मंगलबार , बैसाख २९, २०८३

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामालाई ‘बटमलाइन’ बनाएका न्यायाधीशहरू इजलासमा फर्किने भएका छन् । इजलास अवज्ञा गर्दै आएका सर्वोच्चको पूर्ण बैठकपछि इजलासमा फर्किन तयार भएका हुन् ।

पूर्ण बैठकले गोलाप्रथाबाट पेसी व्यवस्थापन गर्ने निर्णय गरेपछि उनीहरू इजलासमा बसेर मुद्दाको सुनुवाइ गर्न तयार भएका हुन् । यससँगै ८ कात्तिकदेखि उनीहरूले गर्दै आएको इजलास अवज्ञा तोडिएको छ ।

अब सर्वोच्चबाट नियमित न्याय सम्पादन हुने भएको छ । यसअघि दैनिक तीन सयको संख्यामा मुद्दा रद्ध हुँदै आएको थियो । न्यायाधीशहरू इजलासमा नबसेका कारण मुद्दा रद्ध भएका थिए ।

असन्तुष्ट न्यायाधीशहरू समेत इजलासमा बसेर मुद्दाको सुनुवाइ गर्ने भएपछि प्रधानन्यायाधीश जबरालाई राहत मिल्ने देखिएको छ । २४ दिनदेखि न्याय सम्पादन प्रभावित हुँदा प्रधानन्यायाधीश जबरा र न्यायाधीशहरू पनि आलोचित थिए ।

न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, टंकबहादुर मोक्तानसहित १९ जना नै भोलि शुक्रबारदेखि इजलासमा हुनेछन् । उनीहरुले बन्दीप्रत्यक्षीकरणसँगै अन्य मुद्दाहरूको सुनुवाइ गर्ने भएका छन् ।
न्यायाधीधशहरुले कार्की प्रतिवेदनको सुझाब कार्यान्वयन गर्नुपर्ने माग गर्दै आएका छन् ।
तर, सो सुझाब कार्यान्वयन भएको खण्डमा न्यायालय नै भड्खालोमा पर्ने तर्क प्रधानन्यायाधीश जबराको छ । प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको यही मतभिन्नताले न्यायालयको सेवामा असर पर्दै आएको हो ।

प्रधानन्यायाधीश जबराले कात्तिकको तीन साता अत्यन्तै अप्ठ्यारो स्थितिमा बिताए । यसबीचमा उनको राजीनामा मात्रै माग भएन, उनीविरुद्ध कालोपट्टी बाँधेर कानुन व्यवसायीहरू आन्दोलित मात्र भएनन्, उनीविरुद्ध अनेकन लाञ्छनायुक्त नारा पनि लगाए ।

कानुन व्यवसायीले प्रधानन्यायाधीशलाई ‘भ्रष्टाचारीको नाइके, बिचौलियाको नाइके’सम्म भन्न भ्याए । अझै पनि बार आन्दोलित छ । न्यायाधीशहरू इजलासमा आउने भएपछि भने जबरालाई केही सहज हुने भएको छ ।

कार्की प्रतिवेदन कार्यान्वयन

न्यायालयमा देखिएको भ्रष्ट्राचार, विकृति र विसंगति नियन्त्रण गर्न न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठित समितिले बुझाएको प्रतिवेदनको एउटा सुझाब भोलिदेखि कार्यान्वयन हुने भएको छ । त्यो हो, गोलाप्रथाबाट पेसी व्यवस्थापन ।

कार्की प्रतिवेदनको सुझाबमा पहिलो प्राथमिकता भने स्वचालित प्रणाली छ । आवश्यक प्राविधिक पूर्वाधार तयार नभएकाले दोस्रो विकल्पको रूपमा रहेको गोला प्रथा कार्यान्वयनमा जाने भएको हो ।

यसप्रति जबरा भने अझै अनिच्छुक छन् । तैपनि कार्यान्वयन हुने पक्का भएको छ ।

राजीनामाको माग

कानुन व्यवसायीको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेपछि बार झनै आक्रोशित भएको छ । बारले दुई दिनभित्रमा राजीनामा दिन जबरालाई समयसीमा दिएको छ ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आज आकस्मिक बैठकपछि आयोजित पत्रकार सम्मेलनमा जबरा न्यायालय सुधारको बाधक भन्दै उनको राजीनामा पहिलो सर्त भएको बताए ।

राजीनामा नआएसम्म देशभरका कानुन व्यवसायी आन्दोलनबाट पछि नहट्ने उनको भनाइ छ ।

आज बिहान सर्वोच्च परिसरमा कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको थियो । स्थिति तनाबग्रस्त हुने भएपछि प्रहरीले केही कानुन व्यवसायीमाथि लाठी चार्जसमेत गरेको थियो ।

सो क्रममा अध्यक्ष श्रेष्ठसहित १२ जना घाइते भए । माइतीघरमा रहेको अन्नपूर्ण अस्पतालमा उपचारपछि उनीहरू डिस्चार्ज भइसकेका छन् ।

शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएको भन्दै उनीहरूले सरकारले तत्काल घटनाको छानबिन गरेर सत्यतथ्य सार्वजनिक नगरे कानुन व्यवसायीमाथि न्यायालयमा भएको दमनको मुद्दालाई अन्तर्राष्ट्रिय गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP