मंगलबार , बैसाख २९, २०८३

बैंक लुटेराहरूको कथामा बनेको ‘लुट’ नेपालमा सुपरहिट भएको थियो। निश्चल बस्नेतको यो फिल्ममा सौगात मल्ल उर्फ ‘हाकू काले’ बैंक लुट्ने योजना बनाउँछन्। सौगातको स्वरमा गुञ्जिने ‘काठमाडौं सहर हेर्दा लाग्छ रहर, साला गिद्दै गिद्दको सहर’, ‘बल होइन पासा दिमाग लगा दिमाग’ र ‘मसँग बैंक लुट्ने मास्तरप्लान छ’ जस्ता डाइलग आज पनि धेरैले सम्झेका छन्।

नेटफ्लिक्सको सुपरहिट वेब-सिरिज ‘मनी हाइस्ट’ हेर्दा लुटको सम्झना ताजा भएर आउँछ।

लुटमा जस्तै मनी हाइस्टमा पनि मुख्य पात्रले बैंक डकैतीको योजना बनाउँछ, योजना फत्ते गर्न काबिल मान्छेहरू खोज्छ र डकैती गर्नुअघि बैंकमा कसरी घुस्ने, त्यहाँका कर्मचारी र ग्राहकलाई कसरी बन्दी बनाउने र कसरी भाग्नेसम्मको विस्तृत मास्टरप्लान बनाउँछ।

तर मनी हाइस्टमा केही यस्ता चिज छन् जसले यसलाई नेपाली फिल्म लुट वा यस्तै कथावस्तु भएका अन्य फिल्म वा सिरिजभन्दा विशेष बनाउँछ।

पहिलो त, डकैतीका योजनाकार अर्थात् मुख्य पात्रको सोच वा काम गर्ने शैली नै हो।

लुटका हाकु काले बैंकको पैसा लुटेपछि आफ्नै साथीहरूलाई फसाउने षड्यन्त्र गर्छन्। जबकि, मनी हाइस्टमा मुख्य योजनाकार अर्थात् ‘प्रोफेसर’ आफ्नो योजना सफल बनाउन मात्र होइन, बैंकभित्र घुसेका साथीहरूलाई सकुशल बाहिर ल्याउन पनि कुनै कसर छाड्दैनन्।

उनी एउटा स्टोरजस्तो अँध्यारो कोठामा बसेर आफ्ना साथीहरूसँग हरक्षण टेलिफोन सम्पर्कमा रहन्छन् र प्रहरीसँग नेगोसिएसन पनि अघि बढाउँछन्। उनी आफ्ना साथीहरूलाई यस्तो माया गर्छन्, मानौं सबै एकै परिवारका सदस्य हुन्।

बैंकबाट लुट्ने सुन वा पैसामा मात्र उनको चासो छैन, उनी यो मिसनमा आफ्ना कुनै साथी गुमाउनु नपरोस् भनेर उत्तिकै दत्तचित्त रहन्छन्।

स्पेनिस भाषाको यो वेब-सिरिजमा प्रोफेसर मात्र आफ्ना साथीहरूलाई माया गर्ने होइन। ती साथीहरू पनि एकअर्काका लागि ज्यान दिन तयार रहन्छन्। उनीहरूबीचको नोकझोंक, लडाइँ, मित्रता र प्रेमलाई यसमा अत्यन्तै मिहिन रूपमा देखाइएको छ।

झट्ट हेर्दा मनी हाइस्ट डकैती वरिपरि घुमेजस्तो देखिन्छ। तर डकैत त कथाको पृष्ठभूमि मात्र हो। सारमा मनी हाइस्ट मित्रताको कथा हो। प्रेमको कथा हो। सबभन्दा मुख्य कुरा, यो विश्व एकताको सन्देश दिने कथा हो जसलाई सिरिजका पात्रहरूको नामले पुष्टि गर्छन्।

मुख्य पात्र प्रोफेसरले आफ्नो योजना कार्यान्वयन गर्न एक-एक सदस्य आफैं चुन्छन्। ती सदस्यलाई गिरोहमा सामेल गराएपछि उनी तिनको नाम बदल्छन्, ताकि अरूको निम्ति परिचय गोप्य रहोस्। यहाँ ती पात्रको वास्तविक नाम प्रोफेसरबाहेक गिरोहका अन्य सदस्यलाई पनि थाहा हुँदैन।

प्रोफेसरले समूहका साथीहरूलाई दिने नक्कली नाम रोचक छ। ती सबै संसारका ठूल्ठूला सहरका नामबाट लिइएका छन् – बर्लिन, टोकियो, नैरोबी, रियो, डेन्भर, हेलसिन्की, ओस्लो र मस्को।

सिरिजभरि पात्रहरू एकअर्कालाई यही छद्म नामले बोलाउँछन्। त्यसैले सिरिज हेर्दा यस्तो लाग्छ, हामी संसारका विभिन्न सहरका मान्छेसँग एकसाथ साक्षात्कार गर्दैछौं। विश्वका सबै मुलुकबीच एकता हुने हो भने जस्तोसुकै कठिन काम फत्ते गर्न गाह्रो छैन भन्ने यो सिरिजको सन्देश हो। पछिल्लो समय विश्वव्यापी कोरोना महामारीसँग जुध्न हामीलाई यस्तै विश्व एकताको खाँचो छ।

सिरिजमा स्पेनिस अभिनेता अल्भारो मोर्ते प्रोफसरका रूपमा देखिएका छन्। उनी स्पेनको पैसा छाप्ने सरकारी कम्पनी ‘रोयल मिन्ट अफ स्पेन’ मा छिरेर सकेसम्म धेरै पैसा छाप्ने र भाग्ने योजना बनाउँछन्। सिरिजमा उनको बाल्यकाल अस्पतालमा बितेको भनिएको छ जसले उनी शारीरिक रूपमा कमजोर देखिन्छन् तर मानसिक रूपमा निकै तीक्ष्ण छन्।

प्रोफेसरले डकैती योजना पनि अस्पतालमै बनाएका हुन्छन्। साथीहरूलाई कम्पनीभित्र छिराएर उनी बाहिरबाट निर्देशन दिँदै लुटको योजनालाई परिणामसम्म पुर्‍याउँछन्। यति ठूलो डकैती गर्नेहरू पनि अपराधीजस्तो नलाग्नु, उल्टो उनीहरूप्रति नै सहानुभूति जाग्नु सिरिजको अर्को सबल पक्ष हो।

यसको निम्ति निर्देशक एलेक्स पिनाले उनीहरूलाई लुटेरा होइन, बरू विद्रोहीका रूपमा चित्रण गरेका छन्। सायद त्यसैले सिरिजको थिम गीतमा पनि स्पेनको युद्धसँग जोडिएको गीत राखिएको छ। जबकि, उनीहरूलाई पक्रन गोलाबारूद, तोप र हेलिप्टरसहित आएका प्रहरी अधिकारीहरूलाई भ्रष्ट, मानवताविरोधी र गैरजिम्मेवार ‘सिस्टम’ का रूपमा देखाइएको छ।

सिरिजमा हरेक चोरका फरक कथा छन्, हरेक पात्रसँगका ट्विस्ट फरक छन्।

उदाहरणका लागि, ‘बर्लिन’ एक गहना चोर हुन् जो मानसिक रूपमा सन्की छन्। उनको त्यही स्वभावका कारण टिमको नेतृत्व गर्न दिइँदैन। लागुपदार्थ व्यापार गरेको आरोपमा अदालतले ‘सन्तान हुर्काउन अयोग्य’ भनेपछि छोरी गुमाएकी ‘नैरोबी’ मा ममताको संवेदना र न्याय व्यवस्थाप्रतिको आक्रोश झल्किन्छ।

‘टोकियो’ अलि विक्षिप्त अवस्थामा छिन्। कुनै अर्को डकैती गर्दा प्रहरीको गोली लागेर प्रेमी मारिएपछि उनी आफूलाई सम्हाल्न सकिरहेकी छैनन्। उनी मारिएका प्रेमीलाई सम्झनाबाट निकाल्न सकिरहेकी छैनन्। यसैबीच भर्खर किशोर उमेरका ह्याकर ‘रियो’ टोकियोको प्रेममा पर्छन्। उता ‘डेन्भर’ र ‘मस्को’ बाबुछोरा हुन्। डेन्भरले लागुपदार्थ गिरोहसँग लिएको ऋण चुक्ता गर्न यी बाबुछोरा प्रोफेसरको ग्याङमा सामेल भएका हुन्। उनीहरूका माध्यमबाट मनी हाइस्टले बाबुछोराको हृदयस्पर्शी सम्बन्ध झल्काएको छ।

युद्ध लडेका सिपाही दाजुभाइ ‘हेलसिन्की’ र ‘ओस्लो’ पनि सिरिजमा छन् जसको इच्छा पैसा कमाउने र सर्वियामा रहेको परिवारलाई आर्थिक रूपले सहायता गर्ने हुन्छ।

सिरिजमा आउने अन्य सहायक पात्रहरू पनि रोचक छन्। ‘अर्टुरो’ बैंककै कर्मचारी हुन् जो लुटेराहरूको बन्धक बनेका छन्। त्यही बैंककी कर्मचारी ‘मोनिका’ पनि बन्धक छिन्। मोनिका पहिले अर्टुरोको यौन शोषणमा परेकी हुन्छिन्। पछि उनी ‘डेन्भर’ लाई मन पराउन थाल्छिन् र ‘स्टकहोल्म’ का रूपमा डकैत समूहमा सामेल हुन्छिन्।

सिरिजको पहिलो भागमा यी पात्रहरूको व्यक्तिगत कथा भन्न अलि बढी समय लिइएको छ। तर यही व्यक्तिगत कथाले पछि घटनाक्रम अघि बढ्दै जाँदा उनीहरूको भावना बुझ्न सघाउँछ।

यो सिरिज लैंगिक समानतावादी छ। यसमा न डकैती समूहमा पुरूषहरूको एकछत्र छ, न उनीहरूलाई पक्रन जुटेका प्रहरी टोलीमा। डकैती समूहमा दुई प्रमुख पात्र नै महिला छन् भने प्रोफेसरसँग नेगोसिएसन गर्ने प्रहरी अधिकारीमा पालैपालो दुई जना महिला देखाइएको छ जो स्पेनका काबिल अफिसर हुन्।

सबभन्दा महत्वपूर्ण कुरा त, लुटेराहरूलाई पक्रने मिसनमा खटिएकी इन्स्पेक्टर नौ महिनाको गर्भवती हुँदा पनि हार मान्दिनन्। उनी एक्लै प्रोफेसर लुकेको ठाउँसम्म पुग्छिन्, प्रोफेसरलाई बन्दी बनाउँछिन् र त्यहीबीच बच्चा पनि जन्माउँछिन्। उनलाई बच्चा जन्माउनमा प्रोफेसरले नै सहयोग गर्छन्। यो घटनाले एकातिर महिला साहसको चित्रण गर्छ भने अर्कातिर प्रोफेसर वा लुटेराहरू कति मानवीय छन् भन्ने सहानुभूति पनि जन्माउँछ।

नेटफ्लिक्समा मूलभाषा स्पेनिस सँगसँगै अंग्रेजी र हिन्दीमा पनि हेर्न सकिने यो सिरिज ‘एलेक्स पिना’ ले बनाएका हुन्। स्पेनिस भाषामा यसको नाम ‘ला कासा डी पपेल’ राखिएको थियो। नेटफ्लिक्सले सन् २०१७ मा किनेर ‘मनी हाइस्ट’ नामाकरण गरी प्रसारण गरेपछि यो अहिले विश्वभर चर्चित छ। कतिसम्म भने, सिरिजमा लुटेराहरूले लगाउने रातो रंगको जम्पसुट र मस्कट धेरै देशका जनता आफ्ना विरोध प्रदर्शनहरूमा प्रयोग गर्न थालेका छन्।

यसका पाँच सिरिज नेटफ्लिक्समा पहिल्यै रिलिज भइसकेका छन् भने आज डिसेम्बर ३ मा पाँचौं सिरिजको अन्तिम प्रसारण हुँदैछ। यसलाई मनी हाइस्टकै आखिरी भागसमेत भनिएको छ।

सिरिजमा प्रयोग भएका ब्याकग्राउन्ड म्युजिक र हलिउड फिल्मकै श्रेणीका एक्सन दृश्यले भरपुर मनोरञ्जन दिन्छन्। सिरिजका पात्रहरूको जीवनसँग जोडिएका साना-मसिना उपकथाहरूले पनि तपाईंलाई बाँधेर राख्नेछ।

यति हुँदाहुँदै सिरिजमा लुटेराहरूलाई नायक देखाउन सिस्टमलाई चाहिनेभन्दा बढी कमजोर, निरीह र मूर्ख देखाउन खोजिएको छ। आपराधिक पृष्ठभूमि भएका र बैंक लुट्ने क्रममा सर्वसाधारणलाई समेत बन्दी बनाउन तयार हुने डकैतहरूलाई मानवतावादी देखाउन बढी नै अपत्यारिला घटनाहरू बुनिएका छ। समग्रमा यस्तो लाग्छ, उनीहरू संसारकै असल र इमान्दार मानिस हुन् जो परिबन्दले मात्र ‘रोयल मिन्ट अफ स्पेन’ लुट्न पुगेका छन्।

यसरी जुनसुकै रूपमा भए पनि डकैतीलाई ‘ग्ल्यामराइज’ गर्नु मनी हाइस्टको सबभन्दा कमजोर पक्ष हो।

प्रतिक्रिया

सम्बन्धित खवर

  चैत्र २४, २०८२ मंगलबार 207 Views

दलान कार्यक्रम भव्य रूपमा सम्पन्न

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP