मंगलबार , बैसाख २९, २०८३

खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहालाई जनमत पार्टीका नेता/कार्यकर्ताले कुटपिट गर्दै ‘बन्धक’ बनाएर नगर परिक्रमा गराएका छन्।

जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बलवा क्षेत्रमा खनिएको ढलको खाल्डो नपुरेको भन्दै उनीमाथि कुटपिट गरेका हुन्। जनमत पार्टीका अध्यक्ष सिके राउत बलवा क्षेत्रका बासिन्दा हुन्।

लाठी भाटासहित सयौंको संख्यामा पिडारीचोकस्थित कार्यालय पुगेका जनमत पार्टीका नेता कार्यकर्ताले त्यहीँबाट कुशवाहाको कठालो समात्दै लछारपछार गरेर बन्धक बनाएका थिए।

‘लाठी भाटासहित सयौं जना ढोका, गाडी, कम्प्युटर तोडफोड गर्दै उनीहरू कार्यालय छिरेका थिए। अन्य कर्मचारीलाई पनि हातपात गरे। राजेश सरलाई कुट्दै उनीहरूले बाहिर निकालेर जुलुसमासँगै लगे,’ कार्यालयका एक कर्मचारीले भने।

उनका अनुसार कार्यालय परिसरमा पार्क गरिराखिएका मोटरसाइकल, गमला लगायत भौतिक संरचना समेत उनीहरूले तोडफोड गरेका छन्।

कार्यालयबाट बन्धक बनाएर लगेको करिब एक घण्टा नगर परिक्रमा गराएपछि मात्र प्रहरीले कुशवाहाको उद्धार गरेको थियो। प्रदर्शनकारीले प्रहरीलाई समेत हातपात गरेका छन्।

‘यिनीहरूले कार्यालय प्रमुखलाई बन्धक बनाउने वा त्यस्तो केही गतिविधि गर्ने प्रहरीलाई सूचना थिएन। जुलुस रामानन्द चोक आइपुग्दा प्रहरी टोली पुगेको थियो। रेस्क्यु गर्न खोज्दा प्रदर्शनकारीले प्रहरीलाई नै कुटपिट गर्न थाले,’ एक प्रहरीले भने।

त्यसपछि विभिन्न ठाउँबाट प्रहरी बोलाइएको उनले बताए।

संख्या कम भएकै कारण लाठी भाटासहित कार्यालय प्रमुख कुशवाहालाई जनमत पार्टीका नेता/कार्यकर्ताले बन्धक बनाएर नगरभरि घुमाइरहँदा प्रहरी मुकदर्शक बनेको ती प्रहरीले बताए।

‘तर पछि ठूलो संख्यामा प्रहरी परिचालन गरिए पनि कार्यालय प्रमुख कुशवाहाको कपडा च्यातचुत पार्दै राउतका कार्याकर्ताले दुर्व्यवहार गरिरहेको बताइएको छ।

एक घण्टा नगर परिक्रमा गराइसकेपछि कुशवाहालाई प्रदर्शनकारीले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अगाडि पुर्‍याएका थिए। त्यहाँबाट मात्र प्रहरीले उनको उद्धार गर्न सकेको थियो।

जनमत पार्टीका नेता कार्यकर्ताले कुशवाहालाई घुमाइरहेका बेला संचारकर्मीसमक्ष केही बोल्न दवाब दिएका थिए। तर ‘मलाई गोली ठाके पनि केही बोल्दिनँ,’ कुशवाहाले रूँदै यति मात्रै बोले।

धनुषाका डिएसपी जितेन्द्र बस्नेतका अनुसार कुशवाहालाई अहिले सुरक्षित स्थानमा राखिएको छ। बन्धक बनाउने १० जनालाई नियन्त्रणमा लिइएको उनले बताए। प्रदर्शनकारीले अहिले जिल्ला प्रहरी कार्यालय घेराउ गरी प्रहरीविरूद्ध नाराबाजी गर्दैछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP