मंगलबार , बैसाख २९, २०८३

विद्यालय खुलेको झन्डै दुई महिना बितिसक्दा पनि विद्यार्थीलाई कोरोना संक्रमण बिरुद्धको खोप लगाउन कुनै निर्णय नगरेपछि सरकारको आलोचना भएको छ । विद्यार्थीले यति दुःख पाउँदा पनि सरकारले खोप दिन नसकेको भन्दै संसद्को शिक्षा तथा स्वास्थ्य समितिको आइतबार बसेको बैठकमा सांसदहरूले खोपको सुनिश्चितता गर्न आग्रह गरेका थिए ।

बैठकमा समितिका सभापति जयपुरी घर्तीले खोपको विषयमा तत्काल निर्णय गर्न सरकारलाई आग्रह गरेपछि स्वाथ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकारको अबको प्राथमिकता विद्यार्थीलाई खोप लगाउने नै भएको बताउनुभएको थियो । उहाँले भन्नुभयो–‘पुषदेखि विद्यार्थीलाई विद्यालयमै खोप उपलब्ध गराइन्छ । १२ देखि १८ वर्ष उमेर समूहका विद्यार्थी लक्षित गरी खोप उपलब्ध गराउन मन्त्रालयले तयारी गरिसकेको छ ।’

यसअघि प्याब्सन, राष्ट्रिय प्याब्सन लगायतका निकायले विद्यार्थीलाई खोप उपलब्ध गराउन आग्रह गरिसकेका छन् । ती संगठनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई भेटेर खोप उपलब्ध गराउन ज्ञापनपत्र दिइसकेका छन् ।
मन्त्री खतिवडाले देशैभरका सबै विद्यार्थीलाई अमेरिकी कम्पनीले निर्माण गरेको मोर्डना खोप ५ चरणमा उपलब्ध गराउने जानकारी दिनुभयो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांकअनुसार करिब ६५ लाख विद्यार्थीलाई खोप लगाउन बाँकी छ । केन्द्रका महानिर्देशक चुडामणि पौडेलले करिब दुई लाख विद्यार्थीले मात्र खोप लगाएको र अझै ६५ लाख विद्यार्थी कोभिड–१९ खोपबाट वञ्चित रहेको जानकारी दिनुभयो ।उहाँका अनुसार सरकारले १२ वर्षमाथि उमेर समूहका बालबालिकालाई स्वास्थ्य मन्त्रालयले खोपको व्यवस्था गर्ने तयारी गरेको छ ।

समितिको बैठकमा बोल्दै मन्त्री खतिवडाले सरकारले कोभिड–१९ विरुद्धको खोप लगाएको तीन महिना नाघेका नागरिकलाई बुस्टर डोज दिने तयारी भइरहेको बताउनुभयो । उहाँले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले खोप लगाइसकेका सबैलाई बुस्टर डोज दिने निर्णय गरी सोहीअनुसार प्रकृया अघि बढाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘बुस्टर डोजको लागि आवश्यक पर्ने थप एक करोड मात्रा खोप ल्याउन प्रक्रिया अघि बढाइसकिएको छ ।’ बैठकमा मन्त्री खतिवडाले खोप केन्द्रको संख्या बढाएर १६ हजार पु¥याउने तयारी पनि भइरहेको जानकारी दिँदै भन्नुभयो–‘खोप केन्द्र करिब ५ हजार छन्, १६ हजार पु-याएर दैनिक २ लाख मात्रा खोप दिने तयारी भइरहेको छ ।’ उहाँले निर्वाचनको समयमा बुथबाटै पनि खोप दिन सकिने धारणा पनि अघि सार्नुुभएको थियो ।

समितिमा परिवार कल्याण महाशाखा प्रमुख डा. विवेकलाल कर्णले स्वस्थ व्यक्तिलाई दोस्रो मात्रा खोप लगाएको ३ देखि ६ महिनाभित्र बुस्टर डोज दिन मिल्ने बताउनुभयो । उहाँले दीर्घ रोगीलाई पहिलो प्राथमिकतामा र त्यसपछि सबैलाई बुस्टर डोज खोप दिनेगरी तयारी अघि बढाइएको बताउनुभयो ।

समितिका सभापति घर्तीले नेपालमा पनि कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस प्रवेश गर्नसक्ने भन्दै त्यसलाई रोक्न तत्काल योजना बनाउन सरकारलाई निर्देशन दिनुभयो । समितिको बैठकले आज सोमबार निर्णय सार्वजनिक गर्ने जनाएपछि आइतबार भएको बैठकमा ओमिक्रोनको बारेमा बढी चर्चा भएको थियो । डेल्टा भेरियन्ट भन्दा पनि खतरनाक मानिएको ओमिक्रोनबाट विश्वमा हालसम्म मुत्यु भएको खबर नआए पनि गम्भीर हुनुपर्नेमा समितिले जोड दिएको छ ।

विश्वका ४० मुलुकमा फैलिएको सो भेरियन्ट नेपालमा आउन नदिन सरकारले सबै नाकामा चेकजाँचमा कडाइ गरेको छ । विशेषगरी वीरगञ्ज, नेपालगञ्ज, धनगढी, भैरहवालगायत भारतसँग सीमा जोडिएका नाकामै कोभिडविरुद्धको खोप लगाउन शुरू गरिएको छ ।मन्त्रालयले नाकाबाट प्रवेश गर्ने सबै भारतीय नागरिकको अनिवार्य खोप कार्ड जाँच गर्ने व्यवस्था गरेको छ । बैठकमा मन्त्री खतिवडाले ओमिक्रोन भाइरस नियन्त्रण गर्न मन्त्रालयले सबै उपाय अवलम्बन गरेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP