाली सुपर पावर टेस्ट देशहरू– भारत, पाकिस्तान वा अफगानिस्तानको सामना गर्नेछ ।

नेपाली टोलीका प्रभावशाली खेलाडी देव खनाल पनि प्रशिक्षकले भने जस्तै अहिलेको टोलीमा दुवै ब्याटिङ र बलिङ पक्षमा सबल भएको भन्दै राम्रो नतिजा निकाल्नेमा आशावादी छन् । भर्खरै सम्पन्न यू–१९ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका देव खनालले व्यक्तिगत प्रदर्शनलाई प्रतियोगिताले राम्रो गर्न हौसला मिलेको बताए ।

अर्का खेलाडी शेर मल्लले घरेलु प्रतियोगितामा गरेको प्रदर्शनलाई अन्तर्देशीय खेलमा पनि निरन्तरता दिँदै टोलीलाई सुखद नतिजा दिलाउन सहयोग गर्ने बताए । वर्षाका कारण विश्व कप छनोट खेल गुमाएको पीडालाई भुलाउने लक्ष्य र आईसीसीलाई दाबेदार टोली गुमाउन परेको सन्देश दिन चाहेको बताए ।

डिसेम्बर २३ बाट यूएईमा हुने प्रतियोगितामा आठ टोली एक दिवसीय संरचनामा प्रतिस्पर्धा गर्नेछन् । आयोजकले सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराउँदैछ । जसमा नेपाल समूह ‘बी’ मा रहेको छ ।

समूह ‘बी’ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल बङ्गलादेशविरुद्ध डिसेम्बर २३ यूएईकाे शारजाहमा खेल्नेछ । दोस्रो खेल श्रीलंकाविरुद्ध डिसेम्बर २६ मा खेल्नेछ ।

यस्तै समूह चरणको अन्तिम खेलमा नेपालले कुवेतविरुद्ध डिसेम्बर २८ मा खेल्नेछ । यस्तै समूह ‘ए’ मा भने आयोजक युएई, भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।

दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । दुवै सेमिफाइनल डिसेम्बर ३० मा हुनेछ र फाइनल खेल जनवरी १ मा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP