मंगलबार , बैसाख २९, २०८३

कोरोना भाइरसको महामारी सुरु भएपछि खुम्चिएको नेपाल–चीन व्यापार अझै सहज हुन सकेको छैन । अहिले रसुवागढी नाकाबाट कोटा प्रणालीअनुसार दैनिक नौ चिनियाँ कन्टेनरमा सामग्री नेपाल आयात भइरहेको छ । तर, यो परिमाण निकै कम भएको तथा सरकारले पनि पहल नगरेको व्यापारीहरूको गुनासो छ । व्यवसायी पुरुषोत्तम पौडेलका अनुसार चीनबाट नेपालतर्फ सहज रूपमा आयात नहुँदा अर्बाैँको सामान चीनमै रोकिएका छन् । दुई वर्षदेखि सहज रूपमा नाका सञ्चालनमा नआउँदा नेपाली व्यवसायीका अर्बौँका सामान चीनमै रोकिएको उनले बताए । दैनिक आयात कोटा नबढेपछि दसँैका लागि मगाइएको सामान दसँैअगाडि भित्रिने सम्भावना नभएको उनको भनाइ छ ।

चीनबाट नेपाल आयात गर्ने १० भन्दा बढी ट्रान्सपोर्ट छन्, जसमध्ये मुसा ट्रान्सपोर्टको मात्रै ६ हजारभन्दा बढी सिबियक सामान चीनको केरुङमा रोकिएको पौडेलले बताए । चीनको केरुङबाट रसुवागढी नाकासम्म सामान ल्याउन ४६ वटा चिनियाँ कन्टेनर रहेका छन्, जसमध्ये दैनिक नौवटा चिनियाँ कन्टेनरले सामान ल्याइरहेका छन् । सिजनअनुसारको सामान ल्याइए पनि तोकिएको समयमा सामान नेपाल आइनपुगेको व्यवसायीहरूले बताएका छन् । पौडेलले भने, ‘दसैँको सामान तिहारपछि, जाडोको सामान गर्मीमा आउँछ, सहज रूपमा भनेको समयमा सिजनअनुसारको सामान ल्याउन समस्या भएको छ ।’

कोरोना संक्रमण सुरुअघि सयभन्दा बढी नेपाली कन्टेनरमा सामान नेपाल आयात हुने गरेको थियो । व्यवसायीहरूका अनुसार चीनको गोन्जाओबाट ल्याइएको सामान २० देखि २३ दिनभित्रमा नेपाल आइपुग्ने गरेको थियो, तर अहिले तीन महिनाभन्दा बढी समय लाग्छ । रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख रामप्रसाद रेग्मीका अनुसार नाकाबाट सहज रूपमा सामानको आयात बढाउन पहल भइरहेको छ । नाकाबाट सहज रूपमा सामानको आयात बढाउन चीनले राखेको कोटा प्रणाली हटाउने, हुक एन्ड ड्रप प्रणाली लागू गर्नेलगायतका विषयमा पहल गरिरहेको जनाइएको छ ।

बिहीबार महावाणिज्यदूत नवराज ढकालले फलोअपका रूपमा तिब्बत परराष्ट्र कार्यालयका निर्देशक छुकी ढोमा तथा तिब्बत वाणिज्य विभागका निर्देशक देबेईसँग रसुवागढी र तातोपानी नाकाबाट सहज रूपमा सामानको आयात बढाउन छलफल गरेका छन् । रसुवागढी नाकाबाट दैनिक ट्रकको संख्या १२ देखि १४ सम्म पु¥याउन चीन तयार भएको जनाएका छन् । यसका लागि नेपालले हालको समयभन्दा एकदेखि दुई घन्टाअगावै काम सुरु गर्नुपर्ने भएको छ भने आवश्यक कामदारको व्यवस्था गरी कार्यदक्षता वृद्धि गर्नुपर्ने बताइएको छ ।

त्यसैगरी, नेपाल आउने ट्रकहरूको संख्या बढाउन रसुवागढी नाकामा हाल सप्ताहन्तमा पनि काम भइरहेको चिनियाँ पक्षले जनाएका छन् । पछिल्ल्लो समय रसुवागढी नाकामा भएका गलत अभ्यासहरूलाई निरुत्साहन गर्न वाणिज्य विभागको पहलकदमीमा नम्बरिङ सिस्टमलगायत विभिन्न सुधार थालिएको जनाइएको छ । त्यसैगरी, तातोपानी नाकाबाट दैनिक ट्रकको संख्या बिस्तारै वृद्धि भइरहेको र यो संख्या दैनिक २० पुर्‍याइने चिनियाँ पक्षले बताएका छन् । यसका लागि नेपालतर्फ कामदारहरूको संख्या बढाउन, काम छिटो–छरितो रूपमा गर्न तथा सडक बिग्रनेलगायतको समस्याको तत्काल समाधान गर्न नेपालले आवश्यक तयारी गर्नुपर्ने चिनियाँ पक्षले जनाएको छ ।

कोरोना संक्रमण सुरु भएयता चीनले कोटा प्रणालीमा सामान ल्याइरहेको छ । ०७६ माघ १५ देखि गएको ०७७ जेठ २२ गतेसम्म नाका बन्द भयो । त्यसपश्चात् चीनले रसुवागढी नाका एकतर्फी सञ्चालन गरेको हो । चीनले आफ्नै गाडीमा नेपालतर्फको भूभागमा सामान ल्याइदिने गरेको छ । अहिले रसुवागढी नाकाबाट चिनियाँ नौवटा कन्टेनरमा सामान आयात भइरहेको छ । चिनियाँ एउटा गाडीमा आएको सामग्री नेपाली दुईवटा कन्टेनरमा नेपाली कामदारले लोड गर्ने गरेका छन् । चिनियाँ गाडीमा आएको सामग्री नेपाली गाडीमा लोड–अनलोड गर्न स्वास्थ्यको मापदण्ड अपनाउँदै नेपाली कामदार नाकामा खटिएका छन् ।

रसुवागढी नाका हुँदै अहिले नेपालतर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिकलगायत सामग्री भित्रिने गरेको छ । नेपालबाट केरुङतर्फ हस्तकलाका सामग्री जाने गरेकोमा कोरोना संक्रमण सुरु भएपछि चीनले निर्यात रोकेको छ । ०७१ मंसिर १५ देखि रसुवागढी नाका विधिवत् रूपमा सञ्चालनमा आएको हो । भूकम्पपछि रसुवागढी र तातोपानी नाका बन्द भएको थियो । रसुवागढी नाका ०७२ मंसिरदेखि पुनः सञ्चालनमा आयो । त्यसयता चीनतर्फको नेपालको व्यापार यसै नाकामा केन्द्रित रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP