मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसको १४औं महाधिवेशन आजबाट राजधानीमा सुरु हुँदै छ । कांग्रेसको १३ पदाधिकारी र १ सय २१ सदस्यसहित केन्द्रीय कार्यसमितिमा १ सय ३४ जना चुन्नका लागि केन्द्रीय महाधिवेशन हुन लागेको हो ।

कांग्रेसको यो महाधिवेशनमा नेतृत्व लिनका लागि वर्तमान सभापति शेरबहादुर देउवा, हालका उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, नेता डा शेखर कोइराला र अर्का नेता गोपालमान श्रेष्ठ अघि सरेका छन् ।

यस्तै, नेता कल्याण गुरुङको पनि सभापति पदमा नै दाबी रहँदै आएको छ । यीमध्ये महामन्त्री कोइरालाले भने आफ्नो समर्थन वरिष्ठ नेता पौडेललाई दिएका छन् ।

सभापतिको रेसमा संस्थापन समूहबाट देउवा, निधि र श्रेष्ठ छन् भने इतर समूहबाट अब पौडेल, पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्यसमेत रहेका नेता कोइराला छन् । तेस्रो धारबाट सिटौला अघि बढेका छन् ।

संस्थापन समूहबाट देउवालाई एक्लो उम्मेदवार हुनबाट निधिले छेक्ने सम्भावना छ । श्रेष्ठ भने उम्मेदवारी दिने अवस्थामा नपुग्ने धेरैको आँकलन छ ।

इतर समूहमा पौडेललाई महामन्त्री कोइरालाले साथ दिए पनि नेता सिंह र कोइरालाले टेरेका छैनन् ।

इतर समूहमा सहमतिको प्रयासमा जुट्दै आएका नेता अर्जुननरसिंह केसीले आफ्नो समूहबाट साझा उम्मेदवार तय गर्ने मंगलबार देखिको प्रयास सफल हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।

‘पार्टीभित्रको सुधारवादी आन्दोलनमा साथीहरूबाट सहयोग हुनेभन्दा असहयोग हुने अवस्था बन्दै आयो, साझा उम्मेदवार बनाउन तीन दिनदेखिको प्रयास सफल हुन सकेको छैन । देशभरका नेताकार्यकर्ताको भावनालाई नबुझ्ने हो भने पार्टीलाई नै घात हुन्छ,’ नेता केसीले भने ।

नेता सिंहले भने आफू उम्मेदवारी दर्ताको तयारीमा रहेको भन्दै नेताहरूलाई अब सहमतिको सम्भावना सकिएको जवाफ दिइसकेका छन् ।

‘उहाँले सहमति भए मेरै नाममा गरौं, नभए हुन्न भन्नुभयो, आफ्नो नाममा सहमति नभए अरूलाई मान्दिनँ भन्ने उहाँको प्रस्ट भनाइ छ,’ सिंहसँगको छलफल जानकारी दिँदै एक नेताले भने ।

नेता शेखर कोइरालाले भने सहमति बन्ने अवस्था आए आफू ब्याक हुन तयार रहेको संकेत गर्दै आइरहेका छन् । तर, सिंहलाई भने नछाड्ने उनको आशय छ ।

१३औं महाधिवेशनबाट कांग्रेसभित्र आफ्नो छुट्टै समूह स्थापित गरेका नेता कृष्णप्रसाद सिटौलाको समूह १४औं महाधिवेशनमा पनि निर्णायक देखिएको छ ।

कांग्रेसको ६ वटा प्रदेशमा केही दिनअघि भएको प्रदेश अधिवेशनमा देखिएको परिणामलेसमेत सिटौला जता मिल्यो उही समूहले महाधिवेशनमा जित हात पार्ने देखिएको हो ।

प्रदेश अधिवेशनका क्रममा प्रदेश १ मा सिटौला समूह देउवा समूहसँग मिल्दा सिटौला पक्षको पोल्टामा नतिजा आएको थियो भने बाग्मती प्रदेशमा सिटौला समूहले देउवा समूहलाई सघाउँदा देउवा समूहको पक्षका उम्मेदवार सभापतिमा निर्वाचित बनेका थिए ।

यी सबै परिणामपछि संस्थापन समूहभित्र सिटौलालाई मिलाएर अघि बढ्न सभापति देउवामाथि दबाब बढेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP