
तेजाब आक्रमणमा परेर त्यसविरुद्ध कडा कानुन र सजायको व्यवस्थाका लागि निर्वाह गरेको भूमिकालाई कदर गर्दै मुस्कान खातुनलाई दिइएको प्रतिष्ठीत आईडब्लुओसी (इन्टरनेसनल वुमन अफ करेज ) अवार्डमा समावेश ट्रफी हस्तान्तरण गरिएको छ । प्रथम महिला एवं संविधानसभा सदस्य आरजू राणा र विभिन्न क्षेत्रमा स्थापित महिला नेतृहरूको उपस्थितिमा अमेरिकी राजदूत र्यान्डी डब्लु बेरीले उक्त ट्रफी हस्तान्तरण गरेका हुन् ।
मुस्कानलाई धम्की र सामाजिक दबाबको सामना गर्दै तेजाब हमला अन्त्यतर्फ लक्षित उनको कार्यलाई कदर गर्दै पुरस्कृत गरिएको हो ।मुस्कानलाई अन्तर्राष्ट्रिय नारी दिवसका दिन मार्च ८ मा अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले मुस्कानलाई उक्त अवार्ड दिएका थिए ।
मुस्कानले पूवर्वर्ती प्रधानमन्त्रीसँगको भेटमा तेजाब आक्रमण विरुद्ध कडा सजायसहित र यसको बिक्री–वितिरणमा रोक लगाउने कानुन ल्याउन माग गरेकी थिइन्, त्यसलगत्तै ओली नेतृत्वको सरकारले तेजाब तथा अन्य घातक रसायनिक पदार्थ (नियमन) अध्यादेश जारी गरेको बताएको थियो । तर बिडम्बना उक्त अध्यादेश ओलीको दल एमालेले निरन्तर संसद अवरोध गरेका कारण निष्क्रिय हुन पुगेको छ ।