मंगलबार , बैसाख २९, २०८३

संस्थापनइतर समूहले साझा उम्मेदवार दिन नसक्दा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा उत्साही छन् । समय बित्दै जाँदा माहोल झन् आफ्नो पक्षमा बढ्ने उनको आँकलन छ ।

संस्थापन इतर समूहबाट धेरै उम्मेदवार बन्दा पहिलो चरणमै बाजी मार्न सक्ने देउवा पक्षको विश्लेषण देखिन्छ । तर, देउवा ढुक्क छैनन् । रातारात संस्थापनइतर समूह एक भई आफूविरुद्ध छापामार शैलीमा महाधिवेशनमा होमिएमा देउवाको हालत राष्ट्रिय प्रजातन्त्र पार्टीमा कमल थापाको जस्तै हुनसक्छ । थापाले जसरी नसोचेको परिणाम आयो देउवालाई त्यस्तै हुनसक्छ ।

संस्थापन इतर समूहबाट ४ जना सभापतिको दाबेदार देखिएकोमा घटेर २ जना पुगेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल ब्याक भएर सबैले छाडेमा मात्र तयार देखिएका छन् ।
अब प्रकाशमान सिंह र डा. शेखर कोइरालाबीच रस्साकस्सी चलिरहेको छ । त्यो कहिलेसम्म चल्ने हो चासो बनेको छ । महाधिवेशनको मनोनयन दर्ता अघि या लगत्तै एउटा उम्मेदवार ब्याक हुने सम्भावना पनि छ । त्यसका लागि पावर सेयरिङको विषय चलिरहेको छ । कुरा मिल्न सकेको छैन ।

संस्थापन इतरबाट साझा उम्मेदवार बनेमा उनीहरु बहुमतको नजिक पुग्न सक्छन् । तर, समूहभित्र इमान्दारिता अनिवार्य भएमात्र । साझा उम्मेदवारले माहोल सृजना गर्न सक्छ । जसले संस्थापन पक्षको मत रातारात पल्टनसक्छ ।

देउवासँग तत्काल एकल बहुमत छैन । उनले विकल्पहरु हेरिरहेका छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई मिलाएर लाने योजनामा छन् । तर, सिटौलाको मत जोड्दा पनि बहुमत नपुग्नसक्छ । अर्कोतर्फ, सिटौला आफै दाबेदार छन् । उनी पनि मौकाको पर्खाइमा छन् ।

देउवाले संस्थापनइतरमा कुरा नमिल्दा प्रकाशमान सिंह या कोइराला परिवारका कुनै सदस्यलाई तान्ने रणनीति पनि बनाएको बुझिएको छ । सिंह अडानका पक्का भएकाले सम्भावना कमजोर छ । तर, राजनीतिमा असम्भव भन्ने हुँदैन । कोइराला परिवारका सदस्य देउवासँग मिलिहाल्ने सम्भावना पनि कमजोर छ । शक्तिको बाँडफाँडका क्रममा त्यो सम्भावना पनि रहन्छ ।

संस्थापन इतर समूह एकजुट भई यताउता नभए देउवालाई अर्को कार्यकाल सभापति बन्नबाट रोक्ने माहोल सृजना हुनसक्छ । रातारात पासा पल्टन सक्छ । उम्मेदवार जो भएपनि संस्थापनइतरभित्र इमान्दारिताका साथ महाधिवेशनमा मत खसे देउवाको पुनः सभापति बन्ने सम्भावना लगभग समाप्त हुनसक्छ ।

देशभरको मत परिणाम हेर्दा सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.सशांक कोइरालाले गण्डकी र लुम्बिनीमा बलियो पकड बनाएका छन् । त्यहाँ संस्थापन पक्षलाई इतर समूहले पछाडि पारेको छ । प्रदेश १ मा डा. शेखर कोइरालाले संस्थापनसँग उस्तै अवस्था बनाएको छ । त्यहाँ देउवा र सिटौला मिल्दा पनि इतर समूहसँग केही मतले पछाडि छ । इतर समूहका केन्द्रीय सदस्यहरुले प्रदेशमा मतदान नगरेकोले मात्र पछि परेको हो । बागमती प्रदेशमा पूर्वमहामन्त्री प्रकाशमान सिंहले विगतभन्दा बलियो पकड बनाएका छन् । बागमतीमा सिटौला पक्ष विगतभन्दा कमजोर भएको छ । प्रदेश चुनावको नतिजामा संस्थापनले जितेपनि महाधिवेशन प्रतिनिधिमा इतर समूह केही मतले अगाडि देखिन्छ ।

सुदूरपश्चिम प्रदेशमा देउवा निकै बलियो स्थितिमा छन् । कर्णालीमा केही बलियो छन् । यो मतलाई केलाउँदा प्रदेश २ को मत निर्णायक हुनसक्छ । प्रदेश २ मा देउवा ढुक्क छैनन् । त्यहाँको ठूलो मत कुनैपनि बेला फरक धारमा पल्टनसक्छ । प्रदेश २ को ८ सय मतमध्ये कम्तिमा साँढे ३ सय मत आफ्नो पक्षमा पार्न सके देउवा सफल हुनसक्छन् । तर, त्यसमध्ये केही मत तल पर्ने वित्तिकै सभापतिको प्रतिष्पर्धा कठिन हुनसक्छ । देशभरको मतको आँकडा हेर्दा पौडेल, सिंह र कोइरालाद्वय एक भएर साझा उम्मेदवार तय गरेमा परिस्थिति बदलिन सक्छ । पासा रातारात पल्टनसक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP