मंगलबार , बैसाख २९, २०८३

सल्यानमा आइतबार भएको बस दुर्घटनामा १२ यात्रुको मृत्यु भएको छ । २८ यात्रु घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका दुलधाराबाट दाङको तुलसीपुरका लागि छुटेको ना.१ख २५५२ नम्बरको बस बिहान ११ बजेतिर कपुरकोट गाउँपालिका– ५ खारखोलामा दुर्घटना भएको थियो ।प्रहरीका अनुसार दुर्घटनामा सल्यानको शारदा नगरपालिका– १२ का ५३ वर्षीया प्रभा चलाउने, वडा नम्बर २ की ६१ वर्षीया मीना डाँगी, वडा नम्बर ३ बस्ने ६६ वर्षीया लीला बुढाथोकी र त्रिवेणी गाउँपालिका– १ काभ्राकी २४ वर्षीया मीना शाहीको मृत्यु भएको छ ।

त्यस्तै, दाङको बबई गाउँपालिका–४ की ६० वर्षीया डुली रेउले, वडा नम्बर ६ पञ्चकुलेकी ७० वर्षीया कलावली बुढाथोकी, छत्रेश्वरी गाउँपालिका– २ का २९ वर्षीय तिलक वली, घोराही उपमहानगरपालिकाको नारायणपुर बस्ने ६५ वर्षीया इन्द्रा अधिकारी, शान्तिनगर गाउँपालिकाकी ३५ वर्षीया सावित्रा केसी र दाङ कोरवाङका पाँच वर्षीय सुरज वलीको पनि ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोविन्द थापाले मृत्यु भएकामध्ये दुईजनाको अझै सनाखत भइनसकेको बताए । आठ यात्रुको घटनास्थलमै र बाँकी चारको श्रीनगर र खलंगामा उपचारका क्रममा ज्यान गएको उनले बताए । गम्भीर घाइते आठजनालाई हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि कोहलपुरस्थित अस्पताल पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईंले बताइन् । १५ घाइतेको तुलसीपुर, सल्यानको श्रीनगर र जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते पाँचजना भने उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । घाइतेहरू धेरै हुँदा अस्पतालमा ठाउँ अभावका कारण केहीबेर उपचारमा समस्या भएको थियो ।

तिहार मनाएर बसमा फर्किन लागेका महिला र बालबालिका धेरै थिए । चालकको लापरबाही नै दुर्घटनाको मुख्य कारण भएको अनुमान प्रहरीको छ । तीव्र गतिका कारण सहज ठाउँमा पनि दुर्घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ । तर, घटनाबारे थप अनुसन्धान गरेर दुर्घटनाको कारण पहिचान गर्ने डिएसपी थापाले बताए । बसचालक भने फरार छन् ।यात्रुहरूले पनि चालकले मदिरा सेवन गरेको हुन सक्ने बताएका छन् । लुहामबाट बस चढेकी घाइते हीराकुमारी बोहराले दुर्घटना हुनुभन्दा पहिले अर्को एक ठाउँमा पनि झन्डै दुर्घटना गराएको बताइन् । ‘त्यतिखेर धन्नधन्न ज्यान बचेको थियो, खारखोलामा त पल्टायो नै,’ उनले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP