
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत दोस्रो सेमिफाइनलमा पाकिस्तानले अस्ट्रेलियाविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अस्ट्रेलियाका कप्तान अरोन फिन्चले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि पकिस्तानले ब्याटिङको निम्तो पाएको हो । आजको खेलमा जित निकाल्दै पाकिस्तान फाइनलमा पुग्ने योजनामा छ । पाकिस्तान सुपर–१२ मा अपराजित रहँदै सेमिफाइनलमा पुगेको हो ।
पाकिस्तान टी–ट्वान्टी विश्वकप क्रिकेटमा दुईपटक फाइनल पुगिसकेको टोली हो । सन् २००७ मा फाइनलमा भारतसँग पराजित भएको थियो । सन् २००९ को विश्वकप फाइनलमा श्रीलंकालाई हराउँदै च्याम्पियन बनेको थियो ।
अस्ट्रेलिया पनि कमजोर टोली भने होइन । सन् २०१० को विश्वकप क्रिकेटमा फाइनल पुगेर उपाधि जित्न चुकेको अस्ट्रेलिया पाकिस्तानलाई हराउँदै उपाधिका लागि न्युजिल्यान्डसामु बलियो चुनौती पेस गर्ने योजनामा छ ।
अस्ट्रेलिया र पाकिस्तानबीच टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म २३ खेल भएका छन् । जसमा पाकिस्तानले १३ खेल जितेको छ भने अस्ट्रेलिया नौ खेलमा विजयी भएको छ । दुई टोलीबीच टी–ट्वान्टी विश्वकपमा भएका ६ मध्ये पाकिस्तान र अस्ट्रेलियाले समान तीन/तीन खेलमा जित हासिल गरेका छन् ।