मंगलबार , बैसाख २९, २०८३

दसैंको रौनक छाउनुपर्ने बेला महोत्तरीको सोनमा गाउँपालिका–७, मैनटोललाई भने सन्नाटाले घेरेको छ।

स्थानीय युवा र वयस्कहरू गाउँ छाडेर भागेकाले वृद्धवृद्धा, बच्चा र महिला मात्र भेटिन्छन् जसको अनुहार मलिन र चिन्तित देखिन्छ। मुसहर टोलका आधाभन्दा बढी गाउँ छाडेर भागेको प्रहरीले जनाएको छ।

उनीहरूको त्रासको कारण गत असोज १ गते विश्वकर्मा पूजाको दिन गाउँमा भएको झडप हो।

त्यस रात विश्वकर्मा पूजाको अवसरमा आयोजित नाचमा झडप हुँदा वडा नम्बर २ तरहारीका ५० वर्षीय रामप्रताप यादवको मृत्यु भएको थियो। त्यसपछि प्रहरीले पक्राउ गर्न सक्ने र मृतकका परिवारले आक्रमण गर्नसक्ने डरले मैनटोलमा भागाभाग मच्चिएको छ।प्रहरीले घटनामा संलग्न रहेको आरोपमा स्थानीय मलेसी सदा र नथु सदालाई पक्राउ गरेको छ। मृतकका परिवारले उनीहरूविरूद्ध किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विश्वकर्मा पूजाको अवसरमा आयोजित मेलामा राति करिब १२ बजेतिर तरहारीका सरोज यादवले मञ्चमा नाचिरहेकी युवतीलाई दुर्व्यवहार गर्न खोजेपछि विवाद भएको थियो। त्यही निहुँमा भोलिपल्ट सरोज आफ्ना बुवा रामप्रताप, दाइ, साथीभाइ र छरछिमेकसहित मुसहर बस्ती आइपुगे।

‘उनीहरू लाठी, भराठासहित आएका थिए। हामीबाट गल्ती भएको छ भने पञ्चायत ढाकेर दण्ड-जरिवाना गर्नुस्, क्षतिपूर्ति तिराउनुस् तर मारपिट नगर्नुस् भनेर हारगुहार गरिरह्यौं। तर उनीहरूले हाम्रो कुरा नसुनेर मुसहर देख्नासाथ आक्रमण सुरू गरे,’ मैनटोलका स्थानीय लतिमले भने, ‘गालीगलौज गर्दै जसलाई देख्यो त्यसलाई कुटपिट गर्न थाले।’

सामूहिक रूपमा भएको हमलापछि मुसहर पनि प्रतिकारमा ओर्लिएको उनले बताए। ‘दुवैतर्फबाट ढुंगामुढा भयो। स्थानीय मलेसी र नथु सदामाथि कसैले चक्कु प्रहार गरे। दुवैको शरीर रक्ताम्य भयो,’ उनले भने।

दुईतर्फी झडपकै क्रममा सरोजका बुवा रामप्रतापलाई चोट लागेको र उनी बेहोस भएर ढलेको प्रहरीको भनाइ छ। उनको उपचार क्रममा मृत्यु भएको थियो। ‘पोस्टमार्टम रिपोर्टमा रामप्रतापको छातीमा एक सेन्टिमिटरको सानो घाउ र टाउकाेमा पनि चोट देखिएको छ,’ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP